शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा संविधान दिवस अन्योलमा : पार्टीको निर्णय मुख्यमन्त्रीले नमान्ने

आइतबार, ३१ भदौ २०७५, २१ : ५३
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– प्रदेश २ मा सरकारको नेतृत्व गरेका संघीय समाजवादी फोरम नेपालको प्रदेश समितिले आज एक विज्ञप्ति जारी गरी संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागी नहुन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

तर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश समितिले दिएको निर्देशन आफूहरुले स्वीकार गर्न बाध्य नहुने बताएका छन् । 

उनले भने, ‘हामी केन्द्रको निर्देशनमा चल्ने भएकाले केन्द्रको जे निर्देशन आउँछ त्यसलाई मात्र मान्ने छौं ।’ यद्यपी फोरम नेपालको केन्द्रीय समितिले हालसम्म सविधान दिवसको विषयमा कुनै निर्णय सार्वजनिक गरेको छैन । एक नेताका अनुसार केन्द्रले सोमबार एक विज्ञप्तिमार्फत संविधान दिवस बनाउन आह्वान गर्ने तयारी गरेको छ । 

प्रदेश समितिका अध्यक्ष एवं पार्टीका उपाध्यक्ष रेणु यादवले असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउन फोरम नेपाल मधेश प्रदेश समितिको कार्य सम्पादन समितिले निर्णय गरेको बताउँदै फोरम नेपालबाट प्रतिनिधित्व गर्ने प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गरिएको बताइन् । 

२०७२ साल असोज ३ गते तत्कालीन सरकारले जबरजस्ती  संविधान जारी गरेको आरोप लगाउँदै उनले अधिकार प्राप्तिको लागि भएको आन्दोलनमा अबोध बालकदेखि बृद्धसम्मको ज्यान गएकोले सो दिनलाई कालो दिवसको रुपमा मनाइनु पर्ने बताइन् । 

उनले सविधान दिवसका दिन दिनभरी हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने तथा साँझ सात बजेदेखि १५ मिनेट ब्ल्याक आउट गर्ने निर्णय भएको जानकारी दिइन् । 

त्यस्तै, राजपा नेपालले पनि देशैभरि कालो दिवस मनाउने निर्णय गरेको छ । त्यो दिन प्रदेश २ का मन्त्रीहरुलाई राजपाले कालो दिवस मनाउन विभिन्न जिल्लामै खटाएको छ ।

जसअनुसार सप्तरीमा मन्त्री जितेन्द्र सोनल, सिरहामा मन्त्री रामनरेश राय यादव, धनुषामा मन्त्री नवलकिशोर साह, महोत्तरीमा राज्यमन्त्री डिम्पल झा, सर्लाहीमा राज्यमन्त्री अभिराम शर्मा र रौतहटमा राज्यमन्त्री सुरेश मण्डललाई खटाइएको छ।
  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप