मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

१५ अर्बभन्दा बढी लगानी भएको धागो उद्योग बजार नपाउँदा संकटमा

शुक्रबार, २९ भदौ २०७५, १५ : ४५
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– पछिल्लो समय कार्पेटलाई पछि पार्दै नेपाली धागोको निर्यात सबैभन्दा बढी छ । गतवर्ष ८ अर्ब ४२ करोड रुपैयाँको धागो निर्यात भएको व्यापार निकासी प्रबद्र्धन बोर्डको तथ्याँकमा छ ।

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा धागो अग्रस्थानमा रहेको व्यापार निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । नेपाली धागोको बजार भारत र टर्कीमात्र हो । 

व्यापार निकासी तथा प्रबद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले धागोको बजारीकरणको अभावमा धागो उद्योगहरुले आफ्नो क्षमताभन्दा कम धागो उत्पादन गर्नुपरेको बताए ।

विश्वबजारमा नेपाली धागोको हिस्सा १.३ प्रतिशत मात्र हो । नेपाली धागो विश्वमा चौधौ स्थानमा छ । 

नेपालमा हाल ४ वटा धागो उद्योग छन् । धागो उत्पादक संघका सचिव उत्तम गौतमले अहिले नेपाली धागो उत्पादन उद्योगले बार्षिक ४० हजार मेट्रिक टन मात्र धागो उत्पादन गर्ने गरेको बताए । उनका अनुसार ती उद्योगहरुले उत्पादन गर्न सक्ने क्षमताभन्दा आधा कम हो ।

धागोले उचित बजार नपाउँदा आफुहरुले क्षमता भन्दा कम उत्पादन गर्ने गरेको गुनासो गरे । नेपाली धागोको नेपालमा १० हजार टनभन्दा बढी खपत हुन नसक्ने अवस्था रहेको बताउँदै उनले नेपाली कपडा उद्योग फस्टाउन नसक्दा धागोले बजार नपाएको उल्लेख गरे । 

व्यापार निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले व्यापार घाटाको भयावह स्थितिलाई केही मात्रामा भएपनि कम गर्न धागोको बजारीकरणमा ध्यान दिनुपर्ने बताए । 

धागो उद्योग संकटमा पर्न थालेपछि सरकार र व्यवसायी ताते, अन्तर्राष्ट्रिय मेलामा भाग लिन जाँदै  निर्यातमा अग्रस्थानमा रहेको धागो उद्योग बजार नपाएर संकटमा पर्न थालेपछि व्यवसायी र सरकार दुबै तातेका छन् ।

सरकार, व्यापार निकासी प्रबद्र्धन केन्द्र र धागो उत्पादक संघको पहलमा नेपालका धागो कम्पनीका प्रतिनिधि अन्तर्राष्ट्रिय बजारमा भाग लिन जाने भएका छन् ।

यहि सेप्टेम्बर २६ र २७ तारिखमा इटालीको मिलानमा हुने फिलो यान सम्मेलनमा नेपालको धागो उद्योगहरुले पनि सहभागिता जनाउने छन् ।

नेपालबाट सबैभन्दा बढी निर्यात हुने धागोको बजारीकरणको लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेको व्यापार निकासी तथा प्रबद्र्धन केन्द्रले जनाएको छ ।

विश्वका ८५ राष्ट्रको सहभागी हुने सो मेलामा नेपालबाट ३ वटा उद्योगले सहभागिता जनाउनेछन् ।  रिलायन्स स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्सले नेपालको धागोका बारेमा अन्तर्राष्ट्रिय व्यापारी तथा व्यवसायीलाई जानकारी गराउनेछन् । नेपालले बिजनेस टु बिजनेस (बि टु बी) मिटिङ पनि गर्नेछ । यसले निर्यात बढाउन मदत गर्ने कार्यकारी निर्देशक शरदबिक्रम राणाले बताए ।

 यसका लागि सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । मेलामा भाग लिन जाँदा नपुग अरु रकम भने व्यवसायी आफैले  बेहोर्नुपर्नेछ ।

नेपालमा उत्पादन हुने कुल धागोको ५५ प्रतिशत टर्कीमा र  ४५ प्रतिशत भारतमा निर्यात हुँदै आएको छ । नेपाली टोली अरु देशमा पनि धागो निर्यात गर्ने उदेश्यले नेपालको धागोबारे बुझाउन सो मेलामा भाग लिन जान लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप