केन्द्रीय संस्करण
मुक्तदृष्टि

संस्कृतिको वीभत्सीकरण

person explore access_timeभदौ ३०, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

गाउँबस्तीहरुमा वर्षको एक पटक ‘कुलदेउता पूजा’ लाई माध्यम बनाएर कुलबन्धुहरु भेला हुने, ‘कुलदेउता’को पूजा गर्ने र प्रसाद वितरण गर्ने चलन ‘कुलबन्तहरु’का समुदायमा पुरानै हो । 

यसको लागि परम्परागत रुपमा नै स्थान र दिन पनि निश्चित हुनेगर्छ । ‘कुलबन्त’हरु आफू राम्रै घरमा बसे पनि तिनका ‘कुलदेउताहरु’ भने बोटबुट्याननजिकै पखेराको एउटा सुर्कोमा बिनाओत बस्ने गर्छन् ।

पूजाका दिन कुलका बडाबढा, शहर पसेका ठूलाबडा, धनिमानी र हाकिमहरु पनि पूजासामान बोकेर बोका घिच्याउँदै जुट्ने भएका कारण वर्षमा एक पटक, पूजाका निश्चित दिन बिचरा कुलदेउताले पनि छाप्राको ओत पाउँछन् । कति ‘कुलबन्तहरु’का कुलपूजामा धामी बस्ने चलन छ त कतिको छैन ।

    धामी नाचे पनि ननाचे पनि पूजा सक्किएपछि ‘कुलबन्त’हरु प्रसाद  वितरण गर्छन् र घर घरमा गएर खान्छन् । अहिले ‘कुलबन्तहरु’बीच राजनीति व्यवसायी र नवधनाढ्यहरु पनि थपिएपछि जमघटको अनुहार बदलिन थालेको छ । 

प्रसादवितरण तथा खानपानको स्थान र शैली पनि बदलिएको छ । सत्ताका उच्च पदासीन ‘कुलबन्त’हरु समेत थपिएपछि त जमघट, स्थान र खानपानमा अझै चकाचौँधको परिवर्तन आएको छ । 
गाउँबस्तीका पखेरातिर खुल्ला छाप्रामा जुटेर पूजा गर्ने युवाहरु धेरैजसो खाडी पसिसके । बुढाहरु बाँकी छन् र पनि जमघट र रउस खुम्चँदै गएको छ । शहरमा सत्तासीन ‘कुलबन्तहरु’बाट आयोजित जमघटमा ‘समृद्ध’ कुलबन्धूहरु हुन्छन् । ‘कुलदेउता’ हुँदैनन् । 

परम्परागत पूजाको झन्झट  पनि हुँदैन । समारोह सरकारी प्रासादमा आयोजित हुन्छ । प्रसाद वितरणको व्यवस्था नामुद पाँचतारे होटलले गर्छ । खर्च सरकारी ढुकुटीले बेहोर्छ । कसैका दृष्टिमा यो पनि आफ्नो किसिमको प्रगतिशील रुपान्तरण हो ! भित्रभित्रै गणतन्त्र र  समाजवादको अभ्यास पनि हो !!

    हालै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित हाम्रा प्रधानमन्त्रीका बन्धु–बान्धवजमघट र भव्य सहभोजलाई परम्परागत कुलपूजा संस्कृतिको प्रगतिशील रुपान्तरणका रुपमा हेर्ने कि ? गणतन्त्र र समाजवादको अभ्यासका रुपमा हेर्ने कि ? परम्परागत सामन्ती संस्कृतिको थप वीभत्सीकरणका रुपमा हेर्ने ? छलफल अपेक्षित छ । 


 

   सामन्ती राज्यव्यवस्था व्यक्तिवादी थियो । व्यक्ति नै ठूलो थियो । निर्णायक थियो । व्यक्तिको मर्जी, व्यक्तिको हुकुम अकाट्य थियो । जस्तै— मुलुकको भूमि राजाको भूमि । राजा भूपति । राष्ट्रिय ढुकुटी राजाको ढुकुटी । सर्वोपरि राजा, त्यसपछि राजपरिवार, त्यसपछि राजाका भाइभारदार । बाँकी दुनियाँ थिए । ती दुन्याउन मात्र काम लाग्थे । आज मुलुकमा राजतन्त्र छैन । राजतन्त्र जाँदैमा सामन्ती संस्कृति पनि राजाका साथसाथै जान्छ, सकिन्छ भन्ने सोच कसैको थियो भने त्यो सही थिएन । शब्दहरु फेरिँदैमा संस्कृति फेरिने भए हामीकहाँ राष्ट्रिय ढुकुटीको दुरुपयोग रोकिन्थ्यो । औपचारिक अनौपचारिक सवारीका तामझाम पनि फेरिन्थे । सरकारी प्रासादहरुमा विभिन्न नाम र रमझमका जमघट तथा भोज, सहभोजका परिपाटी पनि फेरिन्थे । धेरै कुरा फेरिन्थे । फेरिएका छैनन् । शासकहरुको आचरण र शासनशैली सबै परम्परागत नै छ । पुरानै छ ।

    हाम्रा आजका शीर्ष राजनेताहरु जस्तै दासयुग र सामन्त युगका राजामहाराजाहरु  पनि विविध विरुदावलीले विभूषित हुन रुचाउँथे । कुलदीपक जस्ता विभूषणमा भने उनीहरुको खास रुचि थिएन । उनीहरु एउटा कुलपरिवारको दीपकताबाट आफूलाई अगाडि बढिसकेको ठान्थे । अहिले यसमा परिवर्तन आएको देखिएको छ ।    कुरैका निमित्त कुरा गर्ने हो भने कुरा राम्रा गर्ने मानिस दासयुग र सामन्तयुगमै पनि थिए । उदाहरणका लागि त्यति बेलाको एउटा नीतिवचनलाई लिउँ, जस्तै—

   “त्यजेदेकम्ं कुलस्यार्थे, ग्रामस्यार्थे कुलम्ं त्यजेत् ।
    ग्रामंम् जनपदस्यार्थे राष्ट्रार्थे जीवितम्ंं त्यजेत् ।

 

   अर्थात्  कुलको भलाइका लागि आवश्यक पर्छ भने एक जना निकटतम आफन्तलाई छोड्न परे छोड्न सक्नुपर्छ । सिङ्ंगो गाउँको भलाइका लागि आवश्यक पर्दा कुललाई छोड्न सक्नुपर्छ । जिल्लाका भलाइका लागि परिआए गाउँ छोड्न सक्नु पर्छ । राष्ट्रका लागि आवश्यक पर्दा जीवन नै पनि छोड्न सक्नुपर्छ ।”
  

 पुरानै समयको भए पनि यो भनाइ कम सुन्दर छैन । कतिले यस भनाइलाई मान्यता दिएका पनि थिए होलान् । पौराणिक दैत्यसम्राट् प्रह्लादले एक ऋषिपुत्रसँगको मुद्दामा आफ्ना छोरालाई हराएर भयङ्कर दण्डको फैसला सुनाएको प्रसङ्ग पनि पुराणहरुमा पढ्न पाइन्छ । हाम्रा पुराण र इतिहासहरुमा कतिपय राजा तथा सम्राटहरुले न्यायका लागि आफ्ना छोरालाई मृत्युदण्ड दिनसमेत् पछि नपरेका कति प्रसङ्गहरु छन् । यी नीति निष्ठाका कुरा हुन् । त्यति बेलाका रोलमोडेल संस्कृति निर्माणका कुरा पनि हुन् ।

    “राष्ट्रमा हामी सदा चनाखो रहन्छौं । राष्ट्रहितमा निरन्तर अग्रगामी रहन्छौं ! राष्ट्रे वयम् जागृयामः पुरोहिताः स्वाहा” प्राचीनतम ग्रन्थ वेदले पनि भन्छ । यहाँ पुरोहितको तात्पर्य अगाडि बढेर राष्ट्र र जनताको हितभलो गर्नु  थियो । पुरेत बनेर सिदा दक्षिणा बटुल्नु  थिएन ।

    पहिले पहिले राम्रा सोच समझका कुरा छँदैथिएनन् भन्ने कुरा होइन । थिए । त्यत्तिकै कति नराम्रा कुरा पनि थिए । हाम्रा परम्परागत संस्कृति सवै सुन्दर छन्, जनहितकारी छन् भन्न सकिँदैन ।

परम्परागत संस्कृतिमा धेरै नराम्रा कुरा पनि छन् । यसैले परम्परागत संस्कृतिलाई सर्लक्कै उठाएर आज पनि टाउकामा बोकेरै हिँड्नुपर्छ भन्न मिल्दैमिल्दैन । गुड्गुडे हुक्का, पाल्पाली बुट्टे नली, भक्तपुरे चिलिम र असनको तमाखु जुटाएर आज पनि ट्वार् ट्वार् तमाखु टुक्र्याउनु पर्छ भन्न सकिँदैन । । हाम्रा पुर्खाले भाङ्ग्राको लँगौटी लाउँथे । गादो बेर्थे । संस्कृति संरक्षणका लागि आज हामी पनि त्यसै गरौं भन्ने जिकिर प्रगतिवादीहरुकोे कहिल्यै रहेन ।

परम्परा र संस्कृतिलाई गुटमुट्याउने होइन । वर्तमान युगसापेक्ष्य र उपयुक्त जति छ त्यति मात्र ग्रहण गर्ने हो । हाम्रो संस्कृति समृद्ध हुँदो हो त हामी पनि समृद्ध नै बन्थ्यौं । हाम्रो संस्कृतिमा कतै कुनै खोट छ र नै हामी पछाडि परेकाछौं । आजको हाम्रो आवश्यकता त हाम्रो देश र समाजको उत्तरोत्तर प्रगतिका लागि उपयुक्त नयाँ तथा सुन्दर संस्कृतिको निर्माण र अवलम्बन गर्दै अगाडि बढ्नु हो । अन्यथा पुरानै संस्कृतिका गोरुगाडा चढेर नयाँयुगको वैमानिक यात्रा सम्पन्न गर्न सकिन्छ भन्ने कुरा विद्रुप प्रहसन मात्र हुनसक्छ ।
  

 अहिले यहाँ तीजको सन्दर्भ पनि छ । भर्खरै एउटा पत्रिकामा पढेको थिएँ, ‘माइती न घर, दिनदिनै दर !’  हुन पनि हिजोआज शहरबजारमा दिनदिनै दरको माहोल मौलाएको छ । दर खान खास खास महिलाले अव माइत जानु पर्दैन, घरमा मेहेनत गरिरहनु पनि पर्दैन । विभिन्न कार्यालय, क्लव, सङ्ंघसंस्था,सहकारी आदिइत्यादि यति धेरै छन् महिनौसम्म ठाउँठाउँमा जुटेर गीत गाउँने, दर खाने, नाच्ने माहौल बन्न बनाउन गाह्रो छैन । सरकारी गैरसरकारी हरेक कार्यालयले तीज आउनुभन्दा एक, डेढ  महिना अगाडिदेखि तीजका नाममा गीत नाच र सहभोजका आयोजनाहरु चलाएको देखिएको छ । यो आयोजना विभिन्न कार्यालदेखि मन्त्रालयहरु हुँदै सम्माननीय राष्ट्रपतिज्यूको कार्यालयसम्म आयोजित हुन पुगेको पनि सुनिएको छ ।

     कन्चनपुरमा  बालिका निर्मला पन्तको बलात्कार र हत्याको आततायी विभीषिका, न्याय माग्नेहरुमाथि प्रहरीप्रशासनको गोलीवर्षा र ठुलाबडा भनाउँदाका कुकृत्यको एकपछि अर्को चर्चाको वीभत्सताले मुलुकको वातावरण नै विषाक्त हुँदाका दिनहरुमा पनि सामान्यदेखि सम्भ्रान्त तहसम्मका महिलाहरुको तीजमुखी नाचगान र भोजभतेरका रमझमले एक छिन रोकिएर चिन्ता व्यक्त गर्ने फुर्सत पाएको सुनिएन । विशिष्ट स्थानमानका विशिष्ट महिलाहरुबाट पनि बालिका बलात्कार र हत्याप्रति चिन्ता व्यक्त गरिएको सुनिएन । तदारुक कार्बाही नभएकोमा आक्रोश व्यक्त गरेको सुनिएन । महिलाहरुका कानहरुमा महिलाकैे चित्कार पुग्न नसक्ने पर्यावरण निर्माणको  यो साँस्कतिक कटाक्ष कुन समाजवादको सिर्जना हो ? थाहा हुन बाँकी नै छ ।
 

   नेपालको विशेषतः पुरुषप्रधानता निर्णायक रहेका समुदायका घरपरिवारमा विशेषतः बुहारीहरु बुहार्तनमै पेलिइरहने र टाटी टेक्ने फुर्सत् नपाउने हुँदा तीजका दिन राहतका दिन थिए । दुई तीन  दिनका लागि बुहारीहरु पतिघरबाट निस्केर माइती घर जान पाउँथे । 

माइतमा आमा डाडुपन्यूँ चलाउन सक्ने अवस्थामै भएका स्थितिमा छोरीले तिजको अघिल्लो दिन राती फुर्सद् लिएर अलि मिठो स्वादिलो र दह्रो खाना खान पाउँथे । यस्तो खानालाई दर भनिन्थ्यो । त्यसै दरका आडमा तीजका दिन पत्नीहरु ‘सौभाग्यका ठेकेदार’ ‘पतिदेव’को चिरायु कामना गर्दै अन्नजल छोडेर व्रत बस्ने साहस जुटाउँथे । महिनौंको कुपोषणले सिट्ठन भएका नारीहरु राती आमाले खान दिनुभएको दरका भरमा तीजका दिन पूजासरजाम लिएर मन्दिर पुग्थे । पूजापछि त्यतैकतै चउरमा जुटेर गीतहरुमा मनका बह पोख्थे । यो स्थिति पहाडका गाउँबस्तीहरुमा  आज पनि सरदर उस्तै बाँकी छ । शहर बजारमा भने तीजले पूँजीवादी बाना फेरेको छ । 

    गाउँबस्तीमा राहतका कुरा थिए शहरमा रउसका कुरा छन् । जति रमझम शहरमा बसेर जस्तो दर खाएर, जस्तो लुगागहना लाएर, जहाँ जुटेर, जे गीत गाएर, जसरी नाचे पनि तीजको यस संस्कृतिले नारी उत्थानमा भने कत्ति पनि सघाउ पुगाएको छैन । गाउँबस्तीमा राहतनिमित्तक परम्परागत बाध्यताका रुपमा र आजका शहरबजारमा रङ्ग–रउसका रुपमा जसरी चले चलाए पनि तीजले नारीलाई ‘दोस्रो दर्जाको नागरिक’ कायम रहने परम्पराकै बाटोमा हिँडाएको छ । तीजमा महिलाहरुका लागि आत्मचिन्तन र आत्म उत्थानको उत्साहन र प्रेरणा छैन ।

विवाहमा बाहुनहरुले पढ्ने मन्त्र—‘वरस्य वध्वा वितनोतु भूतिम् अर्थात् भगवान्ले यस बधूको माध्यमबाट यी वरको उन्नति प्रगति गराउन् ।’ भन्ने भावकै प्रकारान्तरको विस्तार हो तीज । तीजको सांस्कृतिक विन्यासमा महिलाको हितपक्ष अनुपस्थित छ । यसले दाम्पत्यको चिरस्थायितासँगै, आपसी माया–ममता र समानताको कल्पना गर्नसकेको पाइँदैन । प्रवुद्ध महिलाहरुबाट तीजलाई नारीपुरुष समानताका लागि नारीदिवशका रुपमा अघि बढाउने प्रयत्न भएको सङ्केत पनि कतै पाइँदैन । युगानुकूल सांस्कृतिक रुपान्तरणको प्रयास कतै कसैबाट भएको देखिँदैन ।  प्रवुद्ध महिलाहरुले तीजमा आजसम्म पनि कन्यादानजस्तो दासतामुखी परम्पराको समेत विरोध गर्न सकेका छैनन् ।

यस्ता दिनमा त त्यस्तो आवाज उठ्नु पर्ने हो । खै, कतै सुनिँदैन । जहाँसम्म तीजको यो यही यस्तै साबिक सांस्कृतिक रुपपरम्पराको सवाल छ, यो  आजका महिलाहरुले गौरवसाथ हुर्काउनु पर्ने रुपपरम्परा होइन । 
 

   शहरबजारमा तीजका रङ्गीन माहोल सिर्जना हुनु उत्तरोत्तर झाङ्गिनुमा निर्मम बजारसंस्कृतिको विराधहस्तले मात्र काम गरेको छ । प्रगतिशील सांस्कृतिक रुपान्तरणको चेतनाले काम गरेको छैन । 
  

 तीज मात्र होइन, हाम्रा परम्परागत अन्य विभिन्न चाडपर्बहरु  पनि क्रमशः विभत्सीकृत हुँदैछन् । यसमा काङ्ग्रेसी राजनीतिक संस्कृतिको हात त निरन्तर कायम छ नै । अहिले आएर ठिमाहा पूँजीवादको

परिक्रमामा घुमेका संसदीय वामहरुको समेत साथ  देखिन थालेको छ ।    
  

  यो पनि आजको एउटा चिन्तनीय पक्ष हो । 
       
    
     
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...