शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीजमा विगत सम्झँदै देवघाटका वृद्धवृद्धा

बुधबार, २७ भदौ २०७५, १२ : ४६
बुधबार, २७ भदौ २०७५

– नारायण अधिकारी 

चितवन– पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् ।  कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर खुवाउने वृद्धाहरू यतिबेला विगत सम्झँदै मलिन अनुहारमा देवघाटका वृद्धाश्रममा बसिरहेका छन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा हाल १९ वृद्धा तथा ११ वृद्धले आश्रय लिइरहेका छन् । 

सिन्धुलीकी ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठलाई हिजोआज चाडपर्व आएपछि निकै नरमाइलो लाग्ने गर्छ । उनले भनिन्, ‘घरबाट लखेटिए पनि चाडपर्व आएपछि झलझली आफन्त सम्झन्छु ।’ पन्ध्र वर्षअघि श्रीमानको स्वार्गारोहणसँगै घरबाट निकालिएकी उनी आफन्तको सहारामा वृद्धाश्रम आएकी हुन् । तीजको बेला माइत मावल जानु छैन के गर्नु ?’ उनले दुःखेसो पोखिन् । 

स्याङजाबाट ६ वर्षअघि आएकी ८६ वर्षीया चन्द्रकला मरासिनीलाई दिदीबहिनीले बोलाउने गरेको भए पनि जान मन लाग्दैन । ‘आफू १७ वर्षकी हुँदा श्रीमान बितेपछि चाडपर्वमा कहिल्यै रमाइलो भएन,’ उनले भनिन् । सासुससुरा भइन्जेल घरमै बसेको भए पनि उनको निधनपछि जेठाजुका छोरा बुहारीको टोकसो सहन नसकेर उनी यहाँ आश्रित भएकी हुन् । ‘मन रमाइलो भएपो चाडपर्व रमाइलो हुन्छ’ उनले भनिन् । 

विगत १५ वर्षदेखि वृद्धाश्रममै बस्दै आएकी ८६ वर्षीया सुभद्रा पुडासैनीलाई तीजको गीत गाएर नाचगान गरेको देख्दा आँशु आउँँछ । झलझली परिवार सम्झने भन्दै उनले भनिन्, ‘लक्का जवान छोरो बसले किचेर मर्यो , अब मैले कसका लागि रमाइलो गर्ने ।’ एक छोरी भए पनि वृद्धाश्रममा ल्याएर राखेपछि भेट्न नआएको उनको गुनासो छ । हेटौंडा घर भएकी उनलाई श्रीमानले अर्की श्रीमती ल्याएपछि घरबाट निकालिएको हो । 

भरतपर महानगरपालिका–११ घर भई हाल वृद्धाश्रम बस्दै आएकी ८३ वर्षीया शिवकुमारी शर्मा चाडपर्व नआउँदा नै खुशी लाग्ने बताउँछिन् । चाडपर्वले पीडा सम्झाउने भन्दै उनले भनिन्, ‘हामीलाई के तीज, के दशैं, के तिहार ।’ तन्नेरी हुँदा गरेका रमाइला पल भने उनीसामु अहिले पनि ताजै छन् । आजभोलि नाचगान गर्न नगए पनि गीत बिग्रिएको देख्दा उनलाई राम्रो लागेको छैन । श्रीमान बेपत्ता भएपछि छोराछोरी भएर पनि लखेटिएर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता रहेको उनले बताइन् । 

वि.सं २०५२ मा खोलिएको सो केन्द्रमा वेसहारा वृद्धवृद्धा राखिँदै आएको छ । केन्द्र हेर्दै आएका ढकराज कोइरालाका अनुसार चाडपर्व आएपछि वृद्धाश्रममा रहेका वुबाआमा निकै नरमाइलो मान्ने गर्छन् । दाताको सहयोगमा चाडपर्वमा मिठो खानेकुरा खुवाउने तथा लत्ताकपडा दिइने गरे पनि यसले उनीहरूलाई नछुने कोइराला बताउँछन् ।

वृद्धाश्रममा बस्ने क्रममा वृद्ध भएर भण्डै २०० वृद्धवृद्धाको निधन भइसकेको छ । देवघाटमै अन्य दुई वृद्धाश्रम सञ्चालनमा छन् । रोटरी करुणालय र एनआरएन वृद्धाश्रममा मासिक शुल्क तिरेर वृद्धवृद्धा राख्ने गरिएको छ । ती दुई वृद्धाश्रममा गरी ७० वृद्धवृद्धा छन् । उनीहरूमध्ये कतिपय आफ्नै इच्छाले आएका हुँदा परिवारप्रति ठूलो गुनासो छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप