मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाले पुनरागमन गर्दा रियल भने रोकियो

आइतबार, ३१ भदौ २०७५, ०९ : १९
आइतबार, ३१ भदौ २०७५

एजेन्सी । दोस्रो हाफमा तीन मिनेटको अन्तरालमा दुई गोल गर्दै बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल सोसिडाडबिरुद्ध २–१ को जीत निकाल्दै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ ।

खेलमा डिफेन्डिङ च्याम्पियन पहिलो हाफको १२ औँ मिनेटमा नै पछि परेको थियो । फ्रिकिकलाई राम्रोसँग क्लियर गर्न नसक्दा आरिट्ज एलुस्टोन्डोले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए ।

त्यसपछि पनि सोसिडाडले तीनवटा अवसरलाई गोलमा परिणत गर्नबाट चुकेको थियो ।

बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले दुईवाट उत्कृष्ट बचाउ गरे ।

त्यसपछि लुइस सुवारेज र ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

चार खेलमा चार जीत निकाल्दै अर्नेस्टो भलभार्डेको टोली ला लिगाको शीर्ष स्थानमा रहेको छ ।

उता, रियल म्याड्रिडले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै एथ्लेटिक बिल्बाओबिरुद्ध खेल बराबरी गरेको छ ।

सब्सिटिच्युड इस्कोले गोल गर्दै म्याड्रिडलाई सिजनको पहिलो हारबाट जोगाए ।

यसअघि इकर मुनियानले एथ्लेटिकलाई खेलको ३२ औँ मिनेटमा अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा मैदान छिरेको तीन मिनेटमा इस्कोले रियललाई खेलमा फर्काएका थिए ।

एथ्लेटिकका उनाई सिमोनले रियलका थुप्रै प्रयासलाई विफल पारेका थिए ।

उता, एथ्लेटिको म्याड्रिड पनि एक गोलले पछि परेको स्थितिबाट खेलमा फर्कदै बराबरी गरेको छ ।

एबारका लागि खेलको ८७ औँ मिनेटमा सर्जी एनरिचले गोल गरेका थिए । 

तर, इन्जुरी समयमा बोर्जा गार्सेसले गोल गर्दै म्याड्रिड टोलीलाई हारबाट जोगाए ।

एथ्लेटिकोले यो सिजनको शुरुवाती चारमध्ये एक मात्र खेल जितेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप