केन्द्रीय संस्करण

तीज हिजो, आज र भोलि

person access_timeभदौ २७, २०७५ chat_bubble_outline0

देशको विकास, प्रगति र उन्नतिमा त्यो देशको भाषा, कला र संस्कृतिले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । राम्रा संस्कार र संस्कृति मुलुकका गहना हुन् । समय, अवस्था र परिस्थितिअनुसार यिनीहरूमा समयसापेक्ष  परिवर्तन हुनु जरुरी छ । हाम्रा संस्कृति र परम्पराहरू राम्रा छन् भने पुराना हुन् भनेर छाड्न हुँदैन अनि नराम्रा छन् भने हाम्रा परम्परा हुन् भनेर आँखा चिम्लेर मान्न पनि हुँदैन । 

अब हाम्रो सोचमा परिवर्तन हुनु जरुरी छ । मानसिकता परिवर्तन भयो भने व्यवहारमा पनि सजिलो हुन्छ । आज केही तीज विशेष समारोहरूमा गरगहना नलगाई महँगा साडी नलगाई तीज मानेका खबरहरू सुन्न र देख्न पाइन्छ तर तिनैले घरमा भने बीसौँ तोलाका सुनका गहना सञ्चय गरेर राखेका हुन्छन् । केही क्षणका लागि मलाई केही भन्छन् कि भन्ने डरले देखावटी रूपमा गरगहना प्रदर्शन नगर्दैमा बनावटी परिपक्वताले खासै परिवर्तन ल्याउन सक्दैन ।  

हिजोको तीज
केही समय पहिले कम उमेरमा बिहे हुन्थ्यो । यातायातको व्यवस्था राम्रो थिएन । बिहे गरेका घरमा जान एक दुई दिन पैदल नै हिँड्नु पर्दथ्यो । महिलाहरू विशुद्ध चुलाचौका, खेतीपाती र पशुपालनमा नै व्यस्त थिए । त्यो बेलामा विशेष गरी हिन्दू महिलाले मनाउने तीजले छुट्टै महत्व राख्दथ्यो । कामको चटारोमा विश्राम पाएर आफू जन्मेहुर्केको घरमा जान पाउनु, दुःख गरी कमाएर वा ऋण नै खोजेर भए पनि मीठो दर खान पाउनु ।  दिदीबैनी भेला भएर दुःखसुखका गीतहरू गाउनु र नाच्नुलाई त्यो बेलाको समयमा नराम्रो भन्न मिल्दैन । विभिन्न पौराणिक कथाहरूलाई आधार बनाएर पतिको दीर्घायूका लागि भनेर व्रत बस्ने चलन भने राम्रो होइन । घण्टौँ लाइनमा भोकै उभिएर शिवलिङ्गको पूजा गर्नु आफ्नै शरीरका लागि घातक हुनसक्छ । यो पुरुषहरूलाई मालिक बनाउने बलियो आधार हो । रजस्वलाको पाप पखाल्न भनेर ऋषि पञ्चमी पूजा गर्ने चलन छ । यो वैज्ञानिक दृष्टिकोणबाट गलत हो ।

दाजुभाइहरू पैदल हिँडेर आफ्ना दिदीबहिनीहरूको घरमा गएर तीज मान्नका लागि ल्याउने चलनलाई सकारात्मक रूपमा लिन पर्छ । यसो गर्दा दाजुभाइ र दिदीबैनीहरू बीचमा एक आपसमा माया, ममता र सद्भाव बढ्ने गर्दछ । विभिन्न घटनाक्रमलार्ई गीत बनाएर तीजमा गाउने चलन हिजोको तीजमा व्यापक थियो । मनमा अन्तरनिहित कुण्ठाहरूलाई गीतको माध्यमबाट सबै जम्मा भएर गाउँदा मन हलुङ्गो हुनुको साथै घटनाको जानकारी सबैले थाहा पाउनु पनि एक प्रकारको राम्रै चलन मान्न सकिन्छ । 

पुरुषले महिलालाई हेपेका कुरा, महिलाले महिलालाई नै हेला गरेका कुरा अरू बेलामा भन्ने उपयुक्त अवसर हुँदैनथ्यो । तीजको भाकामा गीत बनाएर गाउँदा कसैले पनि आरोप लगाउने गर्दैनथे । सासूको बुहार्तन बल्ल बल्ल खपेकी छोरी केही दिनलाई भए पनि आमा बाबासँग आएर बस्न पाउँदा मनभित्रै राहातको अनुभव हुन्थ्यो । मनभित्रका गहिरा चोट, पीर र मर्कालाई पोखेर हलुङ्गो बनाउने माध्यम बनेको थियो तीज । महिलाले राम्रो कुरा गर्दा ‘पोथी बासेको राम्रो हुन्न’ भन्ने हाम्रो समाजमा तीज नै आफ्ना कुरा ओकल्ने माध्यम बनेको थियो । 

गीतको साथमा हाम्रा मौलिक बाजाहरू बजाउने गरिन्थ्यो । मादल, मजुरा, खैजडी, बाँसुरी, एकतारे लगायतका स्थानीय बाजाहरू धेरैका घरमा हुन्थे । यसले पनि हाम्रा मौलिक संस्कृति जगेर्ना गर्नमा निकै राम्रो काम गरेको थियो । सम्पन्न महिलाहरूले हिजोको तीजमा पनि सुन चाँदीका गहनाहरू लगाउने चलन थियो । जसले गर्दा गरिब महिलाहरूले ऋण खोजेर भए पनि गहना किन्न बाध्य बन्दथे । यो पुरुषहरूले महिलाहरूलाई आफ्नो बसमा पार्नका लागि बिहेमा गरगहना लगाइदिने चलन बनाएको हुनाले नै महिलाहरूको  मानसिकता कमजोर बनाइएको  हो, जुन अहिले पनि व्यापक छ । 

आजको तीज 
आधुनिकताको नाममा आजको तीजमा झन् बढी विकृति र विसङ्गतिहरू भित्रिएका छन् । तीजको मौलिकपन हराउँदै गएको छ । सोसल मिडियामा जस्तासुकै तीजका गीतको चर्को प्रचार प्रसार भइरहेको छ । जान्नेबुझ्नेहरूले यस्ता  समाजमा अपाच्य हुने टाइपका गीत र म्युजिक भिडियोले तीजमा विकृति ल्यायो भन्ने गर्छन् तर उनीहरूले नै सबैले भन्दा बढी तिनै भिडियो हेर्ने र उनैलाई सम्मान गर्ने संस्कृति विकास हुँदैछ ।  वास्तविक तीजका गीतहरू, भाकाहरू अनि मौलिक बाजाहरू हराउँदै गएका छन् ।

पहिलाको तीजमा खाने दरमा लोकल उत्पादन हुन्थ्यो तर आजको तीजमा सबै विदेशी उत्पादनमा मख्ख पर्न थालेका छौँ । दूध, घिउ र  दहीले बिस्तारै विश्राम लिँदैछ एकातिर भने अर्कोतिर  महिलाहरू पनि सफ्ट ड्रिङ्क्स र हार्ड ड्रिङ्समा रमाउने क्रम बाक्लिँदैछ । यहाँ मैले पुरुषहरूले खान हुन्छ, महिलाहरूले हुन्न भन्न खोजेको होइन । सके पुरुषहरूलाई पनि रक्सीजन्य पदार्थ खानबाट रोकाँै, महिलाहरूले पनि आधुनिक बन्ने, समान बन्ने होडमा वाइन र अन्य ड्रिङ्सको लतमा नलाग्नु नै उत्तम हुन्छ ।

आजको तीज गाउँमा भन्दा बजारतिर निकै गहु्रँगो बन्दै गइरहेको छ । विभिन्न सङ्घ संस्थाले महिनौँ दिन अगाडिदेखि विभिन्न पार्टीप्यालेस, होटल, कटेज र क्याफेहरूमा दर खाने क्रम सुरु गर्दछन् । हुनेखानेहरूमा नगद पैसा उठाएर महँगो दररेटको दिनहुँ दर खाने कार्यक्रमले खासै कुनै उपलब्धि हुँदैन । विभिन्न पार्टीका नेताहरूले  पनि विभिन्न समूहका आफ्ना कार्यकर्ताहरूलाई दर खुवाउने गर्दछन् । सम्पन्नहरूसँग पैसा मागेर आफ्नो पार्टीले दर खुवायो भनेर मख्ख पर्नुभन्दा त्यो पैसा कुनै आयआर्जन गर्न मिल्ने किसिमका तालिम, सेमिनार र गोष्ठीहरू सञ्चालन गर्नु राम्रो हुन्छ । 

आज तीजको सबैभन्दा नराम्रो चलन व्रत बस्ने अनि शिवलिङ्गको पूजा गर्ने क्रम गाउँमा भन्दा बजारमा व्यापक भएको छ । गाउँका मन्दिरमा भन्दा बजारका मन्दिरमा व्यापक छन् शिवलिङ्गहरू । अनि सम्पन्न र वरिष्ठ भनेका महिलाहरूको घरभित्रको पूजाकोठामा तिनै ठूला ठूला शिवलिङ्गका मूर्तिहरू छन् । आजको एक्काइसौँ शताब्दीमा तीजको चलन भनेर यस्ता नराम्रा कुराहरूलाई नहटाउने हो भने हामी नेपाली महिलाहरू माथि उठ्न अझै एक शताब्दी नै लाग्नसक्छ । 

केही महिलाहरू तीज भनेको महिलाहरूलाई पछाडि पार्नकै लागि बनाइएको हो, यसलाई कुनै हालतमा पनि मान्न हुन्न भन्ने सोच र दृष्टिकोण बोकेको पाइन्छ । उनीहरू  तीज दमनको एक रूप मात्र हो भन्ने मान्यतालाई स्थापित गर्न खोज्छन । यो अतिवादी सोच दुई चार वर्ष अगाडि दशैँ बहिष्कार भन्ने र अहिले निधारभरि टीका लगाएर मनाउने चलन जस्तै त बन्दैन भन्ने मेरो प्रश्न छ । 
 
भोलिको तीज कस्तो मनाउने 
तीज नेपालीहरूले धेरै पहिलादेखि मनाउँदै आएको पर्व हो । यसको छुट्टै पहिचान र महत्व छ । आजको समय सन्दर्भ, परिस्थिति अनुसार यसलाई मनाउने शैलीमा भने परिवर्तन गर्नु जरुरी छ । तीजमा राम्रा कुराहरूलाई, राम्रा पाटाहरूलाई उजागर गर्नु छ एकातिर भने अर्कोतिर नराम्रा पाटाहरूलाई चटक्कै छोड्न मानसिक रूपमै तयार हुनुपर्छ । पुरुषप्रधान समाजलाई प्रश्रय दिन तयार पारेका कथाहरूको नक्कल गरी तीजमा पतिको दीर्घायुको कामना गरेर व्रत बस्नु आवश्यक छैन । यसलाई एउटा अभियान नै बनाएर हटाउनु पर्दछ । 

महिलाहरूलाई आफ्नो बसमा पार्न विवाहमा सिन्दुर, पोते, चुरा लगाइदिने चलन चलाए । यही चलनलाई मलजल गर्न तीजमा भएभरका गरगहनाहरूले सजिने हाम्रो खराब चलन र मानसिकता त्याग्नुपर्दछ । सामान्य, सजिलो, साडी ब्लाउज लगाउँदा त्यही ड्रेस अपलाई सुहाउने किसिमको सादा माला वा पोते लगाउँदा पुरुषकै दासत्व स्वीकारेका भनेर बहस गर्नु पनि जायज हुँदैन । कुरा यहाँ मानसिकताको हो । जतिसुकै आधुनिक कपडाहरूमा सजिसजाउ भए पनि मानसिकता कमजोर छ भने त्यसले व्यावहारिकतामा कुनै परिवर्तन ल्याउन सक्दैन । लगाउने र खाने कुराहरू भनेको व्यक्तिगत स्वतन्त्रताका कुरा हुन् । जसलाई जे मनपर्छ, जे मनलाग्छ त्यही गर्छन् । यसमा चाडबाडको विषय बनाएर बहस गर्न जरुरी छैन । जे लगाए पनि, जे खाए पनि अबका महिलाहरूको मानसिकता मजबुत हुन जरुरी छ । 

सृष्टिको नैसर्गिक अधिकार रजस्वलालाई हाम्रो समाजले सहज रूपमा स्वीकार्न सकेको छैन । यसैको नाममा छाउपडी प्रथा आज पनि विद्यमान छ । त्यसैले तीजको ऋषिपञ्चमीमा गर्ने पूजालाई हामी सबै महिलाहरू मिलेर आफूले पनि नगर्ने र अरू महिलाहरूलाई पनि नगर्नका लागि एउटा दह्रो अभियान नै चलाउनु पर्दछ । सरकारले पनि सार्वजनिक बिदा कटौती गर्दा ऋषिपञ्चमीको बिदा कटाएर राम्रो काम गरेको छ । आजको सन्दर्भमा कुन कुरा राम्रो र कुन कुरा नराम्रो भन्नका लागि वैज्ञानिक आधारलाई समाउनु पर्दछ ।

हाम्रा संस्कार र परम्पराहरू हुन् भन्दैमा खराब चलनलाई सिनौझैँ च्यापेर बस्न हुँदैन । 
तीज पर्व आफैमा नराम्रो होइन तर हामीले मान्ने तरिका र सोचहरूले यसलाई विकृतिमूलक बनाउँदै गइरहेको छ । अब हामीहरूले यसका नराम्रा पक्षहरूलाई जरैदेखि उखेल्नुपर्दछ । तीज पर्वलाई एउटा सभ्य, राम्रो, शालिन, सुपाच्य तीजका रूपमा विकास गर्नु जरुरी छ ।

दिदीबहिनी र  दाजुभाइबीचको वात्सल्य भावनाको पुनर्मिलनको अवसरका रूपमा  परिष्कार गर्नु पर्दछ ।  तीजको दर खान स्थानीय उत्पादन प्रयोग गर्ने चलन चलाउनुपर्छ । महिलाहरूलाई माथि उठ्न सजिलो बनाउने सन्देश दिने तीज गीतहरू, लोकल तीजकै भाकामा गाउनुपर्छ । अनावश्यक रूपमा महिनौँ अगाडिदेखि दर खाने भन्दै महँगा होटलहरूमा जम्मा हुने चलन त्याग्नुपर्छ । हाम्रा स्थानीय मौलिक लोकबाजाहरू मादल, मजुरा, खैजडी, बाँसुरी आदिको जगेर्ना गर्न जरुरी छ । तीज हामी नेपालीहरूको पुरानो पर्व हो । यसका नराम्रा पक्षहरूलाई चटक्कै त्याग्दै राम्रा पक्षहरूको जगेर्ना गर्नुपर्दछ । 

सेल्फी, नाचगान र पूजा : तस्विरमा यस्तो देखियो पशुपतिको तीज


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ