शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता पनि जनप्रतिनिधिः घरबाटै चल्छ स्थानीय सरकार

आइतबार, ३१ भदौ २०७५, १२ : ३१
आइतबार, ३१ भदौ २०७५

जाजरकोट– यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । 

आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो ।

उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ । 

त्यस्तै, कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ । कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिलेकाहीँ काम हुने गरेको छ ।

सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशे गाउँपालिकाले डबल भाडा तिर्दै आएका छन् । सदरमुकाम खलङ्गामा भेरी नगरपालिकाको आफ्नै भवन बन्दै छ । भवन नबन्दासम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ । 

गाउँमै कार्यालय सञ्चालन गरी भाडाको भवनमा बस्दै आएको नलगाडले पनि वडादेखि नगरपालिका कार्यालयसम्मको भाडा तिर्दै आएको छ । नलगाड नपा–८ स्थित मन्मैमा साबिकको खगेनकोट गाविसको भवन छँदाछँदै वडाध्यक्ष गोविन्द शाहीको मनोमानीका कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरबहादुर विकले बताए । 

शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक रु ५५ हजार भुक्तानी गर्दै आएको छ । 

छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी दोहोरो भाडा तिरेर दैनिक काम गर्दै आएको छ । सदरमुकाममै घर भएका जनप्रतिनिधिले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् । यहाँका सात स्थानीय तहले गत आवमा रु ५० लाख घर भाडामा खर्चेको तथ्याङ्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप