मालपोतमै गोलमाल : नक्कली धनी खडा गरेर यसरी बेचियो ६ करोडको जग्गा
काठमाडौँ । नक्सालका चन्दन कृष्ण कायस्थलाई भदौ १० गते एउटा फोन आयो । बुढानिलकण्ठ स्थित आफ्नो जग्गासँगै घर भएकी एक छिमेकी महिलाले फोन गरेर सोधिन्, ‘तपाईंले बुढानिलकण्ठको जग्गा बेच्न खोज्नुभएको हो ?’
चन्दनले उत्तर दिए, ‘हैन नी’ ।
उताबाट फेरि ति छिमेकी बोलिन्, ‘अनि यहाँ त हुलका हुल मान्छे आउँछन्, राती ९ बजेसम्म बसेर जग्गा हेर्ने गरेका छन्, तपाईंको लालपुर्जाको फोटोकपी पनि लिएर आएका छन् ।’
करोडौँ मूल्य पर्ने बुढानिलकण्ठको जग्गा बेच्नेबारे चन्दनले कसैसँग कुरा गरेकै थिएनन्, कुनै जग्गा कारोबारीलाई लालपुर्जाको फोटोकपी पनि दिएका थिएनन् ।
छिमेकीको फोनले चकित भएका कायस्थले आफ्नो कानुन व्यवसायीलाई चावहिल मालपोत कार्यलयमा जग्गाबारे बुझ्न पठाए ।
भदौ १८ गते मालपोत पुगेका कानुन ब्यवसायीलाई नायव सुब्बा जमुना कुमारी श्रेष्ठले सुरुमा श्रेस्ता देखाउनै नमिल्ने बताइन् । पछि टाढाबाट श्रेस्ता देखाउँदै भनिन्, ‘यो जग्गा भर्खरै बिक्री भएको छ ।’
कानुनी सल्लाहकारले ठम्याइहाले श्रेस्तामा टाँसिएको जग्गाधनी चन्दन कृष्ण कायस्थको फोटो नै नक्कली थियो । जग्गा धनी दर्ता प्रमाण पुर्जामा कायस्थले टोपी नलगाएको फोटो टाँसेका थिए तर श्रेस्तामा ढाकाटोपी लगाएको फोटो टाँसिएको देखेपछि उनले चन्दनलाई सोधे, ‘श्रेस्तामा टोपी लगाएको फोटो थियो र ?’
२०६५ सालमा जग्गा खरिद गरेका चन्दनले टोपी लगाएको फोटो त्यतिवेला श्रेस्तामा टाँसेकै थिएनन् । बल्ल छर्लङ्ग भयो, चन्दनले थाहै नपाई नक्कली चन्दनहरुले ६ करोड भन्दाबढी मूल्य पर्ने बुढानिलकण्ठको जग्गा मालपोत कार्यालय चावहिलका कर्मचारीसँग मिलेर बिक्री गरिसकेछन् !
भोलिपल्ट (भदौ १९ गते सोमबार) मालपोत कार्यालय चावहिलमा चन्दनकृष्ण कायस्थ पुगेपछि मालपोत कार्यालयका कर्मचारी समूह–समूहमा खासखुस गर्न थाले ।
‘मैले आफ्नो सक्कली लालपूर्जा देखाएर मोठ र श्रेस्तामा भिडाउँदा नक्कली मान्छेहरुले जग्गा बिक्री गरिसकेको देखियो,’ रातोपाटीसँग कुरा गर्दै जग्गाधनी चन्दन कृष्ण कायस्थले भने, ‘त्यसपछि मालपोतका कर्मचारीहरुले नै जग्गा किन्नेहरुलाई बोलाइदिए ।’
चन्दनको नागरिकता लगायतका कागजात किर्ते गरेर जग्गा खरिद गर्ने दक्षिणकालिका श्रीकृष्ण देवकोटा र ध्रुव भट्टराईले मालपोतमा आएर पास गरेरै आफ्नो जग्गा फिर्ता लिन आग्रह गर्न थाले । तर, चन्दन त्यो झमेलामा पर्न चाहेनन्, उनले प्रहरीलाई खबर गरिहाले ।
भदौ १९ गते महानगरीय प्रहरी वृत गौशालाले जग्गा खरिद गर्ने कार्यमा संलग्न रामेछाप सालु स्थायी घर भएका ध्रुव प्रसाद भट्टराई, दक्षिणकालीका कृष्ण देवकोटा र नक्कली जग्गाधनीको नामबाट वारेस लिएर जग्गा पास गरिदिने प्रदीप प्रसाद गौतम लाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
‘जग्गा खरिद गर्नेहरुको बयानको आधारमा मालपोत कार्यालय चावहिलका ४ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएका छौँ,’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी सुनिल मल्लले भने, ‘पक्राउ परेकाहरुमाथि लिखत चथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।’
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट पछाडि रहेको उक्त साढे दुई रोपनी जग्गाको हालको बजार मूल्य करिब १० करोड पर्ने बताइएको छ । तर, किर्ते कागजात बनाएर ध्रुव प्रसाद भट्टराई, दक्षिणकालीका कृष्ण देवकोटा र प्रदीप प्रसाद गौतमले ६ करोडमा लेनदेन गरेका छन् ।
नक्कली जग्गाधनी फरार, कता गए साक्षी ?
मिलेमतोमा जग्गा बिक्रीका लागी सहयोग गर्ने मालपोत कार्यालय चावहिलका नासु रघुनाथ तिमल्सिना, नासु रञ्जन कुमार खरेल, नासु जमुना कुमारी श्रेष्ठ र मालपोत अधिकृत खगेन्द्र प्रसाद अर्याल पक्राउ परेका छन् । जग्गा खरिद गर्ने ध्रुव प्रसाद भट्टराई, दक्षिणकालीका कृष्ण देवकोटा र नक्कली जग्गाधनीको नामबाट वारेस लिएर जग्गा पास गरिदिने प्रदिप प्रसाद गौतम सहित हालसम्म ७ जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । तर, जग्गा किनबेचको कार्यमा मुख्य भूमिका निर्वाह गरेका विक्रेता ‘नक्कली’ चन्दन कृष्ण कायस्थ र खरिद बिक्री प्रक्रियामा शुरुवाती चरणदेखि नै साक्षीको रुपमा देखा परेका गोविन्द के.सी फरार छन् ।
प्रहरी अनुसन्धानका क्रममा नक्कली जग्गाधनीलाई जग्गा दलालहरुले मोहरा मात्रै बनाएको खुलेको छ । सामान्य ब्यक्ति जस्ता देखिने नक्कली चन्दन कृष्ण कायस्थलाई जग्गा कारोबारीहरुले केही रकम दिएर प्रयोग मात्रै गरेको हुनसक्ने बताइएको छ । तर, गोदावरी स्थायी घर भएका गोविन्द केसी ले उक्त जग्गाको खरिद विक्रीमा मुख्य भूमिका खेलेको हुनसक्ने बताईएको छ ।
भू–माफियाहरुले चन्दन कृष्ण कायस्थको नागरिकतासमेत नक्कली बनाएर जिल्ला अदालत काठमाडौंबाट स्युचाटारका प्रदीप गौतमलाई अधिकृत वारेस दिलाएका छन् ।
न्यायाधीशलाई समेत गुमराहमा राखेर जग्गा कारोवारीहरुले अधिकृत वारेस लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिए ।
उनले भने, ‘मालपोतका कर्मचारीहरुले मिलेमतोमा श्रेस्ताको फोटो लगायतका रेकर्ड परिवर्तन गरेर जग्गा बिक्री गरेको देखिन्छ, कर्मचारीको मिलेमतो विना करोडौंको जग्गा यसरी विक्री गर्न सम्भव नै हुँदैन, यसबारे हामी थप अनुसन्धान गरिरहेका छौं ।’
खुवा उद्योगीलाई फाइनान्सको ६ करोड !
संगठित रुपमा किर्ते गरेर जग्गा जग्गा खरिद गर्ने मध्येका श्रीकृष्ण देवकोटा खुवा उद्योगी हुन् । उनले दक्षिणकालीस्थित फर्पिङ बसपार्कमा खुवा उद्योग संचालन गरेको पाइएको छ ।
जग्गा विक्रीका लागी नक्कली चन्दन कृष्णको नामबाट अधिकृत वारेस लिने प्रदीप प्रसाद गौतम चाहीँ तिनै श्रीकृष्ण देवकोटाको ज्वाइँ रहेको पाइएको छ ।
करोडौँको जग्गा खरिद विक्रीमा बसुन्धारामा रहेको ‘अर्थ कवच सेभिङ एण्ड क्रेडिट’ सहरकारीको समेत मिलेमतो रहेको आशंका गरिएको छ । ‘अर्थ कवच सेभिङ एण्ड क्रेडिट’को शेयर सदस्य रहेका ध्रुव भट्टराई र श्रीकृष्ण देवकोटाले ६ करोड घरजग्गा धितो कर्जा लिएको देखिन्छ । कमसल धितोमा ‘अर्थ कवच सेभिङ एण्ड क्रेडिट’ ले त्यति धेरै रकम दिएर जग्गा किनबेचमा मिलेमतो गरेको हुनसक्ने बताइएको छ ।
सहकारीबाट लिएको ऋण रकम सानिमा बैंकमा डिपोजिट गरेको भौचर फेला परेको छ ।
प्रहरीले उक्त भौचरको आधिकारीता परिक्षण गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन