शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्य बन्दै नवलपरासीको देवचुली डाँडा

बुधबार, २७ भदौ २०७५, ०९ : ०३
बुधबार, २७ भदौ २०७५

नवलपरासी — पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् । 

देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी बताउँछन् ।  नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जङ्गलमा बाघ, हात्ती, गैँडालगायत वन्यजन्तु हेर्नसमेत पर्यटक आउन थालेका छन् । 

देवचुली क्षेत्रको धार्मिक तथा ऐतिहासिक पुरातात्विक महत्वका बारेमा प्रचार–प्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरीले बताए । यहाँ समितिले एक हजार ९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावर निर्माण गरेको छ । उक्त भ्यूटावरबाट मनोरम दृश्यावलोकन गर्न सहज भएको छ । 

पूर्वी नवलपरासीको एक मात्र पदयात्राका लागि उपयुक्त ठाउँ देवचुली डाँडालाई चिनाउन देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकाले संयुक्त योजना बनाउनु आवश्यक छ । “सम्वद्र्धन र प्रवद्र्धनका लागि मिलेर काम गरिरहेका छौँ,” बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटीले भने, देवचुलीबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

यहाँ पदयात्राका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या अत्यधिक छ । यहाँ आउने बाह्य पर्यटकको सङ्ख्या न्यून छ । पर्याप्त प्रचार–प्रसार गर्न सके देवचुली डाँडा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । देवचुली डाँडामा पूजालाई व्यवस्थित गर्न तीन कन्यामाइको मन्दिर निर्माण तथा खानेपानीका लागि फेदीमा व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप