बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली

शुक्रबार, २९ भदौ २०७५, १२ : ४०
शुक्रबार, २९ भदौ २०७५

मुस्ताङ– बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । 

सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । 

दर्जनौं ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक खण्डको धेरै ठाउँमा अवरुद्ध भएकोे छ । 

छयत्तर किलोमिटरको उक्त सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तीन दिनसम्म लागेको स्थानीयबासीको गुनासो छ । यसैबीच सडक अवरुद्ध बनेपछि अलपत्र बनेका भारतीय तीर्थयात्रीलाई बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ । 

प्रभु एयरको हेलिकप्टरले दानादेखि बेनी ल्याएर करीब एक सय भारतीय तीर्थयात्रीको उद्धार गरेकोे दानाबाट स्थानीयवासी इन्द्रसिङ शेरचनले जानकारी दिए । मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या भएकाले कृषक निराश बनेका छन् । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि ल्याइएका डोजर परिचालन गरेर सडक मर्मतको काम गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले केही दिनलाग्ने आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए । पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको छ भने बेलिब्रिज कटानको जोखिममा परेको छ । 

कुन्जोमा स्वास्थचौकी तथा आमा समूहको भवन पूर्णरूपमा क्षति पुगेको छ । थासाङ गाउँपालिका–२ सौरुमा बाढीले दश घरमा क्षति पुर्याएको  गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए । पहिरो पन्छाएर सडक मर्मत र पहिरो प्रभावितको व्यवस्थापनका लागि पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप