शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनसङ्ख्याको वास्तविक तथ्याङ्क ल्याउन मन्त्री दुलालको आग्रह

बिहीबार, २८ भदौ २०७५, २० : ०४
बिहीबार, २८ भदौ २०७५

हेटौँडा । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनसङ्ख्याको वास्तविक तथ्याङ्क ल्याउन जरुरी रहेको बताएका छन् । 

केन्द्रीय तथ्याङ्क विभाग काठमाडौँद्वारा आज यहाँ आयोजित ‘जनसङ्ख्या गणकका लागि आवश्यक पूर्वाधार तयारी’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘केन्द्रीय तथ्याङ्क विभागद्वारा विसं २०७८ मा लिइने राष्ट्रिय जनगणनामा जनसङ्ख्याको वास्तविक तथ्याङ्क ल्याउन जरुरी छ ।’ 

मन्त्री दुलालले जनसङ्ख्या तथ्याङ्क लिन जाने गणकले जनताको घरदैलोमा पुगेर सही सूचना लिने र ती सूचनालाई आधिकारिक रुपमा सरकारलाई उपलब्ध गराउन सम्बन्धीत निकायलाई आग्रह गर्दै स्थानीय बासिन्दाको धर्म संस्कृति, जातीय पहिचान, शैक्षिक झलक र निजी व्यावसायिक क्षेत्रको वास्तविक तथ्याङ्क सार्वजनिक हुने भएकाले यसलाई यर्थाथपरक बनाउन जरुरी रहेको बताए । 

‘त्यही तथ्याङ्कका आधारमा मुलुकको विकास पूर्वाधार, समृद्धि र रोजगारीका लागि सरकारले अवसर जुटाउने हुँदा यसलाई गुणात्मक र यर्थाथपरक बनाउनुपर्छ’, उनले भने । 

प्रदेश नं ३ को नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले विसं २०७८ मा हुने १२ औँ राष्ट्रिय जनगणनालाई सत्यतथ्य र निष्ठाका आधारमा गरिनुपर्ने सुझाव दिदैं त्यसबाट प्राप्त जनसङ्ख्याका आधारमा शैक्षिक, स्वास्थ्य र रोजगारका लागि योजनातर्जुमा गर्न सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल, मकवापुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमुख रघुनाथ खुलालले राष्ट्रिय जनगणना २०७८ लाई भव्य रुपमा सफल बनाउनका लागि स्थानीय तहको दायित्वका विविध पक्षमाथि प्रकाश पारे । 

कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रमा जनसङ्ख्याको इतिहास, तथ्याङ्क निर्देशक शङ्करलाल श्रेष्ठले जनगणनाका लागि कानूनी आधार र तथ्याङ्क अधिकृत काशीनाथ लम्सालले जनसङ्ख्या गणनाका लागि आवश्यक तयारीका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप