बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारे घुसकाण्ड : कोटेश्वर र काँडाघारीका इन्स्पेक्टर तानिए, कोटेश्वरमा एलिजा

आइतबार, ३१ भदौ २०७५, १३ : १८
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– जुनियर अफिसरसहित मातहतका ९ जना प्रहरी कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका इन्सपेक्टरलाई सो स्थानको जिम्मेवारीबाट हटाएको छ । 

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले दुई इन्स्पेक्टरलाई हालको जिम्मेजारीबाट हटाएर रिजर्भ युनिटमा पठाइएको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामालाई सामाखुसीस्थित पहरा गणमा पठाएको छ भने  काँडाघारीका इन्स्पेक्टर हरि ओझालाई २ नम्बर गणमा पठाइएको छ । 

लामाको ठाउँमा  इन्सपेक्टर एलिजा गिरीलाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ  भने काँडाघारीमा इन्सपेक्टर सुधिर राईलाई पठाइएको छ । 

शनिबार अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

श्रेष्ठले ठेकेदारसँग रु ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले रु ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले रु पाँच–पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ । 

त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो । 

प्रहरी जवान रिजाल र रोकाले रु पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग रु पाँच÷पाँच हजार घुस मागेका थिए । 

बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारको फन्दामा परेका उनीहरुको साथबाट रु एक लाख बरामद भएको थियो ।

यसैबीच प्रहरी प्रधान कार्यालयले काँडाघारी र कोटेश्वरमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई तानेर नयाँ टिम पठाउन लागिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी मनोज नेउपानेले रातोपाटीलाई जानकारी दिए ।

डिआईजी नेउपानेले भने, ‘काँडाघारी र कोटेश्वरमा नयाँ सेट पठाउँदै छौं, त्यहाँ कार्यरत सबैलाई अन्यत्र खटाएर आन्तरिक अनुसन्धान गर्छौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप