शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओले पहाड खोलेर बनाएका घरहरु हेर्दै भावुक भए प्रचण्ड (फोटोफिचर)

आइतबार, ३१ भदौ २०७५, १९ : ४०
आइतबार, ३१ भदौ २०७५

भदौ– चारदिने चीन भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरेका हुन् ।

उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ । अध्यक्ष प्रचण्डले त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गरे । सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको अवलोकन गरे । 

सो स्थानमा माओले प्रयोग गरेका कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको अध्यक्ष प्रचण्डले अवलोकन गरेका छन् । उनले त्यसपछि येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावरको अवलोकन समेत गरे । उक्त स्थानबाट येनानको सानो भ्याली देखिन्छ । त्यसको ठीक माथिल्लो डाँडामा प्यागोडा शैलीको मन्दिर छ । उक्त स्थानबाट चिनियाँ लालसेनाले  निगरानी गर्ने गर्दथ्यो ।

सोही स्थानमा जनयुद्धको समयमा माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिएर जापानी आक्रमणकारीको बिरुद्धमा तयार पारेको थियो ।

त्यसैगरी उक्त स्थानमा चाउयनलाई प्रधानमन्त्री भइसकेपछि गाडीमा त्यहाँ पुग्दा सो गाडी फसेपछि जनताले निकालिदिएका थिए । तत्कालै प्रधानमन्त्रीको आदेशमा सरकारले उक्त स्थानमा पुल निर्माण गरेको थियो । त्यस पुललाई आजभोलि मानिसहरु प्रधानमन्त्री पुलको नामले सम्बोधन गर्दछन् ।

स्थानीय उपमेयर, पार्टीका नेताहरु र जनमुक्ति सेना पोशाकनै लगाएर अध्यक्ष प्रचण्डको भव्य स्थागत गर्दै अवलोकनमा सहभागी बनेका थिए ।

अवलोकनको क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलहरुको संरक्षण गरेर विश्वभरकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामाग्री प्रदान गर्ने काम गरेको बताए ।

केही भावुक हुँदै उनले अवलोकन गरिएका स्थलहरुका बारेमा पुस्तकमा पढेको, तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुसी लागेको बताए । 

आइतबार बिहान अध्यक्ष प्रचण्ड ग्वान्जाओबाट सान्सी प्रान्तका लागि प्रस्थान गरेका थिए । उक्त सहर विश्वकै ठूलो मोटरसाइकल फ्याक्ट्रीका लागि प्रसिद्ध छ । सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए । उनले मोटरसाइकल, मोटर र सूचना प्रविधि सम्बन्धी उद्योगहरुको अवलोकन गरेका थिए ।

सोही क्रममा प्रचण्डले भने, ‘नेपालमा बलियो कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ । यो बेला नेपालको विकास गर्ने बेला हो । चीन र नेपालका बीचमा चारवटा बन्दरगाह प्रयोग गर्न पाउने ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौता भएको छ । यो नेपाल र चीनका लागि धेरै महत्वपूर्ण छ ।’

उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको जनयुद्धकै जगमा गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप