बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ आश्वासनबाट मडुरो उत्साहित

आइतबार, ३१ भदौ २०७५, १२ : ५५
आइतबार, ३१ भदौ २०७५

काराकास– भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । मुलुकको अर्थतन्त्र मुख्यरुपमा तेलमा आश्रित रहेको भेनेजुएलामा विगत तीन दशकमा तेल उत्पादनमा लगानी वृद्धि हुन सकेको छैन । 

विश्लेषकहरुले सरकारले तेल उत्खनन र प्रशोधनका क्षेत्रमा पर्याप्त ध्यान नदिँदा राज्य सञ्चालित पीडीभीएसएको पूर्वाधार कमजोर अवस्थामा पुगेको छ र तेलको खोजमा लगानी हुन सकेको छैन । तेलबाट आर्जित राजश्व वित्तीय घाटाको व्यवस्थापनमा मात्र प्रयोग गर्नुपर्ने अवस्था छ । 

चीनको भ्रमणमा रहनुभएका राष्ट्रपति मडुरोले राज्य सञ्चालित टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने,‘तेलको उत्पादन, सुनको उत्पादनका साथै ५०० भन्दा बढी विकास परियोजनामा वित्तीय लगानी गर्ने चीनको प्रतिबद्धता आएको छ ।’ 

राष्ट्रपति मडुरो शुक्रबारदेखि बेइजिङको भ्रमणमा रहेका छन् ।  मडुरोलाई चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा स्वागत गरेका थिए  । उनले चिनियाँ विकास बैंक र चिनियाँ राष्ट्रिय पेट्रोलियम निगमका पदाधिकारीसँग भेटघाट गरेका छन् ।

बेइजिङबाट यसअघि नै ५० अर्ब अमेरिकी डलर ऋण लिएको भेनेजुएलाले अझै २० अर्ब डलर भुक्तानी गर्न बाँकी छ । भेनेजुएलाले चीनलाई तेल बिक्री गरी ऋणको भुक्तानी पनि गरिरहेको छ । चीनले भेनेजुएलालाई उपलब्ध गराएको ऋणको भुक्तानीमा सन् २०१६ देखि केही लचक नीति लिएको छ । 

मडुरोले थप ऋण वा भुक्तानीका बारेमा वा अरु ५ अर्ब डलर ऋणका बारेमा छलफल भए नभएको केही खुलाएनन् । 

भेनेजुएलाको इकोएनालिटीकाले राष्ट्रपति मडुरो थप ५ अर्ब डलर ऋण लिएर चीनबाट फर्किने सम्भावना रहेको जनाएको छ । साथै भुक्तानी गर्नुपर्ने ऋणको समयसीमा समेत वृद्धि हुनेछ । 

भेनेजुएला र यसको राज्य सञ्चालित कम्पनी पीडीभीएसएलाई सन् २०१७ मा ऋण नतिरेको आरोपमा आंशिक रुपमा कालोसूचीमा राखिएको थियो । 

शुक्रबार राष्ट्रपतिले ऊर्जा र खनिज उत्खनन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । श्री मडुरोले यी परियोजनाका लागि चीनबाट अर्बौं डलर लगानी हुने अपेक्षा गरिएको बताए । 

भेनेजुएलाको कच्चा तेल उत्पादन अगष्ट महिनामा प्रतिदिन १४ लाख ब्यारेल थियो । सन् २००२ र २००३ यता यो नै सबैभन्दा न्यून उत्पादन हो । भेनेजुएलाको कूल राष्ट्रिय आम्दानीको ९६ प्रतिशत तेलले ओगटेको छ । 

मडुरोको सरकारले अर्थतन्त्र धरासायी हुनबाट रोक्नका लागि मुद्राको अवमूल्यन गरेको थियो । भेनेजुएलाका १६ लाखभन्दा बढी मानिस खाद्यान्न र औषधिको अभाव भएपछि आफ्नो देश छाडेर दक्षिण अमेरिकाकै अन्य मुलुकमा पलायन भएका छन् । 

शनिबार काराकासमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकन स्टेट अर्गनाइजेसनका प्रमुख लुइस अल्माग्रोले दिएको चेतावनीका विरुद्धमा राष्ट्रसंघ समक्ष आवाज उठाउने बताएका छन् । भेनेजुएलाका नागरिकले मडुरो सरकारका कारण दुःख पाएको भन्दै अल्माग्रोले भेनेजुएलामा सैनिक हस्तक्षेप आवश्यक रहेको बताएका थिए । 

राष्ट्रपति मडुरोले संयुक्तराज्य अमेरिकाका कारण आफ्नो मुलुकले विभिन्न समस्या झेल्नुपरेको आरोप लगाउँदै आएका छन् ।  –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप