शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोलखाका ७ स्थानीय तहको पहिलो किस्ताको रकम रोक

बुधबार, २७ भदौ २०७५, १३ : ५७
बुधबार, २७ भदौ २०७५

दोलखा– आर्थिक विवरण नबुझाउँदा दोलखाका सातवटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ ।  दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसके पनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरणनै बुझाएका छैनन् । 

जिल्लाका दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र जिरी नगरपालिकाले भदौ ६ गते पहिलो किस्ताबापतको रकम निकासा लगेको छ । भीमेश्वर नगरपालिकाले पहिलो किस्ताबापत रु १० करोड १७ लाख ७५ हजार रकम पाएको छ, भने जिरी नगरपालिकाले रु पाँच करोड ८८ लाख ५० हजार रकम निकासा लगेको छ । 

आर्थिक विवरण बुझाएका दुई नगरपालिकालाई निकासा दिए पनि गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण बुझाउन बाँकी रहेकाले पहिलो किस्ताबापतको रकम लैजान नसकेको प्रमुख कोष नियन्त्रक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए । 

गाउँपालिकातर्फ चालु आर्थिक वर्षका लागि सबै भन्दा बढी रु २९ करोड ८३ लाख ३० हजार बजेट पाएको कालिञ्चोक गाउँपालिकाले पहिलो किस्ताबापत रु सात करोड ३९ लाख ५० हजार पाउनेछ ।

त्यसमध्ये चार करोड १० लाख सर्शत अनुदान हो भने रु तीन करोड २९ लाख ५० हजार वित्तीय समानीकरण बापतको रकम हो । गौरीशङ्कर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कूल रु २२ करोड ४० लाख ३८ हजार बजेट पाएकोमा पहिलो किस्ताबापत रु पाँच करोड ५३ लाख ५० हजार पाउनेछ । त्यसमध्ये रु दुई करोड ६३ लाख ५० हजार वित्तीय समानीकरण र रु दुई करोड ९० लाख सशर्त अनुदान हो । 

तामाकोशी गाउँपालिकाले पहिलो किस्तामा रु दुई करोड ८८ लाख ५० हजार वित्तीय समानीकरण र रु तीन करोड ८० लाख सशर्त अनुदान गरी कूल रु ६ करोड ६८ लाख ५० हजार पाउनेछ ।तामाकोशी गाउँपालिकालाई चालु वर्ष केन्द्र सरकारले रु २६ करोड ९० लाख ४० हजार बजेट विनियोजन गरेको छ । 

यसैगरी कुल रु २४ करोड ७८ लाख ३७ हजार बजेट पाएको वैतेश्वर गाउँपालिकाले पहिलो किस्तामा रु ६ करोड १५ लाख बजेट पाउनेछ । त्यसमा रु ३ करोड २० लाख सशर्त अनुदान र रु २ करोड ९५ लाख वित्तिय समानिकरण अनुदान हुनेछ । 

मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष रु २७ करोड ४२ लाख ३७ हजार कुल बजेट पाउनेमा पहिलो किस्तामा रु २ करोड ९९ लाख वित्तीय समानीकरण र रु ३ करोड ८० लाख सशर्त अनुदान गरि कुल रु ६ करोड ७९ लाख बजेट पाउनेछ । 

चालु आर्थिक वर्ष कूल रु २३ करोड ७२ लाख ४२ हजार बजेट पाएको विगु गाउँपालिकाको लागि पहिलो किस्तामा रु ५ करोड ९२ लाख बजेट निकासा हुनेछ । त्यसमध्ये रु २ करोड ८२ लाख वित्तीय समानीकरण र रु ३ करोड १० लाख सशर्त अनुदान हो । 

यस्तै, शैलुङ गाउँपालिकाले पहिलो किस्तामा रु २ करोड ८२ लाख ७५ हजार वित्तीय समानीकरण र रु २ करोड ९० लाख सशर्त अनुदान गरी कूल रु पाँच करोड ७२ लाख ७५ हजार पाउनेछ । शैलुङ गाउँपालिकालाई चालु आर्थिक वर्षका लागि भने कूल रु २२ करोड ९३ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ । तर हालसम्म कुनै पनि गाउँपालिकाले पहिलो किस्ता बापतको रकम निकासा भने लगेका छैनन् । 

गाउँपालिका गत आर्थिक वर्षको हिसाब बुझाउने प्रक्रियामा रहेकाले चाँडै निकासा लैजाने प्रमुख कोष नियन्त्रण न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप