शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हलेसी तुवाचुङ नगरपालिका समृद्ध बनाउन गाउँ फर्कनूस्’

बिहीबार, ०५ साउन २०७४, १२ : २४
बिहीबार, ०५ साउन २०७४


काठमाडौं –हलेसी तुवाचुङ नगरपालिका मेयर इबन राईले सिंहदरबारको अधिकार गाउँमा विकेन्द्रित भए पनि सर्वसाधारणले अनुभूत गर्नेगरी कार्यान्वयन गर्ने बताएका छन् । 


होलेसुङ समूहले बुधवार ललितपुरमा गरेको बधाइ तथा शुभकामना कार्यक्रम सम्बोधन गर्दै मेयर राईले तपाईं÷हामी एकैठाउँमा उभिन सके नगरपालिका समृद्ध बनाउने दिन टाढा नरहेको जिकिर गरे । 


उनले भाषा, धर्म, संस्कृति, विकास, पर्यटन, शिक्षा र स्वास्थ्यका हिसाबले समृद्ध नगरपालिका बनाउन सम्बन्धित क्षेत्र÷विषय विशेषज्ञ÷जानकार र मन्त्रालयसँग बाक्लो छलफलमा जुटिरहेको सुनाए ।


‘आजको पुस्तालाई समाज निर्माणका लागि इतिहासले अभिभारा सुम्पेको छ,’ उनले सुझाए, ‘विविध कारणले काठमाडौं उपत्यकामा रहनुभएका तपाईंले यहाँ बसेर हामीलाई सल्लाह÷ सुझाव दिएरमात्रै नगरपालिका बन्दैन । तपाईंहरू गाउँ फर्कनुुस् । गाउँ फर्केका तपाईंलाई गाउँमै काम गर्ने वातावरण हामीले बनाइदिन्छौं ।’ 


चाम्लिङ भाषालाई हलेसी तुवाचुङ नगरपालिकाको कामकाजी भाषा बनाउन प्रक्रिया थाल्ने बताउँदै उनले हलेसी तुवाचुङ नगरपलिका–५ रावाचुङमा रहेको होलेसुङ पार्कलाई ऐतिहासिक बनाउने प्रतिबद्धता जनाए । 


हलेसी तुवाचुङ नगरपालिका उपमेयर बिमला राईले नगरपालिकालाई समृद्ध बनाउने योजना, सल्लाह, सुझावसहित निश्चित अवधिका लागि काठमाडौंमा रहेकालाई गाउँ फर्कन आग्रह गरिन् । उपमेयर राईले भनिन्, ‘भौतिक रूपमा सम्भव नभए सामाजिक सञ्जाल, टेलिफोन र लिखित रूपमै पनि समृद्ध नगरपालिका बनाउन स्वस्थ सल्लाह, सुझाव अपरिहार्य छ ।’


‘विकास भन्नेबित्तिकै सडक, बिजुलीबत्ती, ठुल्ठूला भवन बन्नुलाई लिने गरिन्छ,’ उपमेयर राईको तर्क छ, ‘तर, गाउँगाउँमा सडक पुग्दै गर्दा हामीले उत्पादन वृद्धिमा जोड दिनुपर्छ । सडकलाई जीविकोपार्जनसँग जोड्न सक्नुपर्छ । सडक जोडिएपछि स्थानीयको जीवनशैली परिवर्तन हुनुपर्छ । अनि मात्रै विकासको शाब्दिक अर्थ रहन्छ ।’


उनले देश, काल, परिस्थितिसँगै बौद्धिक पलायनले समाज परिवर्तन गर्न गाह्रो हुने बताइन् । बौद्धिक पलायन रोक्न सके नगरपालिकालाई जुरुक्क उठाउन सकिने उनको बुझाइ छ । चाम्लिङ भाषालाई नगरपालिकाको कामकाजको भाषा बनाउने बताउँदै उनले होलेसुङ पार्कलाई उदाहरणीय बनाउने प्रतिबद्धता जनाइन् । 


हलेसी तुवाचुङ नगरपालिका कार्यकारी अधिकृत अनिल किरातीले जनसहभागिताको सिद्धान्तमा नगरपालिकालाई समृद्ध बनाउन प्रयास गर्ने बताए । कार्यकारी अधिकृत राईले समृद्ध नगरपालिका बनाउन होलेसुङ समूहको प्रस्ट विचारसहित योजना, सल्लाह, सुझाव नगरपालिकासमक्ष पठाउन आग्रह गरे । 


हलेसी तुवाचुङ नगरपालिका–५ वडाध्यक्ष रमेश तिवारीले वडावासीको आधारभूत आवश्यकतालाई गुणस्तरीय बनाउने दाबी गरे । वडाध्यक्ष तिवारीले भाषा, संस्कृति र सम्पदा संरक्षण गर्दै सडक सञ्जाल विस्तार र स्तरोन्नति गर्न कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाएका थिए । उनले वडावासीको शिक्षा, स्वास्थ्य सेवा र सुशासन आफ्नो पहिलो प्राथमिकता भएको औंल्याए ।


उनले होलेसुङ पार्कलाई नेपालकै नमुना पार्क बनाउने, हलेसीका प्रथम कविला होलेसुङको खिम्ले दरबार जगेर्ना गर्ने र चाम्लिङ भाषालाई नगरपालिकाको कामकाजको भाषा बनाउने बताए ।


होलेसुङ समूहका तर्फबाट समाजसेवी जनकराज राईले सम्बोधन गरेका थिए । समूहसम्बद्ध मन्धुम अध्येता भोगीराज चाम्लिङ, ‘सेक्सन अफिसर’ भूपेन्द्रकुमार राई, कवि÷गजलकार विक्रम चेतनशील राई, सितिमी सम्पादक तिलक चाम्लिङले हलेसी तुवाचुङ नगरपालिका  नवनिर्वाचित मेयर, उपमेयर र ५ नम्बर वडाध्यक्षलाई बधाइ, शुभकामनासहित समृद्ध नगरपालिका बनाउन सुझाएका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप