केन्द्रीय संस्करण

ओली सरकारलाई आफ्नैबाट बचाउ प्रभु  !

person access_timeभदौ २९, २०७५ chat_bubble_outline0

     
भोल्टेयरले म आफ्ना प्रतिद्वन्द्वीसित एक्लै सामना गर्न सक्छु तर दया गरेर आफन्तहरूबाटै बचाउनु होला प्रभु भनेका थिए । 

यस्तै अवस्था दुई तिहाईको कम्युनिस्ट पार्टीको केपी शर्मा ओलीको देखिन थालेको छ । विरोधी त अनेक आफै धामी र आफै झाँक्रीझैँ हरकत, तागत र प्रोपगन्डाका साथ ओली सरकारका पालामा पहिले कहिल्यै पनि नभएको चरम विकृति व्याप्त भएको प्रायोजित प्रचार गर्छ र गराउँछ । यसको लहरो दूरदेशसम्म फैलिएको हुनसक्छ । नेकपाका नेता र कार्यकर्ताहरू आफन्त त हुन् तर तीनमध्ये कतिपय सरकारविरुद्ध प्रत्यक्ष परोक्ष रूपमा लागिपरेकै छन् । 

तीबाहेक  गणेश भगवानका अगाडि पछाडि फनफनी  कुमारझैँ काम न काजसित प्रदक्षिणा गर्ने चरम अवसरावादीहरू  पनि आफन्तमै पर्छन् तर ती बेतका लौरी हुन् अभर परेका बेला तिनको कुनै भरका  हुँदैनन् । सत्ता र सरकारका पछिपछि भन्किने झिँगाहरू ज्हिले तहिले हुन्छन् । अहिले पनि होलान् । 

विगतमा ओली व्यक्तित्वलाई खुइल्याउनेले अहिले ओलीको जी, हजुरी गरेर प्रज्ञाप्रतिष्ठानको गजुर ताक्दैछन् । 

भाद्र २८ गते एक अनलाइन खबर पत्रिकामा अमृत बोहराले नेकपामा कमिटी प्रणाली समाप्त हुँदैछ भनेर ओली लक्षित आलोचनाको खुलासा गरे । बोहराका सामु उनकै जिल्लामा विगतमा सिकिस्त ओलीलाई लक्षित गरी आज हो कि भोलि भन्ने दुष्प्रचार गरिएको थियो । बोहराको आपत्ति  अनुशासन आयोगलाई बलशाली नबनाएकोमा  रहेछ । तर बोहराले यो अन्तरिम विधान हो र पार्टी नै अन्तरिम अवस्थामा सञ्चालित छ भन्ने कुरा नबुझी अँध्यारामा झट्टी हानेको देखिन्छ । टप टु बटम पार्टी एकताबद्ध नहुँदासम्मको यो परिस्थति हो भन्ने कुरासम्म नबुझेर पत्रकारको उचालमा यस खालको जग हँसाउने काम अमृतलाई अलि सुहाएन । अर्कातिर नेपाल समूहमा चरम अवसरवादी दुई अतिवादी व्यक्ति नेताका टकरावको अपजस ओलीमाथि बर्साउन थालेको देखिन्छ ।

झलनाथ खनाल रिसको झोँक फेर्ने निहुँमा देखिन्छन् । यसरी नै प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनलगायत अधिकार सङ्घले प्रदेशलाई दिन कन्जुस्याइँ गरेको विषयमा विचार र कार्यक्रम गरेको समाचारमा आयो । तर यस खालको अभ्यास हतारमा गर्दा २ नं प्रदेशले यसको चरम दुरूपयोग कतिसम्म गर्लान् भन्ने सुब्बाले सोचेका छन् ? सङ्घ र सात प्रदेशको आधारभूत भौतिक तथा राजकीय कामको तमाम प्रवन्ध छोटो अवधिमा गर्नु यो सरकारको काम होइन ? यति हुँदाहुँदै पनि सङ्घ प्रदेशबाट यथा समयमा पठाउनुपर्ने कतिपय निमय कनुन र कर्मचारी व्यवस्थापनमा समस्या होला तर सङ्घीयताको कार्यान्वयन क्रमशः हुँदै जाने कुरा हो । यसका लागि एउटा छुट्टै संयन्त्र संविधानमा नै किटानी व्यवस्था गरिएको छ । जसले आपसी असमझदारी र अड्काउ हटाउने नै छ । यस  अनुसार बैठकको प्रतीक्षा नगरी बोल्न मिल्दैन । तर अहिले नै  हतारमा संवेदनशील विषय, क्षेत्र र अधिकारको जिम्मा प्रदेशलाई दिन हुन्छ कि हुँदैन सोच्नुपर्छ । 

पार्टीको अमुक पदमा बसेर मातहत कार्यकर्ता र नेताहरूलाई एक खालको हुकुमी शासन जस्तो चलाएका अधिकांश नेकपा नेता र कार्यकर्ता जो  अहिले सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारीहरू विराजमान छन् ती  सङ्घ, प्रदेश र स्थानीय तहको राजकीय अनुभवका दृष्टिले प्रायः निख्लाम छन् ।

तिनमध्ये  कतिपयलाई अभिभाषणका र संवादका विभिन्न बाना, बान्की र बेहोरा हुन्छन् भन्ने पनि थाहा छैन । कति त बोल्न नजानेर अलोकप्रिय र अपदस्थ भएका छन् ।

 अर्कातिर भरतमोहन अधिकारी जस्ता ज्येष्ठ नेता ओली सरकारविरुद्ध आफ्नै कान नछामी कागका पछि दगुरेझैँ सतही आलेख लेखेर दुनियाँ हँसाइरहेका छन् ।  

 कार्लमक्र्सको द्विशतवार्षिकीका समारोहका राष्ट्रिय संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले यही भाद्र २३ गते मणिग्राम, रूपन्देहीमा जिल्लास्तरीय प्रशिक्षण नामको कार्यक्रममा ओली सरकारविरुद्ध आफ्नो भँडास पोखे । 

प्रशिक्षणमा ६ महिने ओली सरकारले खास काम नगरेको भन्ने  अतिरञ्जित विचारबाट नयाँ पुस्तालाई  शिक्षित, प्रशिक्षित र दीक्षित गर्न चाहेको प्रकाशित  समाचारबाट बुझियो  । 

एक अनलाइन खबर पत्रिकाका स्थानीय संवाददाता टोपराज शर्माका अनुसार भुसालले प्रतिक्रान्तिका विरुद्ध माक्सवाद ज्युँदैछ भन्ने देखाउन यस्तो अभियान सञ्चालन गर्नुपरेको बताएका छन् । 

दुईतिहाईको बाम सरकारले देश र जनताका सवालमा दीर्घ कालीन, तत्कालीन र अल्पकालीन काम गर्न लागि रहेको यो अवस्था प्रतिक्रान्ति हो र ? यो छुट्याउने जिम्मा  विज्ञ पाठकको भयो ।    

 एक समय भुसालका वैचारिक गठबन्धनका लेखक मुमाराम खनालले भुसालका यस खालका देखाउन र पार्टीभित्र आफ्नो नितान्त व्यक्तिगत पदीय बार्गेनिङ गर्न गरेको  वैचारिक र बौद्धिक गतिविधिको पहिले नै पोल खोलिसकेका छन् ।  

 भारत नेपालका बीच जटिल बन्दै गएको सम्बन्ध सुधार गर्नु र विगत सरकारका तुुलनामा र सापेक्षतामा देश र जनताका लागि दूरगामी उल्लेखनीय कामको सुरुवात भएकै छ । 

पूर्वसभासद् लालबाबु यादवले अनेक प्रतिकूलताका अतिरिक्त ओली सरकारका विकास निर्माणका कामलाई आँपको खेती लगाउनु जस्तो तत्काल नभए पनि केही समय र कालपछि दीर्घ र  स्पष्ट प्रतिफल दिने काममा लागिपरेको बताएका छन् भने नेता मणि थापाले प्रतिक्रियावादीहरू एक खाल्डोलाई तीन खाल्टो भनेर बाम सरकारविरुद्ध ज्यान फालेर लागेको बताउँछन् 

तर  भुसाल नै विपक्षीलाई माथ गर्ने गरी सरकारविरुद्ध आइलागेपछि देख्नेलाई पो लाज हुनथालेको छ । 

नकारागुवामा लोकप्रिय मतबाट विजयी बनेका बाम नेता राष्ट्रपति डेनियल ओर्टेगाविरुद्ध अमेरिकी लगायत प्रतिक्रियावादी त लागेलागे त्यसका विरुद्ध चर्चवाला र केही बामपन्थीसमेत निरन्तर विरुद्धमा लागेका छन् ।  

भुसालले सरकार समाजवाद उन्मुख नदेखिएको, नेतृत्वको रूपान्तरण नभए सरकार धरापमा पर्न सक्ने बताएका छन् । भुसालका यी सबै कुरा छमहिनाको बालकले वेद किन पढ्दैन  भन्नु जस्तै हो ।
  व्यक्तिका लागि छ महिना धेरै हुनसक्ला तर देशका लागि छ महिना छपलको समय हो । 

त्यसमा पनि बाम सरकार आउँछ भन्ने निश्चित भएपछि विगत सरकारले अरू त अरू देशको ढिकुटी टाट पारेको हुँदा ओली सरकारले श्वेतपत्र जारी गर्नुपरेको वास्तविकता अर्थविद् भनेर चिनिएका भुसाललाई राम्ररी थाहा हुनुपर्ने कुरा हो । 

हुँदाहुँदा भुसाल विपक्षीले भन्दा जोडले ओली सरकारलाई दुईतिहाईको घमण्ड नगर्न च्यालेन्ज पो गर्दैछन् । 

म आफैँ ओलीको बहुआयामिक प्रचुर प्रतिभा, आल्हादकारी प्रभावशाली अभिव्यक्ति तथा विपरीत तत्वलाई समेत आकर्षित गर्ने चुम्बकीय शक्ति र क्षमता देखेर तीनचित बनेको छु । 

विरोधीहरू समेत हर्दम ओलीलाई निर्निमिष पछ्याइरहेका हुन्छन् । कट्टर विरोधीसमेत ओलीको बोली र कामदेखि कयलकाबु बनेका छन् । विपक्षी दलले यतिको प्रतिभाशाली नेता पाएको भए तिनले पार्टीको संस्थागत तागत कति बलियो बनाउँथे होला ।   

काठमाडौँमा बिमिस्टेकमा ओलीको प्रस्तुति सार र रूप सौन्दर्यसहितको  धुवाँधार प्रस्तुति  अद्भूत थियो । 

 भुसालको  यो सरकार विरोध एउटा प्रायोजित प्रपोगन्डा हो । यो डप्फा पार्टीको कुनै न कुनै गुटसित सम्बन्धित छ र यो काम सुविचारित सुनियोजित रूपमा परिचालन गरिएको प्रारम्भिक सङ्केतबाट बुझिन्छ । 
यो महारोगको डाइगोनोसिस गर्न अब धेरै समय लाग्ने छैन । बरु यसको प्रायोजनको लहरो कति लामो छ भनेर चाहिँ खोज्नुपर्ने भएको छ । 

विपक्षीले अधिनायकवादको कुरा उछाल्नु र भुसालले दुईतिहाईको दम्भ नदेखाउन ओली सरकारलाई औँला ठड्याउनु संयोग मात्रै हुन सक्तैन । 

प्रायोजित र प्राकृत  कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वलाई कामका आधारमा  नै छुट्याउन सकिन्छ । 

भुसालसितै लगन गाँठो कसेका अर्का नेता राम कार्कीले वर्तमान सरकारका गतिविधि हेरेर आफूलाई कम्युनिस्ट हुँ भन्न पनि लाज लागेको बताएछन् ।

 आफै मन्त्री हुँदा र ठूलाठूला अवसर पाउँदा  कत्ति लाज नलाग्ने कार्कीले अहिले लाज लागेको भनेको सुन्दा सुन्नेलाई नै सरम लाग्छ ।  

कार्की कुन कुन मन्त्रीका के कस्ता राम्रा र नराम्रा काम र गतिविधि छन् भने भन्न सक्तैैनन् । शिक्षा मन्त्रीले निजी सचिवालय भन्दै दर्जन जति गरेको नियुक्ति बारे एक अक्षर लेख्तैनन् तर अँध्यारामा भने सदा झिँगे झटारो हानि रहन्छन् । 

कतिपय नेताको स्तरहीन नितान्त निजी निकृष्ट अवसरवादी अभिव्यक्तिबाट तिनको बेहोरा खुलस्त हुन्छ । यिनलाई विकास सम्बन्धी निषेधको निषेध नियमबारे जानकारी गराउनुपर्ने देखियो । विकास त अनवरत रूपमा चलिरहने प्रक्रिया हो ।

 विगत सत्ता र सरकारले गर्न थालेका, सुरु गरेका तर बिगार गरेका तथा भत्कोसमा पारेका काम पनि यस सरकारका थाप्लामा आउँछन् । कतिपय कुरा हिजोका सरकारले सबै प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्न मात्र बाँकी काम पनि हुन्छन् । 

एउटा समय र कालखण्ड नपर्खिई नितान्त नौलो तथ नवीन काम तत्काल गर्ने परिस्थिति बन्दैन । अब यो ०७५, ०७६ को आर्थिक वर्षदेखि यस सरकारको कामको गन्ती गर्दा हुन्छ ।

 तर यसो गर्ने पक्षमा भुसालहरू तयार देखिँदैनन् । भुसाल र राम कार्कीहरूलाई नेपालमा बामपन्थी सरकार बलियो होला, यसले लामो समयसम्म देश र जनताको सेवाका खातिर काम गर्ला भन्ने विश्वासको कमी देखिएको हुँदा आजै र अहिले नै जो हात सो साथ गर्न नपाउँदाको रडाको हो । 

भातका भकारीलाई आँखा अगाडि चौरासी व्यञ्जन देखेपछि दाम्लो चुडाउन मन लाग्छ तर भविष्यद्रष्टाहरू यसरी भातका लागि मरिहत्ते गर्दैनन् । 

यस खालका झिना मसिना तर समय क्रममा झाँगिँदै जाने असन्तुष्टि एकीकरण पार्टीको राष्ट्रव्यापी  सङ्गठन सुदृढीकरण अभियान सित्तै सरकारका कामहरूको प्रचार पनि सँगै लैजान सकियो भने समस्या सुल्झिन्छ । 

आखिरमा जनताको सरकार र सत्ता जनताले नै जोगाउने हो । त्यसमाथि पनि  सत्ता पक्षको यस्तो भुत्ते प्रचारात्मक शैलीले जनताको मनोबल उठ्तैन ।

 छ महिने सरकारले के चाहिँ गर्न सक्छ ? विगतका ६ महिने सरकारहरूले के–के गरेका थिए  ? भनेर आम जनतालाई उत्साहित गर्ने गरी प्रचार नै भएको देखिन्न । 

सरकारले अनुगमनमाथि पनि अनुगमन जस्तो प्रावधान राखेर देश, जनता र जनजीविकाका खातिर राम्रा कामहरू गर्न प्रतिबद्ध देखिन्छ । यसो हुँदा बर्खे झरीका पानीका फोकासरह प्रयाजित दुष्प्रचारका पानीका फोकाहरू फुट्नेछन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ