शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुस्तक समीक्षा : सरल र सरस कविता सङ्ग्रह

शनिबार, ३० भदौ २०७५, १२ : ५२
शनिबार, ३० भदौ २०७५

मोहन दाहाल

कवि सन्तोष पोखरेलले ‘ई. सन्तोष पोखरेलका कविताहरु’ कविता सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । पेशाले इन्जिनियर पोखरेलका ताराका पुच्छर (२०७०) पहिलो, सोक्रेमेन्टो (२०१४ सन्) दोस्रो र ‘ई. सन्तोष पोखरेलका कविताहरु’ तेस्रो कविता संग्रह हो । यस ‘ई. सन्तोष पोखरेलका कविताहरु’ सङ्ग्रहमा गीत र कविता गरी ४६ वटा सिर्जना सङ्कलित छन् । 

कवि पोखरेलको बाल्यकाल सिरहामै बितेको थियो । सामान्य कृषक परिवारका पोखरेलका पिता अम्बिकाप्रसाद कम्युनिस्टका नेता हुनुहुन्थ्यो । त्यस समयमा पर्टीहरु प्रतिबन्धित थिए । २०१७ सालपछि राजनीतिक कारण उनका पिता भारत प्रवासिएका थिए । मोहन व्यावसायिक माध्यमिक विद्यालय मिर्चैयामा विद्यालय तहको अध्ययन गरेको उनी त्यही अध्ययनरत हुँदादेखि नै साहित्यप्रति झुकाव राख्थे ।

उनले सिरहाको भानु वाचनालयमा ‘पैसा’ शीर्षकको कविता वाचन गरी कवितामार्फत पहिलो पटक पुरस्कृत पनि भएका थिए । यही कवितामार्फत उनी सार्वजनिक साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् ।

कवि पोखरेल पिताकै देनमार्फत १९८४ मा कल्चरल प्लानबाट अध्ययन स्कलरसिपमा इन्जिनियरिङ (हाइड्रो) पढ्न रसिया गएका थिए । यसक्रमा उनलाई रसियन भाषा–साहित्यको निकै प्रभाव परेको थियो ।

त्यहाँबाट फर्केपछि पनि साहित्य सिर्जनामा रसियन साहित्यको प्रभाव कायमै रहेको उनी बताउँछन् । नेपाली हिन्दी, अङ्ग्रेजी, रुसी र फ्रेन्च भाषामा जान्ने उनीलको यी भाषामा पनि कविता सिर्जना गरेका छन् तर सङ्ग्रह भने नेपाली र अंग्रेजीमा मात्र प्रकाशित छन् । उनले अध्ययनका क्रममा ७ वर्ष रसिया बस्दा रसियन साहित्यको पनि अध्ययन गरेका थिए र रसियन भाषामा कविता पनि प्रकाशन गरेको बताए । 

कविता भन्ने कुरा भावनावाट आउने हो, भावनालाई उपयुक्त शब्दहरूको चयन गरी अभिव्यक्त गर्दा कविता बन्ने बताउने उनको ‘ई. सन्तोष पोखरेलका कविताहरु’ कवितामा कविले नेपाली समाजमा भोगेका कुराहरुलाई काव्यात्मक रुप दिएका छन् । यस कविता संग्रहको पहिलो कविता ‘ढुङ्गालाई सोध’ हो भने अन्तिम कविता ‘सप्तकोसी’ हो ।

पहिलो कवितामा उनी बढी भावात्मक भएर ढुङ्गालाई जीवन प्रदान गरेर उसको भोगाइलाई काव्यात्मक रुपमा प्रस्तुत गरेका छन् । उनले मानव ‘वैराग्यको इतिहास ढुङ्गालाई सोध’ भनेका छन् । निर्जीवलाई जीवन प्रदान गरी मानवका इच्छा, आकांक्षा र तिनका तृप्ति अपूर्ण हुँदा वैराग्य जाग्ने कुरा कविले एउटा बग्दो ढुङ्गाले खाएका हण्डरहरुसँग तुलना गर्दै मानिसका जीवनका अनुभूतिलाई कवितामार्फत प्रस्तुत गरेका छन् । 

उनको अन्तिम कविता ‘सप्तकोसी’ कविता प्रकृतिको वर्णन छ । यसमा कोसीनदीको वर्णन छन् । हिमाल, पहाड, लेक, बेंसी हुँदै तराई झरेर अन्नबाली सिंचित गरेको र हिलो मौलो धुलो पखालेको कुराको वर्णन छ । प्रकृतिको वर्णनका क्रमा उनले नेपाल धार्मिक रुपमा पुण्यभूमि हो भन्ने कुरा उल्लेख गरेका छन् । 

उनका ‘वृद्ध हठ’ कविता अनसन बसेका डा. गोविन्द केसीका बारेमा लेखिएको छ । केसीका दैहिक वर्णन गर्दै गरिब नेपालीको स्वास्थ्यका लागि लड्ने उनको अठोट प्रजातन्त्रको रक्षाका लागि हो, उनको अन्य स्वार्थ केही छैन भनेका छन् ।

देश बन्यो चोर र तस्करहरुको बजार
सायद यही हुनु रैछ लोकतन्त्रको सार ! (पृ.३)

यसरी उनले नेपालको वर्तमान राजनीतिक नेतृत्वप्रति व्यङ्ग्य प्रहार गरेका छन् ।

कविवर मुकुन्द शर्माले ‘वास्तवमा कवितामा चाहिने तत्व हो सम्प्रेषणीयता, जीवन्तता र युगबोध ती कुरा ठाउँठाउँमा झल्किएका छन् ।’ पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खे साइँलोका अनुसार– कवि पोखरेल बहुभाषी प्रतिभा हुन् र उहाँका कविताहरू रसिक, गहन र विचारोत्तेजक हुन्छन् ।’

सदानन्द जैशी ‘अभागी’ले कवि पोखरेलका कविताहरुलाई समीक्षा गरेका छन् । उनले यस संग्रहमा संकलित कवितामा राष्ट्र, राष्ट्रियता, देशप्रति समर्पित भई लेखिएका गीत र कविताहरूमा मेरो सपना, नेपाली शुभेच्छा, नेपाल देखाइदेऊ न, भलो मन, मेरो देशको बिहानी, देशमा अँधेरो, देशको रात र नेपाल, पर्दछन् । यी कवितामा कविको राष्ट्र राष्ट्रियताप्रतिको अमिट छाप देखिन्छ भनेका छन् ।

नेपाली भाषा भेष र बोलीको गुञ्जन, बाहुन, क्षेत्री, भोटे, थारु, मगर,कामी, दमाई, राई लिम्बु, नेवा आदि कसैको पेवा नभई सबैको नेपाल र सबै नेपालीको हौं भन्ने धारणासहित कतै सबैको भलोहोस् भन्ने धारणा व्यक्त गरेका छन् । 

जैसी भन्छन्, कविका कविता विविधताले भरिएका छन् । रीतलाई माया गर्नेहरूले रीतलाई एकाकार बनाउन आग्रह, आकाशमुनि बाँच्नेहरूको स्थिति दयनीय रहेको मरेर जिएका र बाँचेर मरेका, दुई छाक जेन तेन खाएका धारणा, कुरामा मनका कुरा तनका कुरा मनका कुराले मन छुने कुना अनि कन्दरा भन्ने धारणा, अव्यक्त आकाशमा कविले विविध भावना पोख्दै यी कामको अवलोकनमा के बोल्दो हो अव्यक्त आकाशले भन्ने धारणा, छोरीलाईमा जन्मस्थान सहज नहुने धारणा, शिव शम्भोमा शिवजीको आराधना, मेरी श्रीमतीलाईमा बुढो भएको सन्देश कविले पोखेका छन् ।

अतः कवि पोखरेलका कवितामा नेपालको समाज, संस्कृति र प्रकृतिप्रतिका चिन्तनप्रति केन्द्रत छन् । कवितामा प्रयुक्त भाषा कुनै कुनै केही जटिल भए पनि सरल र सरस छन् । कृतिमा ४६ वटा कविता तथा गीत छन् भने यसमा जम्मा ७६ पृष्ठ छन् भने यसको मूल्य रु २०० तोकिएको छ । पल्लव साहित्य प्रतिष्ठनले प्रकाशनमा ल्याएको यो कविता संग्रहले नेपाली साहित्य जगतमा एक इँटा थप्ने कार्य गरेको छ । यस कालजयी कृतिकारलाई हार्दिक बधाइ तथा आगामी सिर्जनाका लागि शुभकामना ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन दाहाल
मोहन दाहाल
लेखकबाट थप