शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलाका बुबाआमाले रुँदै भने – ‘न्याय दिलाउन सक्दैनौँ भने हामीलाई पनि गोली हान सरकार’

बिहीबार, २८ भदौ २०७५, १७ : २९
बिहीबार, २८ भदौ २०७५

काठमाडौँ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको ४९ दिन बितिसक्दासम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानको लागि ३–३ वटा समिति गठन गर्दा पनि निचोड निस्कन नसकेपछि प्रहरी तथा राज्य संयन्त्रमाथि नै प्रश्न चिन्ह खडा भएको छ । 

अहिले निर्मलाका बाबुआमा ९ जना मानवअधिकारकर्मी, स्थानिय र अधिवक्ताको साथमा काठमाडौँ आएका छन् । उनीहरुले आज काठमाडौँको रिर्पाट्स क्लबमा पत्रकार सम्मेलनका दौरान निकै भावुक बनेका उनीहरुले आफ्नो छोरीको हत्यारालाई कारवाहीको माग गरे । 

निर्मलाकी आमा दुर्गा देवी पन्त 

हामी अहिले देश सञ्चालन गर्ने ठाउँमा आइपुगेका छौँ । देशको राष्ट्रपति पनि महिला हुनुहुन्छ । तर मेरो छोरीको बलात्कारपछि हत्या हुदाँ उहाँले एक शब्द पनि बोल्नु भएको छैन । राष्ट्रपति  पनि कसैको आमा हुन् । यो समयमा उहाँको छोरीलाई यस्तो भएको भए के हुन्थ्यो ? निर्मलालाई मेरो छोरीमात्रै सम्झनुहुन्न होला, तपाईंको पनि छोरी सम्झेर न्याय दिलाउनु हुन्छ होला भन्ने आशा लिएर म काठमाडौँ आएको छु । 

लामो समयसम्म कञ्चनपुरमा आन्दोलन गर्दा पनि हाम्रो कुरा सरकारले नसुनेको कारणले हामी काठमाडौँमा आएका छौँ । घटनाको छानबिन गरी दोषिलाई कारवाही गर्नुहुन्छ होला । हामी यतिकै कञ्चनपुर फर्केर जाने छैनौँ । एक दिन पनि छोरी बिना बाच्न नसक्ने म अहिले दुई जना छोरी गाउँमा छोडेर न्यायको लागि आएकी छु । 

हरेक दिन तड्पिएर बाँचिरहेको छु । हामीलाई झुलाएर नफर्काउनु होला । यो देशमा सरकार छैन भने मात्र हामी न्याय दिन सक्दैनौँ भन्नुहोला । यदी न्याय दिन सक्नुहुन्न भने मलाई पनि गोली हानेर मार्दिनु होला । म मर्न तयार छु । 

निर्मलाका बुबा यज्ञराज पन्त 

साउन ९ गतेको दिन हो । रोशनी बम मेरो घरमा आइन् । 

‘आज म तेरो घरमा दिनभरी बसेँ, भोलि तँ मेरो घरमा जसरी पनि आउनुपर्छ, अम्बा पनि पाकेको छ ल्याउनु, होमवर्क पनि गर्नुपर्छ,’ भनेर मेरो छोरी निर्मलालाई भनेकी थिइन् । 

घटना भएको दिन चटपटे पनि उधारो खाएको रैछन् । भोलिपल्ट रोशनीले बोलाएको दिन निर्मला साँझ ६ बजेसम्म पनि घरमा आइन । अनि निर्मलाको आमा आफै बोलाउन गइन् । चारैतिर पर्खाल लगाएको घर छ बम परिवारको । जाँदा गेट पनि लगाएको रैछ । निर्मलालाई बोलाउँदा बम दिदी बहिनीले निर्मला त दिउँसो २ बजेनै गइसकेको जवाफ । 

‘घरमा आइपुगेकी छैन । तिमीले बोलाएको ल्याएको हो । मजाक नगर मेरो छोरीलाई बाहिर निकाल,’ भनेर निर्मलाको आमाले भन्दा बम दिदीबहिनीले ‘तिम्री छोरी पोइला गई होला । के हामीलाई भनेको ?,’ भनेर पटक/पटक दोहोर्याए ।  

त्यो समयसम्म पनि उनीहरुले आफ्नो घरको गेट खोलेनन् । 

रातको साढे ८ बजेसम्म हामीले नेपाल–भारतको सीमाका सुरक्षाकर्मी, माइती नेपालमा पनि निर्मला हराएको जानकारी गरायौँ । वडा प्रहरी कार्यालयमा जानकारी गरायौँ । 

प्रहरी छोरीको खोजीमा जाने भनेर तयारी भए तर जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनु पर्छ भनेर जानकारी गराए । पछि जिल्लाबाट नजानु भनेको छ भन्ने कुरा आयो । 

त्यसपछि उनीहरुले भोली बिहान ५ बजे आउँछौ आज जानु भनेर हामीलाई पठाए । 

भन्ने बेलामा प्रहरी हाम्रो साथी भन्ने अनि परेको बेलामा नहेर्ने कस्तो प्रहरी हो ? प्रहरीले हामीलाई सहयोग नै गरेन । त्यो समयमानै निर्मलाको खोजी गरेको भए मेरो छोरी जिउँदै भेटिन्थ्यिो होला । 

रोशनी बम जसरी मेरो छोरीलाई बोलाउनु गएको थियो । त्यसरी खोज्नलाई पनि सहयोग गर्नुपर्ने हो । तर, बम दिदी बहिनीले उनीहरुको घरको गेटसम्म खोलेनन् । 

निर्मला गइसकेको छ भनेर उसको घरभित्र हेर्न दिएको भए हाम्रो शंका मेटिने थियो । तर गेटनै बन्द गरेर बसेपछि हामीलाई शंका लागेको हो । 

११ गते बिहान वडा कार्यालयमा निवेदन दिएर घरमा आउदै गर्दा बमको घर बाटोमै पर्छ । 

सरकार प्रमाणहरु जुटाउन किन ढाकछोप गर्देछ ? प्रमाणको आधार लासलाई किन धोइपखाली गरियो ? किन प्रमाण नष्ट गरे ? वडा कार्यालयका प्रहरीले मेरो छोरीको खोजी गर्न बर्दीसम्म लगाइसकेका थिए । किन जिल्ला प्रहरी कार्यालयबाट नजानु भनियो ? यस्ता कुराले गर्दा मलाई प्रहरीमाथिनै शंका लागेको छ ।

त्यो बेलामा बमको घरमा दुई जना बर्दी लगाएको र २ जना सिभिल प्रहरी देखिए । हामीले बोलाएर पनि आएका प्रहरीहरु थिएनन् । उनीहरुले त्यहाँ के गर्दे थिए भन्ने कुराको बारेमा पनि थाहा छैन । 

मेरी श्रीमतीले रोशनीलाई गएर फेरि सोधिन् निर्मला छ कि घरमा हेर्छु भनेर । ती प्रहरीको अगाडीनै हिजै भनेको होइन ? किन आएको भनेर गाली उल्टै गरे । 

छिमेकीले पनि हामीलाई घर हेर्न दिनुपर्छ भन्दा प्रहरीले बम दिदीबहिनीको गल्ती नभएको भन्दै आफूहरुले खोजतलास गरिरहेको भनेर धम्क्याए । 

भोलीपल्ट लास फेला पर्याे । मेरो छोरीको त यस्तो हालत भयो सरकारले यस्तै अवस्था बनाइरहने हो भने अझै हजारौँ छोरीहरुलाई यस्तो नहोला भन्न सकिन्न । 

प्रधामन्त्रीले एउटा सञ्चारमाध्ययममा बम दिदी बहिनीको पक्षमा बोल्नुभएको छ । प्रधानमन्त्री जस्तो मान्छेले यस्तो कुरा गर्नु गलत हो । उल्टै दोषीलाई कारवाही गर्नेतिर लाग्ने हो की दोषिको पक्षतिर ? 
मैले यही नै दोषी भनेको छैन । शंका गरेको व्यक्तिलाई अनुसन्धान गर्नुपर्याे सर भन्दा पनि प्रहरीले उनीहरु निर्दाेष हुन् भन्दै आइरहेका छन् । 

सरकारले केन्द्रबाट पठाएको अनुसन्धान टोलीलाई काम गर्न दिएको छैन । कैलाली जस्तै हुनलाग्यो भनेर कञ्चनपुरबासीलाई आरोप लगाइएको छ । हामीले अनुसन्धानमा कुनै पनि बाधा पुर्याएका छैनौँ । 

सरकार प्रमाणहरु जुटाउन किन ढाकछोप गर्देछ ? प्रमाणको आधार लासलाई किन धोइपखाली गरियो ? किन प्रमाण नष्ट गरे ? वडा कार्यालयका प्रहरीले मेरो छोरीको खोजी गर्न बर्दीसम्म लगाइसकेका थिए । किन जिल्ला प्रहरी कार्यालयबाट नजानु भनियो ? यस्ता कुराले गर्दा मलाई प्रहरीमाथिनै शंका लागेको छ ।

मैले घटना स्थलमा किताब, साइकल, एउटा चप्पल देखेँ । कुकुरले पत्ता लगाउछ होला भनेको प्रहरीले अहिले पानी आएको छ खोला छ कसरी जानु भने । त्यसपछि मलाई घटनास्थलमा २६ दिन पछि मात्रै लगियो । अनुसन्धानमा गर्नुपर्ने कुनै पनि प्रक्रिया प्रहरीले पुरा गरेको छैन । 

उल्टै प्रहरीले मेरो घरमा खोजतलास गरेको छ । प्रहरीले  अनुसन्धानमा मेरो छोरीको कपडा हो भनेर ट्राउजर देखायो तर मेरो छोरीको ट्राउजरमा गोजी थिएन । प्रहरीले देखाएको ट्राउजर नयाँ र गोजी छ । 
मेरो छोरीको घटना भएदेखि अहिलेसम्म पनि सिभिलमा प्रहरी हाम्रो अघिपछि गरिरहेका छन् । 

अहिले पनि काठमाडौँमा हामी बस्ने होटलको इन्ट्री गराउने लिष्टमा सिभिल ड्रेसका प्रहरीले हेर्दै आइरहेको बुझिएको छ । अहिलेदेखि हामी असुरक्षित छौँ । 

सरकारसँग हामीले के मागेका छौँ र ? छोरीको हत्यारालाई कारवाही गर्नुपर्छ मात्र त भनेका हौँ । तर यही कुराले गर्दा सुरक्षा दिने प्रहरीसँग नै हामी डराउनु पर्ने अवस्था आएको छ । हामीमाथि प्रहरीले किन यस्तो गर्दैछ । मेरो छोरीलाई न्याय दिलाउनको लागि मलाई तपाईं हजूरहरु सबैको साथको जरुरी रहेको छ । सहयोग गरिदिनुु होला ।

अभिवक्ता पुष्पराज पौडेल 

निर्मला घट्नाको विषयमा सरकारले एउटा मात्रै होईन ३–३ वटा छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीको सिआईबी, मन्त्रालय,प्रहरी यति धेरै अनुसन्धान निकाय गठन गर्दा पनि साउन १० गते घटेको घटनामा अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । यो घटनामा नेपाल प्रहरीकै भूमिकाको पनि आशंका गरिएको छ । कुनै पनि अपराधको सिलसिला सुरु हुन्छ त्यसमा प्रमाणको महत्वपूर्ण भूमिका रहन्छ । तर निर्मलाको हकमा प्रमाण नष्ट गरिएको छ । लास पखालिएको छ । संसारको कुनै पनि अनुसन्धानको प्रक्रियामा प्रमाणहरु नष्ट गरिर्दन । नेपाल प्रहरीकै मान्छेले घट्नालाई ढाँकछोप गर्न प्रमाणहरु नष्ट गरेका छन् । ज–जसलाई शंका गरिएको छ उसको डिएनए टेष्ट गर्दा हुन्छ नी किन गर्दैन प्रहरीले ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप