बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४९ दिनपछि कञ्चनपुर प्रकरण : हत्या, आन्दोलन, अनुसन्धान...अब के ?

बिहीबार, २८ भदौ २०७५, १३ : ५१
बिहीबार, २८ भदौ २०७५

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४९ दिन वितेको छ । यो ४९ दिनसम्म न त दोषी पक्राउ परेको छ न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ ।

बरु निर्मला पन्तका बाआमा न्याय खोज्न कञ्चनपुरबाट काठमाडौंमा भौंतारिन बाध्य भएका छन् । उता स्थानीयले यो प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी पहिचान गर्न ढिलाइ गरेको भन्दै १५ दिनका लागि स्थगित गरेको आन्दोलन आजबाट पुनः सुरु गरेका छन् ।

के थियो घटना ?
निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी उनको भोलिपल्ट रोशनीको घर नजिकैको उखुबारीमा शव भेटियो । पन्त परिवार र स्थानीयले घटना रहस्यमय भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई दबाब दिए । तर  सुरुमा यो घटनाप्रति प्रहरीले अनुसन्धान गर्न चासो नै देखाएन । प्रहरीले दोषी पहिचन गर्न चासो नदेखाएपछि स्थानीयले आन्दोलन नै गर्नुपर्यो ।

स्थानीयले आन्दोलन गर्न थालेपछि प्रहरीले घटनाको २६ दिनपछि अभियुक्त पक्राउ गरेको भन्दै सार्वजनिक गर्यो । प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति थिए । विष्ट घटनाका दोषी नभएको भन्दै स्थानीय चर्को विरोध गरे । 

अर्का एकको ज्यान गयो 

स्थानीय र पीडित परिवारले पन्त प्रकरणमा प्रहरीले दोषी भनेर सार्वजनिक गरेका व्यक्ति निर्दोष भएको र वास्तविक अपराधीलाई जोगाउन खोजेको भन्दै थप आन्दोलन गरे । वास्तविक अपराधी पहिचानको माग गर्दै स्थानीयले गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा अर्का एक जनाको ज्यान नै गयो ।  

त्यसपछि आन्दोलन मत्थर पार्न स्थानीय प्रशासनले तीन दिनसम्म कञ्चनपुरमा कफर््यु नै लगायो । प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका, १८ का सन्नी खुनाको ज्यान गएपछि उनलाई सहिद घोषणा र क्षतिपूर्ति दिने घोषणा गर्यो । 

निर्मला प्रकरणमा के–के भयो ?

साउन १०– निर्मला पन्त साथी रोशनीको घरमा जान्छिन् ।

साउन ११– निर्मलाको शव भीमदत्त नगरपालिका १९ स्थित उखुबारीमा फेलापर्छ ।

साउन ११– पन्तको हत्या विरोधमा भीमदत्त नगरपालिका कञ्चनपुरमा आन्दोलन सुरु हुन्छ ।

भदौ ४– निर्मलालाई बलात्कारपछि हत्या गरेको अरोपमा दिलिपसिंह विष्ट पक्राउ पर्छन् ।

भदौ ७– आन्दोलनका क्रममा २ प्रहरीसहित ६ आन्दोलनकारी घाइते । प्रहरीद्वारा धरकपकड र अश्रुग्याँस प्रहार ।

भदौ ७ – आन्दोलन उग्र बनेपछि कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन ।

भदौ ७ – कञ्चनपुरका सीडीओ कुमार खड्का र प्रहरी प्रमुख दिल्लीराज विष्ट फिर्ता, उनीहरूको ठाउँमा क्रमशः तीर्थ अधिकारी र कुवेर कडायतलाई जिम्मेवारी । 

भदौ ७– कञ्चनपुरमा भएको झडपका क्रममा घाइते भएका सबैको सरकारले व्यहोर्ने घोषणा ।

भदौ ७– प्रतिनिधि सभामा पेश भएको महिला हिंसाविरुद्धको प्रस्तावमा सांसदहरूको समर्थन । 

भदौ ८– प्रहरीको गोली लागेर स्थानीय सन्नी खुनाको मृत्यु ।

भदौ ८– आन्दोलनमा घाइते भएकालाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल त्रिवि शिक्षण अस्पतालमा ।

भदौ ९– निर्मला हत्या प्रकरणमा स्थानीयले आशङ्का गरेका रोशनी  र बबिता बम पक्राउ ।

भदौ ९– निर्मला पन्त र सन्नी खुनाको परिवारलाई सरकारबाट १०–१० लाख दिने घोषणा ।

भदौ ९– निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन ।

भदौ ९– एसपी डिल्लीराज विष्ट निलम्बित । डीएसीपी ज्ञानबहादुर सेठ्ठी  र इन्सपेक्टर रवीन्द्र खड्का फिर्ता । 

भदौ १०– भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी ।

भदौ ११– निर्मला हत्या प्रकरणमा सम्पादकहरूबाट प्रधानमन्त्री केपी ओलीको बालुवाटारमा ध्यानाकर्षण, हत्यारालाई कारवाही गर्ने प्रम ओलीको प्रतिबद्धता ।

भदौ ११– भीमदत्त नगरपालिकामा रातिको समयमा निषेधाज्ञा जारी ।

भदौ १२– डीएसपी कृष्णराज ओझाको नेतृत्वमा छानविन समति गठन ।

भदौ १४– निर्मलाकी साथी रोशनी बमको कम्पाउन्डमा रहेको अम्बाको रूख काटियो ।

भदौ १४– प्रहरीद्वारा निर्मलाले लगाएको ट्राउजर धोएर प्रमाण नष्ट ।

भदौ १५– हत्यारा पहिचान गर्न माग गर्दै निर्मलाका सहपाठीबाट प्रधानमन्त्रीलाई खुला पत्र ।

भदौ १५– खानेपानी मन्त्री बिना मगरद्वारा निर्मलाका परिवारसँग भेट ।

भदौ २१ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट निर्मलाका परिवारसँग भेट ।

भदौ २२– प्रहरी महानिरीक्षक खनालबाट अनुसन्धानका क्रममा प्रहरीबाट कमजोरी भएको स्वीकार ।

भदौ २५– हरिप्रसाद मैनाली नेतृत्वको उच्च स्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीबाट समितिको सदस्यबाट राजीनामा ।

भदौ २६– दिलिप विष्ट निर्दोष ठहरपछि रिहा, बम दिदीबहिनी पनि रिहा । 

भदौ २७– हरिप्रसाद मैनाली नेतृत्वको उच्च स्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीबाट समितिको सदस्यबाट दिएको राजीनामा फिर्ता, काममा फर्कने घोषणा ।

भदौ २८– निर्मला हत्या प्रकरणको विरोधमा काँग्रेसबाट प्रतिनिधिसभा संसद अवरुद्ध ।

रहस्यकै गर्भमा निर्मला प्रकरण 
यसरी विकसित भएका थिए– निर्मला हत्यापछिका घट्नाक्रमहरू । तर पनि अहिले यो प्रकरण शून्यमा पुगेको छ । प्रहरीले सबैभन्दा पहिला घटनाको दोषी किटान गरेका दिलिप विष्ट निर्दोष सावित भइसकेका छन् भने सो प्रकरणमा जोडिएका बम दिदीबहिनीले पनि मुक्ति पाइसकेका छन् ।

घटनाका प्रमाणहरू पनि प्रायः नष्ट भइसकेका छन् । पीडित परिवारले न्यायको आश मारिसकेका छन् । 

अब प्रश्न उठ्छ– यो घटनाको दोषी को हो ? यो प्रश्नको जवाफ न प्रहरीसँगै छ, न छानविन समितिसँग नै । उच्च स्तरीय छानविन समितिले अनुसन्धान अन्तिम अवस्थामा पुगेको बताए पनि घट्नामा जोडिएका भनिएका पात्रहरू को–को छन् र उनीहरूसँग कसरी अनुसन्धान भइरहेको छ भन्ने खुलाएको छैन । बरु छानविन समितिले पाएको २१ दिनको म्याद सकिएर पुनः १५ दिन थपिएको छ । तर घटनाको सत्यतथ्य अहिलेसम्म रहस्यकै गर्भमा सीमित छ । 

न्याय खोज्न राजधानीमा पीडित परिवार

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न निर्मलाका आमाबुबासहित महिला अधिकारकर्मीको टोली कञ्चनपुरबाट काठमाडौं आइपुगेको छ । निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएपछि निर्मलाका बुबा यज्ञराज पन्त, दुर्गा पन्तलगायतको टोली काठमाडौं आइपुगेको हो । 

टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, सत्तारुढ दलका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षकलगायतलाई भेट्ने योजना बनाएको बताइएको छ ।

यो टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरू शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी  जोशी र रमा पन्त रहेका छन् । 

को हो त हत्यारा ?
निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयो भन्ने लगायतका विषयमा प्रहरी अनुसन्धान जारी छ । 

निर्मलाको हत्यारा को हो ? र किन हत्या भयो भन्ने मूल विषयबारे अझै अन्योल कायमै छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्याक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् ।  

जसका कारण पछिल्ला दिनमा सबैको ध्यान तानेको निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएको छ । प्रहरी अनुसन्धान र सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनु र ४८ घण्टामै उक्त राजीनामा फिर्ता लिनुले पनि थप अन्योल र आशङ्का बढाएको छ । 

राज्य संयन्त्र ढाकछोपमा केन्द्रित: काँग्रेस

 निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारसँग जवाफ मागेको छ । सरकारले यसबारे जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै काँग्रेसले बिहीबारको बैठक अवरुद्ध नै गरेको हो ।

बैठक सुरु भएलगत्तै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला पन्त बलात्कार प्रकरणमा राज्यबाट वास्तविक दोषी लुकाउने प्रयत्न भएकोमा गम्भीर ध्यानाकर्षण गराए । सांसद बडुले भने, ‘निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण जटिल र रहस्यमय बन्दै गएको छ । एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेको छ । तर, वास्तविक दोषी पत्ता लगाउनेभन्दा पनि समग्र राज्यसंयन्त्र ढाकछोपमा केन्द्रित भएको देखिन्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप