शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

बुधबार, २७ भदौ २०७५, २१ : १६
बुधबार, २७ भदौ २०७५

काठमाडौँ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । 

सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरे । 

सो केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ । सो केवलकारमा ६ वटा स्टेशन रहनेछन् । पहिलो शुरुवाती स्टेशन वीरेठाँटीमा हुनेछ । त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथ रहनेछ । 

सो आयोजनाको कूल लागत करीब ३५ अर्ब लाग्ने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।  गत वैशाख १५ गते बसेको बोर्डको ३० औँ बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो । बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो । 

समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महीनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डसमक्ष पेश गर्नुपर्ने प्रवक्ता वाग्लेले जानकारी दिए । नेपालमा निजी क्षेत्रबाट केवलकार निर्माण शुरु भई सञ्चालनमा आएको करीब डेढ दशकपछि सार्वजनिक निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केवलकार निर्माण गर्न लागिएको हो । 

पछिल्लो पटक नेपालमा केवलकार निर्माणका लागि स्थानीय तहले नै पहल गर्दै आएको छ । मनकामना केवलकार र चन्द्रागिरिमा केवलकार निर्माण भई सञ्चालनमा आइसकेको छ । यस्तै दोलखाको कालीञ्चोकमा समेत केवलकार निर्माण सम्पन्न हुने चरणमा छन् । 

हाल देशभर दुई दर्जनभन्दा बढी स्थानमा केवलकार निर्माणका लागि पहल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप