बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नेपालमा लगानी गर्न चाहन्छौँ, सरकारको सहयोग चाहिन्छ’

शुक्रबार, २९ भदौ २०७५, ०८ : ३२
शुक्रबार, २९ भदौ २०७५

विश्वका १३ मुलुकमा विस्तार रहेको इन्टरनेसनल फेडरेसन अफ यादव चेम्बर अफ कमर्सले नेपालमा दुई दिने इन्डो–नेपाल बिजनेस समिट २०१८ सम्पन्न गरेको छ । भदौ २१ र २२ गते गरी दुई दिन चलेको सो सम्मेलनमा भारतका उद्योगपतिहरूले अर्बौं रुपियाँको लगानी घोषणा गरे । शिक्षा, स्वास्थ्य, कृषि, चिनीलगायतको क्षेत्रमा लगानी गर्ने भनी घोषणा मात्र गरेनन्, नेपाल सरकारले साथ दियो भने ६ महिनाभित्र त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए । प्रस्तुत छसम्मेलनका लागि नेपाल आएका इन्टरनेसनल फेडरेसन अफ यादव चेम्बर अफ कमर्सका अध्यक्ष सुदेश यादवसँग रातोपाटीका लागि गरिएको कुराकानीका मुख्य अंशः

दुई दिनसम्म इन्डो–नेपाल बिजनेस समिट २०१८ सम्पन्न गरेर तपाईं जाँदै हुनुहुन्छ, के सन्देश लिएर भारत फर्किंदै हुनुहुन्छ ?
–इन्टरनेसनल फेडरेसन अफ यादव चेम्बर अफ कमर्सको तर्फबाट यहाँ दुई दिनसम्म हामीले समिटको आयोजना गरी कार्यक्रम सम्पन्न गर्यौं । यसमा दुई देशको उद्योगपतिहरूको सहभागिता थियो । दुई देशको आर्थिक समृद्धिका लागि एकअर्कालाई सहयोग पुर्याउने हामीले वतावरण तयार गर्यौं । दुई दिनको सम्मेलनमा हामीले एक अर्कालाई बुझ्ने प्रयास गर्यौँ । त्यसमा हामीले नेपालीहरूबाट पाएको सद्भाव र सत्कार अतुलनीय छ । हामी नेपालीहरूबाट यतिका माया र सद्भाव पाउँछौँ भनी कल्पना नै गरेका थिएनौँ । हाम्रो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्न पायौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवको पनि सत्कार पायौं । अर्थात् यो सम्मेलन आर्थिक रूपमा, समाजिक रूपमा, सांस्कृतिक रूपमा सफल भएको हामीले ठहर गर्यौं । नेपाल भारतबीच आर्थिक रूपमा एक अर्कालाई सहयोग पुर्याएर आगाडि बढ्नुपर्छ भनी सन्देश लिएर हामी फर्किंदैछौँ । 

नेपाल आर्थिक समृद्धिको पथमा हिँडिसकेको छ, यस सम्मेलनबाट त्यसमा केही सहयोग पुग्ला र ?
–हामीले पूर्ण विश्वास लिएका छौं र सम्मेलनको उद्देश्य नै त्यही थियो । हामी नेपालको आर्थिक समृद्धिका लागि केही गर्न चाहेको उद्देश्यले नै हामी यहाँ सम्मेलन गर्न आएका थियौं । हामीलाई कसैले बोलाएको थिएन । नेपालमा हामी केही गर्न सक्छौँ भन्ने उद्देश्यले नेपालमा आएर यहाँका उद्योगी र व्यवसायीसँग छलफल गर्यौं । विश्वमा नेपाल पनि एउटा निकै सम्भावना भएको देश हो । यहाँ पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा निकै सम्भावना रहेको छ । हामीले यी क्षेत्रहरूमा लगानी गर्ने मनासय बनाइसकेका छौं । स्वास्थ्य क्षेत्रमा लगानीको घोषणा पनि भएको छ । हामीले त्यसको प्रोपोजल प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका पनि छौं । अरू अरू क्षेत्रमा पनि लगानी गर्नका लागि हामी भारतीय उद्योगीहरू आतुर छौं ।

नेपाल आर्थिक समृद्धिका लागि आगाडि बढिरहेको छ, त्यसमा भारत सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । तपाईंहरूले जुन लगानीको घोषणा गर्नुभयो, त्यो भारत सरकारको माध्यमबाट आउँछ कि तपाईंहरू आफै डाइरेक्ट लगानी गर्नुहुन्छ ?
–अहिले हामीले लगानीको घोषणा गरेका छौँ, त्यसका लागि भारत सरकारको यसमा कुनै संलग्नता छैन । हाम्रो यो इन्टरनेसनल फेडरेसन अफ यादव चेम्बर अफ कमर्सले नै नेदरल्यान्डको सरकारबाट सहयोग लिएर नेपाललाई सहयोग गर्न लागेको हो । जुन १२५ मिलियन युरो अर्थात १२ सय ५० करोड नेपाली रहेको छ । त्यसको प्रोपोजल प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा दिएको छु । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई आगाडि बढाउनुहुन्छ भन्ने हामीलाई विश्वास छ । त्यसबाहेक अन्य अन्य निजी क्षेत्रको स्तरमा पनि लगानीको घोषणा भएको छ । चाँडै नै यसको कार्यान्वयन हुनेछ । 

पछिल्लो समय भारतको आर्थिक वृद्धि तल झर्दै गएको रिपोर्टहरू आइरहेको छ, यस अवस्थामा तपाईंहरू त्यहाँको लगानीमा वृद्धि नगरी नेपाललाई नै किन रोज्नुभयो ?
–नेपाललाई भारतभन्दा हामीले टाढा मान्दैनाँै । यो हाम्रो घर जस्तै हो । हामीलाई त नेपालमा लगानी गर्नु भनेको भारतमा लगानी गरेको जस्तो लाग्छ । हामीले भारतमा लगानी गरेकै छौँ । नेपालमा पनि गरौँ भनेर आएका हौँ । हामीले यहाँ लगानी गर्यौं भने भारतमा नै लगानी गरेको जस्तो लाग्छ किनभने हाम्रो भाषा, संस्कृति, रहन सहन सबै मिल्छ । भारतबाट नेपाल टाढा पनि होइन । दिल्लीबाट यहाँ हवाई जहाजमा आउनका लागि सावा घण्टा लाग्छ । खुल्ला बोर्डर भएका कारणले हामीलाई आउन जान पनि समस्या छैन । त्यसले अरू देशभन्दा यहाँ लगानी गर्न सजिलो छ । 

भारतको तर्फबाट यसअघि पनि विभिन्न लगानीको घोषणा नभएको होइन, चाहे त्यो निजी क्षेत्रबाट होस् या सरकारी क्षेत्रबाट । तर कार्यान्वयन पक्ष एकदमै कमजोर देखिन्छ । तपाईंहरू पनि लगानीको घोषणा गर्नुभयो, त्यो कार्यान्वयन हुन्छ भने कुरामा विश्वास कसरी गर्ने ?
–यादव चेम्बर अफ कमर्सको तर्फबाट नेपालमा हामीले यसअघि घोषणा गरेका थिएनौँ । पहिलो पटक लगानीको घोषणा गरेका छौं । हामी के विश्वास दिलाउन चाहन्छौँ भने हामीले जेजति लगानीका लागि घोषण गरेका छौं ती सबै हामी कार्यान्वयनमा ल्याउँछौँ । तर यसमा हामीलाई नेपाल सरकारले कतिको सहयोग गर्छ, त्यसमा पनि भर पर्छ । हामीले घोषणा गरेका लगानी छ महिनाभित्र पूरा गर्छौं । त्यसका लागि हामीमाथि विश्वास गर्नुपर्छ । 

आर्थिक विकासप्रति नेपाली जनता र उद्योगीहरू निकै सचेत देखिएको छ । तर त्यसको वतावरण अझै तयार नभएको उनीहरूको गुनासो छ । नेपाली उद्योगीहरू पनि नेपालमा आफ्नो कारोवार विस्तार गर्न चाहन्छन् तर कता कता के के नमिलेको जस्तो उनीहरूले अनुभव गरिरहेका छन् । यद्यपि विगतको भन्दा नेपालको अवस्था निकै नै सुधार भएको छ ।

कुन कुन क्षेत्रमा लगानी गर्दै हुनुहुुन्छ ?
–एउटा कुरा भनिहालौं । हामीले जेजति लगानी गर्छौं, त्यसमा नाफा लिने उद्देश्य होइन । हामीले यो यादव चेम्बर अफ कमर्सको तर्फबाट लगानी गर्छौं । जुन क्षेत्रमा अभाव, जुन क्षेत्रबाट तल्लो तहका समाजलाई बढी फाइदा हुन्छ । त्यस्ता क्षेत्रमा लगानी गर्छौं । शिक्षा, स्वास्थ्य क्षेत्रमा हाम्रो विशेष ध्यान जानेछ । यही दुइटा क्षेत्र हो जसबाट जनताले प्रत्यक्ष फाइदा लिएका हुन्छन् । हाम्रो लगानी सहरभन्दा बाहिर ग्रामीण क्षेत्रमा हुन्छ । जहाँ रोजगार सिर्जना गर्नुको साथै आर्थिक समृद्धिमा पनि सहयोग पुर्याउनेछ ।

सम्मेलनलाई लिएर तीन चार दिन नेपालमा बस्नुभयो, आर्थिक लगानी र समृद्धिप्रति नेपाली उद्योगपतिहरूको धारणा कस्तो पाउनुभयो ?
–आर्थिक विकासप्रति नेपाली जनता र उद्योगीहरू निकै सचेत देखिएको छ । तर त्यसको वतावरण अझै तयार नभएको उनीहरूको गुनासो छ । नेपाली उद्योगीहरू पनि नेपालमा आफ्नो कारोवार विस्तार गर्न चाहन्छन् तर कता कता के के नमिलेको जस्तो उनीहरूले अनुभव गरिरहेका छन् । यद्यपि विगतको भन्दा नेपालको अवस्था निकै नै सुधार भएको छ । राजनीतिक रूपमा नेपाल लामो समयसम्म सङ्क्रमणको अवस्थामा रह्यो । त्यसबेला आर्थिक अवस्था खस्दै गइरहेको थियो । अब राजनीतिक रूपमा नेपाल शान्तिपूर्ण अवस्थामा आइसकेको छ । संविधान निर्माण गरेर तीनवटै चरणको चुनाव सम्पन्न भइसकेको छ । अबको काम भनेको आर्थिक समृद्धि नै हो भनी नेपाली जनताले बुझिसकेका छन् । 

यो यादव उद्योगपतिहरूको चेम्बर हो, यो चेम्बरले यहाँ काम गर्न थालेपछि तपाईंहरूमाथि जातिवादको आरोप लाग्दैन ?
–हाम्रो यो यादव चेम्बर अफ कमर्स भए पनि हामीले समग्र क्षेत्र, समग्र समुदायका लागि काम गरिरहेका छौँ । यादवको कमर्स भएका कारणले हामीले यादवलाई मात्र हेर्छौं वा यादवको विकासका लागि काम गर्छौं भन्ने होइन । यादव उद्योगपतिहरूको सङ्गठन भए पनि हामीले देश र जनताका लागि काम गरिरहेका छौं । हामी नेपालमा पनि जेजति लगानी गर्छौं त्यो यादवका लागि मात्र होइन, समग्र समुदायका लागि गर्छौं । हामी कतै कारखाना लगाउँछौँ, त्यसमा यादवले मात्र होइन, अन्य समुदायका व्यक्तिले पनि काम पाउँछन् । त्यहाँबाट उत्पादन हुने समान यादवको घरमा मात्र जाँदैन सबैको घरमा जान्छ । त्यही भएर यादवले यादवका लागि मात्र गर्छन् भनी टिप्पणी गर्नु जायज होइन । हाम्रो काम हेरेपछि जातिवाद वा यादववादको आरोप लगाउनै सक्दैनन् । हामीले यादवका लागि मात्र केही गरेको भए त्यो आरोप लगाउनु जायज थियो । 

नेपालमा यादव समुदायका व्यक्तिहरू आन्दोलनमा छन् । राज्यले अधिकार दिएन भनेर वर्षौंदेखि आन्दोलन गर्दै आइरहेका छन्, यस अवस्थामा तपाईंको चेम्बरबाट कस्तो सहयोग हुन्छ ?
–पहिलो कुरा त यो यादव चेम्बर अफ कमर्स राजनीतिकभन्दा निकै टाढा छ । हामीले राजनीतिक गर्न जान्दैनौँ । राजनीतिक गर्ने काम नेताहरूको हो । हामी आफ्नो काम गर्छौं । हाम्रो यादव समुदाय आन्दोलनमा छन् कि के गर्छन् हामीलाई केही थाह छैन । त्यसमा हामीले चासो पनि लिनुहुँदैन । हामीले देशको विकास र समृद्धि कसरी हुन्छ, त्यसका बारेमा मात्र सोच्छौँ । नेपाल र भारतमा रहेका यादव माथि कुनै विभेद रहेको छ भने जस्तो मलाई लाग्दैन । 

तपाईंले आफ्नो आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम यादवको उत्थान र विकासमा लगानी हुन्छ भनी कार्यक्रममा चर्चा गरिएको थियो वास्तविकता के हो ?
–हेर्नुस् । यो यादवहरूको चेम्बर अफ कमर्स भएका हुनाले यादव समुदायको अलि अलि झुकाव हुनु अस्वभाविक होइन तर हाम्रो लगानी सबैतिर छ । हामीले सबै समुदायलाई उत्तिकै माया गर्छांै जति यादव समुदायसँग गर्छौं ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप