केन्द्रीय संस्करण

समाजसँग राधाको विद्रोह : रजस्वाला हुँदा आमाको मृत्यु संस्कार

person access_timeभदौ २९, २०७५ chat_bubble_outline0

हिन्दु संस्कारअनुसार महिलाहरूका लागि तीजको जति महत्व छ । त्यतिनै महत्व ऋषिपञ्चमीको पनि छ । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो ।

यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

त्यसैले यो अशुद्ध हो र यसलाई अलग्गै राखिनु पर्छ भनियो । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानेर गरिएका जति पनि पापहरू छन्, तीबाट मुक्ति हुनका लागि व्रत गर्ने र सप्तऋषिको पूजाअर्चना गर्ने चलन छ । ऋषि पञ्चमीको पूजा गर्दा पढिने पाठमा पनि भनिएको छ, महिनावारी हुँदा भएका छोइछाई अनि पापले गर्दा मोक्ष प्राप्त नहुने र उक्त पाप पखाल्नुपर्ने ।

अपत्यारिला अनि महिलाविरुद्धमा उल्लेखित यस्ता लाइनहरूले गर्दा यो प्रथा झनै जटिल बन्दै गएको पाइन्छ । पुराणमा लेखेको कुरा महिलाहरूले नमानुन् पनि कसरी जो धर्मसँग यसरी बाँधिएका छन् । मानौँ त आफूविरुद्धको अपराध । 

यस दिन व्रतालु महिलाहरूले नदी, ताल, पोखरीलगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर, तील, चोखो माटो र गोबर लगाई स्नान गर्ने (विशेष गरेर यौनाङ्ग चोख्याउने) र सप्तऋषिको पूजा गर्ने चलन छ ।  मानव सृष्टि नारीविना सम्भव छैन र सृष्टिको प्रथम र पुण्य गुण नै नारीहरूको महिनावारी हो । रजस्वाला नारीहरूको गर्भाधान गर्नसक्ने क्षमताको प्रतीक नितान्त प्राकृतिक प्रक्रिया हो ।

जब पाठेघर परिपक्व भएर गर्भाधानका लागि तयार हुन्छ र गर्भाधान गर्न नपाएको खण्डमा पाठेघरको भित्री तह (डिम्बहरू) निष्काशित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वाला हो । यो कुनै दोष होइन बरु एउटा विशेष क्षमता र सृष्टिको कारक हो । 

सामान्य अर्थमा बुझ्दा सती प्रथाका नाममा जिउँदै चितामा जलेर आफ्नो देह भष्म गर्नुपर्ने बाध्यताबाट नेपाली महिलाहरूले उन्मुक्ति पाए पनि महिला हिंसाको अर्को रूप छाउपडी प्रथा (महिनावारी बार्ने) हो । यही प्रथाको उन्मूलन गर्नकै लागि विगत लामो समयदेखि सक्रिय छिन् सामाजिक अभियान्ता राधा पौडेल ।

को हुन् राधा पौडेल ?

महिनावारी बार्ने चलनविरुद्धको अभियानमा विगत १५ वर्षदेखि सक्रिय राधा पौडेल एक नर्सका साथै सामाजिक अभियान्ता हुन् । महिनावारीलाई पापसँग जोडिने कूसंस्कारले गर्दा महिलाहरू कमजोर मात्रै होइन आफैैले आफैलाई चरम हिंसा गर्न बाध्य बनेको छर्लङ्ग देखेकी उनी यस्तो प्रथाको अन्त्य गर्न जुटेकी छिन् ।

राधाको विचारमा धर्म, संस्कृति अनि परम्परा मान्नुपर्छ तर जायज छन् भने मात्र । उनी भन्छिन्, ‘परम्परा मान्ने भन्दैमा आफैले आफैलाई हिंसा गर्नु मानव जातिले सुहाउँदैन ।’

महिनावारीसम्बन्धी घरपरिवार अनि समाजमा देखिएको अनौठो अभ्यासलाई ७ वर्षको उमेरदेखि महसुस गर्न थालेकी राधाले ९ वर्षको उमेरमा केटी भनेको त अर्कै जाति रहेछ भन्ने महसुस गरी निकै पीडाबोध भएको अनुभव बताइन् ।

उनले त्यो पीडालाई आत्महत्यासम्म पनि नपुर्याएकी होइनन् तर बाल मनोविज्ञान क्षणमा परिवर्तन हुन सक्ने भएर होला आज राधा जिउँदो छिन्, जो समाज परिवर्तनको बाटोमा छ । १४ वर्षको हुुँदा पहिलो पटक महिनावारी भएकी राधाले नबार्ने निर्णय गरेर घर छाडिन् ।

उनले आजको दिनसम्म महिनावारी बार्ने र क्षमा पूजा लगाउने कार्य गरेकी छैनन् । भन्छिन्, ‘यो प्राकृृतिक नियम हो । हाम्रो शरीरको शुद्ध रगत बाहिरिएको हो, यो सबै बझ्दा बुझ्दै किन बार्ने ?’ महिनावारी बार्ने चलनविरुद्ध उभिएकी राधाले थुप्रै उतारचढावको सामना गरिन् ।

उनले आफ्नी आमा स्वर्गीय हुँदा भाइसँगै आफूले कर्म गरिन् । त्यसबखत उनी महिनावारी भएकी थिइन्, भन्छिन्– यस्तो प्राकृतिक नियमलाई धर्मसँग जोड्नु घातक हुनेछ र यो लडाइँमा एक्लै भएपनि उभिने अठोट लिएकी छिन् । 

महिनावारी बार्ने चलनले शिक्षा, स्वास्थ्य अनि विकासमा कसरी असर गर्छ भन्ने विषयमा पीएचडी गर्दै गरेकी राधाले २०५१ सालमा पोखरा नर्सिङ क्याम्पसबाट स्टाफ नर्सको पढाइ गरेकी थिइन् । उनले जीवनको आधाभन्दा बढी समय दुर्गम जिल्लामा बिताएकी छिन् ।

कहिले नर्स बनेर त कहिले सामाजिक अभियन्ता बनेर दूरदराजसम्म पुगेकी उनलाई कर्णाली, तराईका पिछडिएका जिल्लाहरूको असाध्यै माया लाग्छ । दैलेखमा छाउपडीमा बस्दा सर्पले टोकेर दुई किशोरीको ज्यान गएको खबरले असाध्यै पोलेको थियो राधालाई । राधाले उक्त क्षेत्रमा गएर अध्ययन अनुसन्धान गरी जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएकी छिन् । 

यस्ता रुढीवादी संस्कारको अन्त्यको बाटोमा सक्रिय पौडेलले २०५८ सालमा महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बीएन गरिन्, त्यसैगरी त्रिभुवन युनिभर्सिटीबाट स्वास्थ्य विषयमा एमएड गरेकी राधाले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा एमए पनि गरिन् । यतिले मात्र उनको अध्ययन सकिएन र फिलिपिन्सबाट एमडीएम पनि गरिन् । उनले महिनावारी बार्ने नाममा धेरैले ज्यान गुमाएको र विभिन्न रोगको शिकार भएको देखेकी छिन् ।

महिनावारीको नाममा हुने विभेदलाई नजिकबाट नियालेकि उनी भन्छिन्, ‘त्यो अवस्थामा महिला मानव होइन, कुनै पशु हो र उसलाई गोठमा परालमाथि राखिन्छ । कसरी गर्न सक्छ मानिसले मानिसमाथि यस्तो व्यवहार यो पनि कुनै संस्कार हो ? राज्यले किन ध्यान दिँदैन यस्ता विषयमा ? यो त मानव अधिकार विरोधी कार्य हो र एक जघन्य अपराध ।’ पश्चिम नेपालमा व्याप्त छाउपडीको नाममा हुने यस्ता विभेदविरुद्ध यही क्षेत्रमा केही गर्ने र यस्तो कुप्रथाको उन्मूलन गर्ने अठोटसहित लडिरहेकी छिन् राधा ।

उनी यसलाई छाउपडी भनेर व्याख्या गर्नुभन्दा पनि महिनावारी बार्ने अभ्यास भनेर बुझ्नुपर्ने तर्क गर्छिन् । किनकि यो अभ्यास त विदेशमा बस्ने नेपालीले पनि गरिरहेका छन्, सहरमा बस्ने नेपालीले पनि गरिरहेका छन् । राधाले महिनावारी बारे थुप्रै अध्ययन अनुसन्धान पनि गरेकी छिन् ।

खलङ्गामा हमला किताबबाट मदन पुरस्कार जित्न सफल राधाले महिनावारीसम्बन्धी पुस्तक ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ प्रकाशन गरिसकेकी छन् भने यसै विषयमा आधारित अन्य पुस्तक पनि निकाल्दै छिन् । 

महिला हिंसा विरोधी अभियानको सुरु

सन् १९७९ मा यूएनले महिला विरुद्ध हुने सवैखालका भेदभाव विरुद्धको महासन्धी (सि डअ)को घोषणा गर्यो भने नेपालमा सन् १९९१ आएर यो सन्धी अनुमोदन भयो । हरेक चार वर्षमा यूएनमा नेपाल सरकारले रिपोर्ट पठाउने गर्छ । नागरिक समाजले पनि यसमा रिपोर्ट पठाउँछ । राधा पनि नागरिक समाजमा आबद्ध भएर काम गरेकी छिन् ।

उनले सि डअ  कमिटीको जेनेभा हेड दलिया लरेनेटलाई अनलाइन हस्ताक्षर अभियान सञ्चालन गरेर पठाएकी छिन् । जसमा संसारभरिका मानिस सहभागी भएका छन् । यो प्रथा नेपालमा मात्र होइन, साउथ एसियाका प्रायः सबै देशमा विद्यमान छ ।

साथै अफ्रिका, केन्या, युगान्डा, पाकिस्तान, बाङ्गलादेश, तान्जानियालगायतका देशमा पनि यो प्रथा भेटिन्छ । त्यसैगरी युरोप अमेरिकामा पनि केही मात्रामा महिनावारी बार्ने चलन पाइन्छ । अन्य देशमा भने हामीकहाँ जस्तो अन्धविश्वाससँग जोडिएर यो प्रथालाई लिइन्न । 

विश्वको मानव अधिकारको इतिहास हेर्ने हो भने महिनावारीको विषयले कहिल्यै स्थान पाएको देखिँदैन । मेडिकल साइन्सको इतिहासले पनि मुटु, कलेजो, फोक्सो, ब्रेनलगायतका अङ्गको मात्र कुरा गर्यो भने महिलाको पाठेघरको कुरा गरेन । अहिले मानव अधिकार, साइन्सको क्षेत्रमा महिलाहरू अगाडि आए । यसले गर्दा धेरै पछि मात्र महिलाको पाठेघरको विषयले ठाउँ पाएको छ । 

नेपालको दिगो विकासको लक्ष्यमा रहेका १७ वटा बुँदामा पनि यो विषयले ठाउँ पाएको छैन । यूएनले भने २०१४ मा आएर यो विषयमा कुरा उठाएको छ । सरसफाइमा जोड दिए पनि महिनावारी बार्ने चलनलाई ठाउँ दिएको पाइन्न । संसदमा यो विषयले ठाउँ पाउन थाले पनि उचित सम्बोधन भने भएको छैन ।

नेपालको संविधानको प्रस्तावनामा महिला भएको आधारमा हिंसा गर्न वा विभेद गर्न पाइँदैन भनिएको छ । साथै सम्मानपूर्वक जीवन जिउन पाउने अधिकारको पनि संविधानमा प्रत्याभूत गरिएको छ । जात, भाषा, धर्म अनि लिङ्गको आधारमा हिंसा गर्न वा विभेद गर्न नपाइने कुरा प्रष्टसँग लेखिएको छ ।

संविधानको धारा १६ ले सम्मानपूर्वक जीवन जिउन पाउने अधिकारलाई पनि प्रत्याभूत गरेको छ । जस्तो खाना, शिक्षा, स्वास्थ्य, आवास, वातावरण, समानता, सहभागितको अधिकारलगायतका महिनावारीसँग सम्बन्धित १० वटा अधिकार संविधानमै सम्बोधन भएका छन् । 

यहाँ ‘राइट टु च्वाइस’को कुराहरू पनि आउन सक्छ । तर राधा भन्छिन, ‘मैले के गर्ने वा नगर्ने भन्ने सिद्धान्तत महिलाको हातमा भए पनि महिला आफै चुकेको देखिन्छ । कतिपय कुरा जान्दा जान्दै गर्नु भनेको आफैमाथिको हिंसा हो । जसको अन्त्य गर्नु असम्भव प्रायः हुन्छ । महिनावारीलाई पापसँग जोड्नु मानव अधिकार र प्रजनन अधिकारसँग पनि सम्बन्धित हुन्छ ।’

सत्यमा आधारित पैरवी

महिनावारी कुनै पाप होइन यो नियमित हुने प्राकृतिक प्रकृया हो भन्दै सरकारी तवरबाट पनि केही कामको सुरुवात भएका छन् । सरकारले गत जेठबाट महिनावारी दिवस मनाउन थालेको छ । उक्त दिवस खानेपानी मन्त्रालयको नेतृत्वमा शुद्ध पानीको व्यवस्थासँगै अभियानको रुपमा आएको छ । 

केही संस्थाहरूले महिनावारीलाई छाउपडी बनाइदिएकोमा दुःख लागको छ राधालाई । भन्छिन्, ‘संस्थाहरूले छाउगोठको चर्चा बढी गरे तर कुसंस्कारको जडको कुरा गरेर सुसूचित पार्ने काम गरेनन् । स्यानिटारी प्याड, प्याम्परको चर्चा गरे तर विभेदको चर्चा गरेनन् ।

मानव अधिकारको हनन् भइरहँदा जडमा टेकेर काम गर्नु अभियानको दायित्व हो ।’ भन्छिन, ‘सत्यमा टेकेर पैरवी गर्नु हाम्रो काम हो ।’ यो लाजको विषय होइन बरु खुलेर बहस अनि छलफल गर्न आवश्यक छ । 

यो काम एक्लैले सम्भव नदेखेर सवैको सहयोगको अपेक्षा गरेकी राधा यो प्रथा उन्मूलन हुने विश्वास छ । अभियानलाई सार्थकता दिन ‘राधा पौडेल फाउन्डेसन’ स्थापना गरी यूएनसम्म यो विषयलाई प्रवेश गराएकी छिन् । उनले महिलामाथि अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय, प्रजनन स्वास्थ्यसम्बन्धी सञ्जाललहरुलगायतका थुप्रै अन्तर्राष्ट्रिय संजालमा यो विषयलाई स्थापित गराइसकेकी छिन् ।

यो विषय मानव अधिकार, स्वास्थ्य अनि सम्मानसँग जोडिएकाले अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न लागिपरेकी छिन् राधा । यस्ता प्रथाले हरेक क्षेत्रमा महिला सहभागितामा कमी आएको अध्ययनले देखाएकाले अन्तर्राष्ट्रिय स्तरमै यो विषय उठाएको उनी बताउँछिन् ।

राज्यबाट भएका पहल

नेपालको संविधानमै महिलामाथि हुने विभेदको बारेमा प्रष्टसँग लेखिएको छ, ‘यदि महिलालाई विभेद, छुवाछूत, हिंसा वा कुनै प्रकारका अमानवीय कार्य गर्नेलाई तीन महिनाको जेल सजाय र जरिवाना ।’  सरकारले पनि यस्ता महिलाविरोधी संस्कारलाई निरुत्साहित गर्नकै लागि ऋषि पञ्चमीको दिन बिदा काटेको छ ।

यस्ता कार्यले गर्दा राधाको आशा पलाएको छ । राज्यले यस्तो विषयलाई स्कुलदेखि नै पाठ्यपुस्तकमा समावेश गरेर लैजान आवश्यक छ । स्कुल, मठ मन्दिर, सभा सम्मेलन लगायतमा जान पाउने कि नपाउने जस्ता कुराहरूलाई सरकारी तवरबाटै सम्बोधन हुनु पनि जरुरी छ ।

राज्यले मर्यादित महिनावारी भन्ने नीति बनाएको छ । यो नीतिको मूल समितिमा बसेर काम गरेकी राधाले पश्चिम नेपाल, चितवन, तराईका जिल्लामा पनि काम गरिरहेकी छिन् । ठाउँ ठाउँमा गएर अनुसन्धान गरेकी राधाले ती स्थानमा अभियान लिएर गएकी छिन्, जहाँ जनचेतनामुलक कार्यक्रम संचालन हुन्छन् ।

कसरी बाँधिन्छन् महिला संस्कारमा

जब एक किशोरी महिनावारी हुन्छे तव परिवारबाट टाढा बस्नु पर्नेे, पूजापाठ, मन्दिर, भान्सा सामुहिक बसाईबाट बञ्चित हुन्छे जसले उसको मनोवललाई कमजोर बनाइदिन्छ । तर छोराहरूमा भने बच्चैदेखि आफू बलवान भएको र कहीँ कतैबाट पनि अवरोध छैन भन्ने मानसिकताको विकास भइरहेको हुन्छ ।

यस्ता संस्कारले गर्दा पनि महिलामा डिफेन्स पावर कमजोर हुन्छ । मानसिक रूपमा महिलालाई बच्चैदेखि कमजोर बनाइएको हुन्छ । तर पुरुषलाई बच्चैदेखि कहीँ कतै बन्देज हुँदैन भान्सा, पूजा कोठा, स्कुल, परिवारका सदस्य । 

पुरुष सामाजिक, जैविक अनि शारीरिक कुनै पनि रूपमा समस्या छैन भन्ने भावनाबाट विकास भएको हुन्छ । जसले उसलाई आपराधिक क्रियाकलापमा लाग्न प्रेरित गरिरहेको हुन्छ । यस्तै संस्कारले पुरुषहरूलाई बलात्कार जस्ता जघन्य अपराध गर्न पनि प्रेरित गरेको अनुसन्धानले देखाएको छ । 

राधाको विचारमा यसरी महिलालाई बच्चाबाटै कमजोर भएको महसुुस गराएर आफू शक्तिशाली बन्ने पुरुष प्रधान समाजको चित्रण हो । अझै पनि नेपालका पश्चिमी जिल्लामा महिनावारीको ३ देखि ५ दिनसम्म किशोरीहरू स्कुल जाँदैनन् । 

राधा केटा र केटीको अवस्थालाई केराउ र मरिचसँग तुलना गर्छिन् । केटी मान्छेको जीवन मरिच जस्तो सुक्दै जान्छ तर केटाहरूको जीवन भनेको केराउका दाना जस्तो जति भिजायो उति फुल्दै जाने र बोक्रा नै फाल्ने अवस्थामा पुग्छ । 

के हो रजस्वला (महिनावारी)

यो प्राकृतिक प्रक्रिया हो । केटाहरूको उमेर बढेसँगै दारी जुँगा आए जस्तै महिलाहरूको पनि एउटा उमेर पार गरेपछि परिवर्तन हुने हर्मोनले महिनावारी गराउँछ । यस्तो अवस्थामा पाठेघर पनि परिपक्व भएको बुझाउँछ । 

पाठेघर तीन पत्रले बनेको हुन्छ । जसको भित्री पत्र भने बच्चा बनाउन र वृद्धि गर्न सक्रिय हुन्छ । जब बच्चा बनाउने वातावरण हुँदैन तब भित्री तह च्यातिन्छ । जस्तोः आलु उसिन्दा धेरै समयसम्म पकाउने हो भने आलु फुट्छ । पाठेघरको सवालमा पनि यही लागू हुन्छ । यदि बच्चा आएन भने उक्त पत्र फुट्दा निस्किने रगतनै महिनावारी हो । यो नितान्त शुद्ध रगत हो ।  यसमा पानीको मात्र बढी हुने हुँदा झनै शुद्ध हुन्छ । 

फोहोर रगत गन्हाउने भनिए पनि त्यो गलत हो । यो एकदमै शुद्ध रगत भएको राधा बताउँछिन्, उनी थप्छिन–‘जब महिनावारीबाट निस्किएको रगत अक्सिजनसँग मिल्छ तब मात्र यी दुईबीच मेल हुन नसक्दा गन्ध आउने हो ।’ 

राधाको सुझाव
महिनावारी बार्ने चलनविरुद्धको अभियान्ता राधा पौडेल महिलाहरूलाई ऋषि पञ्चमीमा पाप पखाल्ने भन्दै पूजा गर्नु हुन्छ भने एकदमै गल्ती गर्दै हुनुहुन्छ भन्दै सुझाउँछिन् । उनी भन्छिन्– ‘यो आफैमाथिको हिंसा हो । चाडवाड त परिवार आफन्त भेटघाट, रमाइलो र पारिवारिक मेलका लागि हो । स्मार्ट लाइफ बाँचिरहेका २१औँ शताब्दीका हामीले यस्ता संस्कारको पछि लागेर समय वर्वाद गर्नु उचित हुँदैन ।’ 

प्राकृतिक रूपमा भएको महिनावारीलाई विज्ञानले स्वीकार गरी परिभाषित गरेको छ । महिनावारीको रगत अशुभ वा फोहोर होइन । यो शुद्ध रगत हो । आफ्नो अधिकारलाई आफैले हनन गर्ने प्रवृत्तिको अन्त्य गरौं । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त अधिकारको सम्मान गरौं ।

धर्म संस्कार परम्परा भनेको मानिसले बनाएकाले परिवर्तन गर्न सकिन्छ । तर महिनावारी प्रकृतिले बनाएकाले यसलाई परिवर्तन गर्न सकिँदैन । त्यसैले यदी तपार्इं ऋषि पञ्चमीको पूजा, पाप मोक्ष र क्षमाका लागि गर्नुहुन्छ भने आफ्नो खुट्टामा आफैले बन्चरोे हानिराख्नु भएको छ ।

टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ