बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दर्भ पुष्पलाल स्मृति दिवस : क. पुष्पलाल र  शुुष्कलालहरू

बिहीबार, ०५ साउन २०७४, ११ : ५१
बिहीबार, ०५ साउन २०७४

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नचिन्ने  शुुष्कलालहरू अहिले छ्यासछ्यास्ती देखापरेका छन् । यसको अर्थ पुष्पलालको नामै नसुन्नेहरू छैनन् भन्ने कुरा होइन तर वैचारिक, दार्शनिक, गहन अध्ययन, अनुसन्धानात्मक, लेख र प्रकाशन तथा कार्यकर्तामैत्री जस्ता पुष्पलालका गहन व्यक्तित्वलाई बुझ्ने नेता र कार्यकर्ताहरूको अभाव भने पर्याप्त देखापरेको छ । यहाँ भन्न खोजिएको कुराको चुरो यही हो ।

पुष्पलालले माक्र्सवादलाई गफ गर्ने विषय मात्र कहिल्यै  बनाउनु भएन । तर अहिले गफ मात्रै लडाउने शुष्कलालहरूको भीड देखिन्छ । यही विगत स्थानीय चुनावमा कुनै कुनै नेतालाई प्रचार प्रसारको  चापले भ्याइनभ्याई देखियो । आफ्नै गृह नगर र जिल्लामा तिनले मिही तरिकाले घरदैलोझैँ घुमेर स्थानीय पार्टीमा देखापरेका आन्तरिक अन्तविरोध हल गरेरै चुनावी परिणाम आफ्नो पार्टीका पक्षमा हात पारेको देखियो तर तिनैमध्येका कतिपय नेता आफ्नै नगरमा मुखसम्म नदेखाउँदा इनरुवामा न्यून मतले नगर अध्यक्षमा हार व्यहोर्नु पर्यो । 

      पुष्पलालले   माक्र्सवादलाई व्यावहारिक जीवनमा उतार्न खोज्नुभयो । यसको अर्थ उहाँले माक्र्सवादलाई दैनिक जीवनको संस्कृति र संस्कारसित जोड्न खोज्नुभयो । तर शुष्कलालहरू माक्र्सवाद र जबजलाई जसरी पनि गरिखाने भाँडो बनाउन आतुर देखिन्छन् । तिनैमध्ये धेरैमा  सेवाको भावना पटक्क देखिन्न ।

धरानमा त्यहाँका सभासद् तथा बौद्धिक व्यक्तित्व कृष्णकुमार राई चुनावमा अत्यन्त मिहिनेतपूर्वक लाग्नुभयो र सफलताको उचाइमा पु¥याउन आफूसहित परिचालित हुनुभयो तर इटहरीको सभासद्ले चुनावमा लागिपरेझैँ मात्र गरे । सयम उभारेर इनरुवासम्म गएर पार्टीका पक्षमा मत प्रभावित गर्न र प्रभाव विस्तार गर्नतिर ध्यानै दिएनन् । अहिले शुष्कलालहरू त माक्र्सवाद भट्याउँछन् तर तिनले मृतात्माको चिरशान्तिको कामना गर्छन् । पुष्पलालले आफ्नो नाममा कहिल्यै जात, थर, धर्म र सम्प्रादाय उल्लेख गर्नु भएन तर अहिले त ब्राह्मण, क्षत्री खलकका शुष्कलालहरू समेत जात र भातमा रमाउन थालेको देखियो ।  

पुष्पलालले उपल्लो र माथिल्लो र मझौला तहको पार्टी नेतृत्वलाई आफ्नो पदीय उच्च बौद्धिक र वैचारिक गरिमा कायम गर्न पठन संस्कृतिमा निर्लिप्त हुन निर्देश गर्नु भएको छ तर अहिलेका शुष्कलालहरू पठन संस्कृतिका दृष्टिले निख्लाम देखिन्छन् । त्यसैले अहिले एमालेलगायत पार्टीहरूका नेता र कार्यकर्तामा बौद्धिक वैचारिक खासै अन्तर र फरक देखिन्न । पदीय हिसाबले नेता र अगुवा कार्यकर्ता होला तर  तदनुसारको  ज्ञान र गुदी देखिन्न । जब यस खालका नेता बोल्छन् र प्रशिक्षण गर्न थाल्छन्, तिनको पोल त्यहाँ मजाले खुल्छ ।  कालो भादगाउँले टोपी मात्र ढल्काएर मदन भण्डारी हुन सकिन्न ।

ओली हुन रातको बाह्र बजेसम्म पढ्नुपर्छ र उहाँकै जस्तो अत्यन्त सिर्जनात्मक तीक्ष्ण दिल र दिमाग हुनुपर्छ ।  साँच्चो कम्युनिस्ट नेता हुन नपढी सुखै छैन । मनको मैलो साबुनले धोएर जाँदैन । गिदीभित्र जमेर रहेको पश्चगामी लिदी सफा गर्ने  अद्भूूत साबुन पठन, पठन र पुनः पठन नै हो । अझ त्यसमा पनि कला, साहित्य, सङ्गीतको अध्ययन, श्रवण र यससम्बन्धी सैद्धान्तिक ज्ञानको सूक्ष्म अगुवा नेतामा अपरिहार्य हुन्छ तर यस विषयको जानकारी र अभिरुचि शुष्कलालहरूमा शून्यप्रायः देखिन्छ । साहित्यिक गोष्ठीमा बस्दा शुष्कलालहरूलाई हाई आउँछ, पट्यार लाग्छ, वाक्क र दिक्क लाग्छ  ।

समाजलाई गुणात्मक रूपमा फेर्ने कला, साहित्य र सङ्गीतप्रतिको यो हदसम्मको वितृष्णाले  किमार्थ समाज अगाडि बढ्दैन । यसरी पुष्पलाललाई चिनेको ठहर्छ ? पुष्पलालले कम्युनिस्ट पार्टीको घोषणा पत्र, पार्टीको पहिलो पर्चा, नेपाली इतिहास, कला, साहित्य र संस्कृतिको गहन अध्ययन गर्नुभयो । उहाँको यो अध्ययनले केही मौलिक प्रस्थापनाहरू पनि गरेको छ । उहँको अध्ययन ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा रहेको देखिन्छ । त्यसैले पुष्पलालले  आजको नेपाल हिजोको इतिहासबाट विकसित भएको हो भन्नु भएको छ । त्यसैले उहाँले हामीले आफूलाई आफ्नै देशको गौरवशाली पूर्व इतिहासबाट अलग गर्नु हुँदैन पनि भन्नु भएको छ । त्यसैले साहित्यिक, राजनीतिक, सामाजिक तथा आर्थिकलगायत नेपाली इतिहासलाई र त्यस कालखण्डका सकारात्मक पक्षलाई जगेर्ना गर्ने कुरा पुपलालले बताउनुभएको छ । उहाँले भानुभक्त आचार्य र पृथ्वीनारायण शाहको योगदानको कदर पनि गर्नुभएको छ । इतिहास, वर्तमान र भविष्य बोध गरेर मात्र सही बाटो फेलापर्छ । पठन र  लेखन संस्कृतिमा डुब्नुपर्छ अनि मात्र आफूलाई अन्तरहृदयदेखि फेर्न सकिन्छ । 


     पुष्पलालले कम्युनिस्टहरू वर्गपक्षधर  दृढ पनि हुन्छन् र सोकल्ड कम्युनिस्ट पनि हुन्छन् भन्नुभएको छ । उहाँले पार्टीमा  कम्युनिस्ट भनाउँदाहरू प्नि हुन्छन्  भन्नुभएको छ ।  उहाँले पार्टी भन्नाले सैद्धान्तिक रूपले सबभन्दा चेतनशील अगुवा दस्ता, सङ्गठित र अनुशासनबद्ध मजदुर वर्गको प्रतिनिधिहरूको दल हो भन्नुभएको छ ।  तर अहिले त लबिगत निकृष्ट गुटका लागि सङ्गठित सदस्यको सङ्ख्या बढाउने मात्र ध्याउन्ना देखिन्छ । पुष्पलालले पार्टी दस्तावेजमा  नेता कार्यकर्ताहरूलाई घमण्डी नहुन सल्लाह दिनुभएको छ । तर शुष्कलालहरू बोलीवचन, व्यवहार, अनुहार, इसारा र आकृति आदि हरेक दृष्टिले शुष्क, ठुष्क  र भुक्क फुलेका देखिन्छन् । हजार सिद्धान्तभन्दा एक व्यवहार ठूलो र प्रभावकारी हुन्छ भनेझैँ त्यही व्यवहारले धेरै ठाउँमा अन्य पार्टीका प्रमुखलगायतका पदका उम्मेदरवारले एमालेलाई पछारे । अझ जनताको मन जितेर राजकीय र राजनीतिक नेतृत्व हासिल गर्नुपर्छ भन्ने नीति नेता र अगुवा कार्यकर्ताको व्यवहारमा पूरै उल्टो परेको छ ।  पुष्पलाले नेताहरूलाई सिद्धान्तनिष्ठ, अनुशासनबद्ध र हुनुपर्ने बताउनुभएको छ तर यही साउन ५ गतेको कान्तिपुर हेडलाइनमा एमाले नेता सुरेन्द्र पाण्डेले एमाले पार्टी र यसको प्रमुख नेतृत्वलाई आर्थिक अनियमिततामा घुमाउरो रूपमा पत्रकारले मुछेकामा सही थाप्दै थिए ।

प्रसङ्ग नेपालमा अहिले चलिरहेको अनेक भ्रष्टाचार र कालीगण्डकी ठेक्का प्रकरणको विरोध एमाले पार्टीले किन नगरेको हो भन्ने सबाल वार्तामा उठेको थियो । यस्ता विषयमा स्पष्ट जवाफ दिनुपर्दैन ? खै को नि, के हो, हो कि यही हो नेताको अनुशासन ? यस खालका विषय जुन नेताले पनि उठाउँदा अपराध हुन्छ र ? जस जति सबै आफैँ लिने अनि सारा अपजस अरूको थाप्लोमा भिराउने नियतले कहीँ पुगिँदैन । त्यसमा पनि अहिलेको स्थानीय निर्वाचनको जुन लहर एमालेमा आएको छ त्यो त प्रमुख नेतृत्वको हो भन्ने कुरा आम जनताले बुझेको कुरा हो नि । ढाँटेको कुरा काटे मिल्दैन क्या ?  पुष्पलालले पार्टीका नेता र अगुवा कार्यकर्ताले आम कार्यकर्ताका जिज्ञासा, सुझाव र आलोचना राम्ररी सुन्नुपर्छ भन्नुभएको छ तर के अहिले यस खालको व्यवहार पार्टीका नेता र अगुवा कार्यकर्तामा छ ? इटहरीमा पनि आफू त को के कालदेखिको कार्यकर्ता हुँ भनेर फुइँ गर्ने अगुवा कार्यकर्तालाई त्यसको पूरा नाम, गाम, थर र ठेगाना नै थाहा छ कि छैन ? आमाका गर्भमै हुँदा को के कालमा थिएसम्म पनि भन्न नहिच्किचाउने अचम्मको बात सुन्नुपर्छ ।

पुष्पलाले प्रगतिशील तथा  समाजवादी संस्कृतिका रूपमा माक्र्सवादलाई ग्रहण गर्नु पर्ने कुरा बताउनुभएको छ । तर अहिले धेरै शुष्कलालहरूलाई संस्कृति कुन चराको नाम हो थाहै छैन । तिनले बुझेको संस्कृति भनेको गणेश भगवान्को लामो सुँढ, विशाल उदर, लवाइ, खुवाइ, पूजापाठ, मठ मन्दिर, नाच गान आदि मात्र हो । पुष्पलालले  समाजवादी संस्कृतिको जग  निर्माणका लागि २००६ सालमा ने.क.पा.को स्थापनाको अगुवाइ गर्नुभएको हो उहाँले ।

राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक संस्कृति निर्माणका निम्ति साँचो अर्थमा लड्ने पार्टीको अभाव पूर्ति गर्न खोज्नुभएको हो ।  त्यसैले उहाँले आम जनताको हक हितसित गाँसिएको कम्युनिस्ट पार्टीमा जनताका अगुवा दस्तालाई सङ्गठित र प्रशिक्षित गर्दै आन्दोलनको आँधीबेहारी सिर्जना गर्नुभएको हो । उहाँले सत्ता, शत्ति, सम्पत्ति, सुविधा भोग र व्यक्तिगत पारिवारिक सुख चैन गर्नका लागि पार्टी स्थपना गर्नुभएको होइन । उहाँले लोकतान्त्रिक संस्कृतिको स्थापना गर्दै नयाँ जनवादी संस्कृतिको मार्ग हुँदै समाजवादी संस्कृति निर्माणका निम्ति अनेक बौद्धिक वैचारिक र व्यावहारिक अभियान परिचालन गर्नुभएको हो ।

तर  समाजवादी संस्कृतिको जग बसाउने, विस्तार गर्ने र  समृद्ध बनाउने काम सजिलो छैन । अझ सदियौँदेखिको सामन्तवादी तथा पुँजीवादी संस्कृतिमा नेपाली समाज पूरै रत्तिएको र अभ्यस्तको अवस्थामा हुन्छ । पुरानो जनविरोधी संस्कृतिलाई परास्त गर्न बौद्धिक तथा भौतिक अभियान र आन्दोलन अपरिहार्य हुन्छ । त्यसैले पार्टीहरूमा जे जस्ता अल्पकालीन वा दीर्घकालीन समस्याहरू छन् । तिनलाई समाधान गर्दै पार्टीका शुष्कलालहरूलाई पनि प्रशिक्षण गरेर भरिलालहरू बनाउनुपर्छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप