बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोदीलाई जिताउन सघाएका रणनीतिकार प्रशान्त किशोर नीतिशकुमारको पार्टीमा प्रवेश

आइतबार, ३१ भदौ २०७५, १८ : ३८
आइतबार, ३१ भदौ २०७५

एजेन्सी– भारतमा कुशल चुनावी रणनीतिकारका रुपमा चिनिने प्रशान्त किशोर आइतबार नीतिशकुमारको पार्टी जनता दल(युनाइटेड)मा प्रवेश गरेका छन् ।  विहारको मुख्यमन्त्री समेत रहेका नीतिशकुमारले प्रशान्तलाई पार्टी प्रवेश गराएका थिए । सो अवसरमा उनले किशोरलाई ‘देशको भविष्य’ बताए ।

पार्टी प्रवेश कार्यक्रममा जनता दल(युनाइटेड)का सबै शीर्ष नेताहरुको उपस्थिति थियो । आजै विहान किशोरले आफू विहारबाट नयाँ यात्रा शुरु गर्न लागेकोमा उत्साही भएको भनेर ट्वीट गरेका थिए ।  अघिल्लो हप्ता हैदारावादमा एक विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्ने क्रममा किशोरले आफ्नो भावी राजनीतिक यात्राको संकेत गरेका थिए । सम्बोधनमा उनले आफू अरु व्यक्ति र पार्टीहरुको लागि अभियान चलाउने भन्दा आफैं चुनावी राजनीतिको लागि तयार भएको बताएका थिए ।

उक्त सम्बोधनमा उनले आफू गुजरात वा विहारको तल्लो तहबाटै राजनीतिमा लाग्ने बताएका थिए ।   अहिले आएर आगामी लोकसभा निर्वाचनमा किशोर उनको गृहक्षेत्र बुछारबाट निर्वाचन लड्न सक्ने चर्चा चलेको छ । 

सन् २०१५ मा प्रान्तीय निर्वाचनमा किशोरले जनता दल (युनाइटेड)लाई लालुप्रसाद यादवको नेतृत्वको आरजेडी र कङ्ग्रेससँग मिलाएर महागठबन्धन बनाउन सहयोग गरेका थिए । उक्त गठबन्धनले त्यतिबेला एकपछि अर्को राज्यमा जित्दै गएको भाजपालाई विहारमा पराजित गरेको थियो । 

यद्यपि, आलोचकहरु किशोरका कारणभन्दा पनि आरजेडीको पक्षमा रहेको जनभावनाले महागठबन्धन निर्माणमा निर्णयक भूमिका खेलेको बताउँछन् ।  किशोर सन् २०१४ को लोकसभा निर्वाचनको समयमा तत्कालिन नरेन्द्र मोदीको चुनावी अभियानको संयोजकत्व गरेर भारतको राष्ट्रिय मिडियामा चर्चामा आएका थिए । 

निर्वाचनपछि उनी भाजपाबाट अलग्गिए । त्यसपछि उनको सस्था इण्डियन पोलिटकल याक्सन कमिटीले विभिन्न राज्यहरुमा अन्य पार्टीहरुलाई जिताउन चुनाव काम ग¥यो ।  पछिल्लो समय आन्द्र प्रदेशको प्रादेशिक पार्टी वाईएसआर कङ्ग्रेसको लागि काम गरिरहेका किशोरले पञ्जाव र उत्तर प्रदेशको निर्वाचनमा कङ्ग्रेस पार्टीको लागि काम गरे ।

राजनीतिमा आउनुअघि किशोरले आठ वर्षसम्म संयुक्त राष्ट्र संघमा काम गरेका थिए ।  उनी अध्ययनले जनस्वास्थ विद् हुन् । उनी विहारको बुछार जिल्लामा जन्मिएका हुन् र उनको पिता एक डक्टर हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप