मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धबीर एकल साँझ गायक बरालले गाए ‘बादलुको घुम्टोले..’

शुक्रबार, २९ भदौ २०७५, १८ : ०१
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– चर्चित गीतकार बुद्धबिर लामाको आठौं एकल साँझ राजधानीमा शुक्रबार आयोजना गरिएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा अहिलेका चर्चित गायक गायिकाले उनीद्धारा लिखित करिब एक दर्जन गीतहरु लाइभ गाएर सुनाए ।

देश, समाज र जनताका लागि उत्कृष्ट योगदान दिएका तर आधिकारीक निकायहरुबाट ओझेलमा रहेका समाजका बिभिन्न ब्यक्तिलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्दै सुरु भएको कार्यक्रम करिब ३ घन्टा चलेको थियो । 

कार्यक्रममा ‘श्रष्ठा सम्मान २०७५’ बाट बरिष्ठ गीतकार इश्वर श्रेष्ठ, देउडा सम्राट नन्दकृष्ण जोशी, बरिष्ठ साहित्यकार प्रतिक ढकाल, भगवती दश श्रेष्ठ, ‘उत्कृष्ट समाजसेवी तथा नागरिक सम्मान २०७५’बाट मिस एसएलसी रोजिना लामा, ‘उत्कृष्ट नागरिक तथा राष्ट्रिय सम्मान २०७५’बाट सुर्योदय नगरपालिका इलामका प्रमुख रणबहादर राई, आयुर्वेदिक चिकित्सक राकेशकुमार सिंह र शिक्षासेवी रामचन्द्र महतो कुशवाह सम्मानित भए ।

त्यस्तै ‘उत्कृष्ट निजामती सेवा सम्मान २०७५’ निमा तेन्जिङ शेर्पा, छविलाल सुवेदी, शिवप्रसाद चापागाई, रेवती रमण तिमल्सेना, मुक्तिप्रसाद आचार्यले प्राप्त गर्दा श्रीमती मुना सिलवाल, इन्दिरा याक्थुम्बाले ‘शैक्षिक सम्मान २०७५’ प्राप्त गरे ।

पूर्व ब्याडमिन्टन खेलाडी तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष किशोर बहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७५’ समेत प्रदान गरिएको कार्यक्रमा ‘एथलेटिक्स तथा खेलकुद सम्मान २०७५’ द्धारा  पुष्पलाल श्रेष्ठ, भैरवी शाही, कपिल भट्ट, जीतबहादुर केसी सम्मानित भए । सम्मानित सबैलाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ताम्रपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका दिए । 

बुद्धवीरद्धारा रचित गीतहरुको संग्रह एल्बम ‘आमा तिम्रो माया’ समेत बिमोचन गरिएको एकल साँझका लागि संकलित रकम मध्येबाट खर्च कटाएर बढी भएको रकम जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्र फर्पिङ, पवित्र बाल उत्थान केन्द्र चाबहिल र बैकुण्ठ मानन्धर स्र्पोटस् फाण्डेसन काठमाडौंलाई प्रदान गरियो । यी संस्थालाई क्रमश २५,२५ र ६० हजार प्रदान गरिएको थियो ।

ब्लुरेन एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा गायक गायिका अपेक्षा बन्यातले आमा तिम्रो माया, कहाँ छ त्यो बालअधिकार, नारायण लामाले च्छोरोल्पा ताल, पार्वती राइले खोटाङ हलेसी, सत्यकला राइले भेटौंला मायालु इन्टरनेटमा, तिमीलाई हङकङ पुर्यायो, शम्भु राईले यो मन भन्छ, कहाँ जाउ, चलेछ बतार सुस्तरी, यम बरालले बादलुको घुम्टोले, कुन्ति मोक्तानले मत हिँड्छु मेरै बाटो लगायतका बुद्धवीरले नै रचना गरेका गीत प्रस्तुत गरे ।

भुवन लामाको हाँस्यब्यंग, साधना कलाकेन्द्र, ग्यालेक्सी पब्लिक स्कुलका र ब्लुरेन इन्टरनेशनल बोर्डिङ स्कुलको आकर्षक नृत्य कार्यक्रममा राखिएको थियो । गीतकार लामाको जन्मस्थान सुर्यदय नगरपलिकाको बिषयमा निर्माण भएको बृत्तचित्र समेत प्रदर्शन गरिएको कार्यक्रममा मधुशमशेर जबरा, प्रदीप खनाल, दावा तामाङ लगायत ब्यक्तित्वको समेत उपस्थिति रहेको थियो ।

गीतकारको एकल साँझ आफ्नो नै पहिलो भएको दाबी गरेकाबुद्धवीर लामाले यस अगाडि २०६१, ०६३, ०६४, ०६५,०७०, ०७१ र ०७३ मा एकल साँझ गरेको कार्यक्रममा जानकारी दिए । आफ्नो एक गीत लगातार सुन्न चाहने गीत संगीत प्रेमीको चाहना पुरा गर्न आफुले नियमित एकलसाँझ गर्दै आएको लामाको भनाई रहेको थियो ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप