बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हुण्डाईकोे ‘आइओनिक ईभी’ कार, एक किलोमिटर यात्राको लागत जम्मा डेढ रुपियाँ !

बिहीबार, २८ भदौ २०७५, १२ : २१
बिहीबार, २८ भदौ २०७५

काठमाडौं– कार किनिसकेपछि त्यसको मेन्टेनेन्स र अपरेटिङ कस्टले हैरानी नखेपेका ग्राहक को नै होलान् र । कारको मूल्यभन्दा बढी त त्यसको मर्मतसम्भार र इन्धन लगायतमा गर्नुपर्नु खर्चको सूची लामो नै छ । 

हाल बजारमा रहेका कारहरूको अपरेटिङ कस्ट प्रतिकिलोमिटर करिब १५ रुपियाँ पर्ने गरेको छ । 

तर हुण्डाईले भर्खरै बजारमा ल्याएको एउटा इलेक्ट्रिक कार छ, आइओनिक ईभी  (Ioniq EV) । विद्युत् चार्ज गरेर चल्ने यो कार अन्य कारभन्दा कुनै पनि मामलामा कमजोर छैन ।

पेट्रोलबाट चल्ने कारमा हुने सबै सुविधा यो कारमा छ । तर अचम्मको कुरो के छ भने यो कारको अपरेटिङ कस्ट वा लागत भने एक किलोमिटरको मात्र १ रुपियाँ ५० पैसा मात्रै छ । 

किनभने यो कारले १ युनिट विद्युत् खपत गर्दा ७ किलोमिटर गुड्न सक्छ भने एक युनिट विद्युत्को शुल्क जम्मा १२ रुपियाँ मात्रै छ । 

विशेषताहरू :

हुण्डाईको आइओनिक कार हाल विश्व बजारमा रहेका कारहरूमध्ये सबैभन्दा इफिसियन्सी कार भएको हुण्डाईले दाबी गरेको छ । 

सिट

५ सिट क्षमताको यो कार सेडान कार हो । सेडान कार भन्नाले लामो र लक्जरियस कार भन्ने बुझाउँछ ।

माइलेज 

यो कारमा २८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । एकपटक कार फुल चार्ज गरिसकेपछि कम्तीमा २ सय २० देखि २ सय ५० किलोमिटरसम्म गुड्न सकिने कम्पनीले दाबी गरेको छ ।

वारेन्टी

यो करमा प्रयोग हुने ब्याट्री अत्याधुनिक ब्याट्री रहेको छ । कम्पनीले यस कारको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । वारेन्टी समयसम्म ब्याट्रीमा कुनै समस्या आए कम्पनीले सित्तैँमा फेरिदिने छ ।

त्यसैगरी कारमा पनि ३ वर्षको वारेन्टी दिएको छ । विद्युतीय कार भएकाले कारमा कुनै समस्या नआउने हुण्डाईका सहायक महाप्रबन्धक दीपक थपलियाले दाबी गरेका छन् ।

कोरियाबाट सीधै आयात

हुण्डाईको धेरैजसो कार भारतमा नै बन्ने गरेको छ । तर आइओनिक कार भने पूर्णरूपमा नै कोरियामा बनेको छ । यो कार कोरियाबाट सीधै नेपाल ल्याइएको छ । यस कारमा प्रयोग भएका सबै सामान गुणस्तरीय र बलियो भएको कम्पनीले बताएको छ । 

आधा घण्टामै फुल चार्ज

यो कार आधा घण्टामा नै फुल चार्ज गर्न सकिने क्षमताको छ । यद्यपि त्यसका लागि भने चार्जिङ स्टेसन पुग्नुपर्ने हुन्छ । यो चार्जिङलाई लेभल फोर चार्जिङ भनिन्छ । 

सामान्य ढङ्गबाट घरबाटै चार्ज गर्ने हो भने फुल चार्ज गर्न १२ घण्टा लाग्ने छ । १२ घण्टा समय चार्जिङ जिरो भएको अवस्थामा मात्रै हो । यदि आधा चार्ज भएको छ भने करिब ६ घण्टामा ब्याट्री फुल चार्ज हुन्छ । यो चार्जिङलाई लेभल टु चार्जिङ भनिन्छ । 

आफूसँग समय थोरै मात्रै छ भने यसलाई ४ घण्टामा पनि फुल चार्ज गराउन सकिन्छ । ३२ एम्पिएरको करेन्ट प्रवाह गरेर गरिने यस्तो चार्ज पूरा हुन करिब ४ घण्टा लाग्नेछ ।

११ स्थानमा सर्भिस सेन्टर, राजमार्गमा चार्जिङ स्टेसन राखिने

इलेक्ट्रिक कार भन्नेबित्तिकै सिटी कार भन्ने बुझिन्छ । समय समयमा चार्ज गरिरहन पर्ने भएकाले पनि यसलाई सिटी कार भनिएको हो । तर हुण्डाईको आइओनिक कार भने अब राजमार्गमा पनि गुड्न मिल्ने बनाइँदै छ । हुण्डाईले देशका मुख्य ११ वटा सहरमा सर्भिस सेन्टर राखिसकेको छ भने चाँडै नै राजमार्गहरूमा पनि चार्जिङ स्टेसन राख्ने तयारी गरेको छ । जसका कारण अब कार राजमार्गमा पनि गुड्न मिल्ने कम्पनीको दाबी छ ।

दुर्घटना हुन लागे अटोमेटिक रोकिने

यो कारमा एउटा यस्तो विशेषता रहेको छ कि यदि कुनै दुर्घटना हुन लाग्यो भने आफै रोकिने छ । यो कारमा राडार र सेन्सर जडान गरिएको छ, जसका कारण यदि गाडीको अगाडि कुनै वस्तु आएमा स्पिड आफै कन्ट्रोल हुने र आवश्यक परे रोकिने गर्छ । यसलाई अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टम भनिन्छ । जसका कारण यो कार आफ्नै कारणबाट दुर्घटनामा पर्ने सम्भावना ज्यादै कम हुन्छ ।

उकालोमा पनि सजिलै तान्ने

आइओनिक कारको टोर्क क्षमता २९५ एनएम रहेको छ । जसको कारण यो कारले उकालोमा पनि सहज ढङ्गबाट तान्न सक्छ भने चालकलाई कुनै अप्ठ्यारो पर्दैन ।

ग्राउन्ड क्लिरेन्स धेरै

अन्य विद्युतीय कारको ग्राउन्ड क्लिरेन्स १० सेन्टिमिटरभन्दा कम हुन्छ । तर आइओनिक कारको ग्राउन्ड क्लिरेन्स भने १५ सेन्टिमिटर रहेको छ । जसका कारण अन्य कारले जस्तै बिग्रिएको सडकमा पनि सहज ढङ्गबाट यो कार चलाउन सकिन्छ र उबडखाबडमा पनि कार जमिनमा ठोक्किने छैन ।

वार्षिक सडक दस्तुर ५ सयभन्दा कम

नेपाल सरकारले पनि विद्युतीय सवारीसाधनलाई उच्च प्राथमिकता दिएकाले सडक दस्तुर अत्यन्तै न्यून रहेको छ । आइओनिक कारको वार्षिक नवीकरण शुल्क ५ सय रुपियाँभन्दा कम लाग्छ । जबकि अन्य कारको वार्षिक नवीकरण शुल्क करिब २० हजार हाराहारी पर्ने गरेको छ । 

मूल्य

हुण्डाईको आइओनिक कार अन्य कारको जस्तो सबै विशेषता भएको कार हो । अन्य कार र यो कारमा अब केही भिन्नता रहेन । अन्य कारमा जस्तै यस कारमा पनि एसी, म्युजिक सिस्टम, फोल्डिङ सिट सबै सुविधा उपलब्ध छ । क्षमता पनि बढी र लागत कम भएकाले यो कारको मूल्य भने केही बढी नै छ । यो कार नेपाली बजारमा हाल ५२ लाख ९६ हजारमा बिक्री गर्न लागिएको छ । 

नाडा अटो सोबाटै नेपाली बजारमा भित्र्याइएको यो कारका लागि हाललाई करिब १ लाख रुपियाँ छुटसमेत दिइएको छ । 

उपभोक्ताको राम्रो रुचि

नाडा अटो सोमा उपस्थित धेरै उपभोक्ताले यो कारप्रति रुचि देखाएको हुण्डाईका सहायक महाप्रबन्धक दीपक थपलियाले बताए । धेरै उपभोक्ताले राम्रो रेस्पोन्स दिएको र वातावरणमैत्री तथा कम खर्चमै सञ्चालन गर्न सकिने भएकाले काठमाडौँलगायत मुख्य सहरहरूरुमा यसको माग बढ्ने कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप