शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगारको तथ्याङ्क अब एकीकृत प्रणालीमा : यसरी हुँदैछ ‘इन्टरलिंक’

एउटाको पासपोर्टमा अर्को व्यक्ति उड्ने दिनको अन्त्य
सोमबार, २५ भदौ २०७५, १८ : ०९
सोमबार, २५ भदौ २०७५

काठमाडौँ । वैदेशिक रोजगारको लागि विदेशिने युवाहरुको सङ्ख्या वार्षिक करिब ४ लाखको हाराहारीमा रहेको हामी दाबी गर्छौँ । यो दाबी वैदेशिक रोजगार विभागबाट लिइएको श्रम स्वीकृतिको आधारमा तयार गरिने र त्यहीँबाट प्राप्त हुने डाटामा आधारित तथ्याङ्क मात्रै हो । 

विभागबाट रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने सबै युवायुवती विदेश पुग्छन् भन्ने पनि होइन । तर, वैदेशिक रोजगार विभाग वा सरकारसँग कति युवायुवती रोजगारीका लागि विदेशिए भन्ने आधिकारिक तथ्याङ्क नहुँदा यकिन तथ्याङ्क पाउनै मुस्किल थियो । 

त्यतिमात्रै होइन, वैदेशिक रोजगारीमा गएकामध्ये कति मानिस फर्किए भन्ने तथ्याङ्क पनि सरकारसँग छैन । जसका कारण श्रम स्वीकृति लिनेको सङ्ख्या देखिएपनि फर्कनेको सङ्ख्या देखिएको थिएन । 

तर, अब भने वैदेशिक रोजगारीमा जाने मात्रै होइन, उताबाट फर्कनेको एकीकृत तथ्याङ्क सरकारसँग हुने भएको छ । त्यतिमात्रै होइन, अब राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन विभाग, दूतावास तथा वैदेशिक रोजगार विभागबीच एकीकृत तथ्याङ्क संकलनको काम शुरु हुन लागेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा असोज १५ गतेदेखि एकीकृत तथ्याङ्क संकलनको काम सुरु हुने भएको छ । 

सोमबार श्रम मन्त्रालयले पत्रकार सम्मेलन गरी एकीकृत तथ्याङ्क किन र कसरी राखिने तथा कुन कुन निकायसँग कसरी अन्तरसम्बन्ध हुने भनी जानकारी गराएको छ ।

यसरी हुँदैछ इन्टरलिंक

करिब १ वर्ष लगाएर तयार पारिएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) सफ्टवेयरको परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा उक्त सफ्टवेयरले राम्रोसँग काम गरेको छ । अब लगत्तै इन्टरलिंक हुनुपर्ने विभिन्न निकायसँग यसको लिंक गराइने छ र तथ्याङ्कलाई एकीकृत बनाइने छ ।

दूतावासँग यसरी हुन्छ इन्टरलिंक

वैदेशिक रोजगार विभागले तयार पारेको सफ्टवेयर अब विदेशस्थित नेपाली दूतावासमा पठाइने छ । त्यहाँको कुनै निश्चित कम्प्युटरमा मात्रै खोल्न मिल्ने गरी युजर नेम र पासवर्ड प्रदान गरिनेछ । त्यसलगत्तै त्यहाँबाट वैदेशिक रोजगारीमा आएका माग वा पूर्व स्वीकृतिको विषयमा त्यहीँबाट छानबिन गरी अनलाइनबाटै भेरिफाई गरिनेछ । यसो गर्दा झूटो विवरण पेश गरी कामदारको माग ल्याउने वा नक्कली मागपत्र ल्याउने समस्या समाधान हुनेछ । 

त्यसैगरी यसै सिस्टमबाट अनलाइनमार्फत् नै गुनासो वा उजुरी गर्न सकिने भएकाले एक क्लिकको भरमै सम्पूर्ण विवरण आउने भएकाले कुनै व्यक्ति समस्यामा परेमा तत्कालै ट्रयाक गरी समस्या समाधान गर्न सकिने छ । 

अध्यागमन विभागसँग यस्तो हुन्छ डाटा सेयरिङ

सबैभन्दा महत्वपूर्ण निकाय अध्यागमन विभागसँग पनि वैदेशिक रोजगारीको सम्पूर्ण तथ्याङ्क रहनेछ । वैदेशिक रोजगार विभागको सफ्टवेयर अब अध्यागमन विभागको सिस्टमसँग इन्टरलिंक गरिनेछ । त्यसलगत्तै रोजगारीका लागि बाहिर जाने वा बाहिरबाट आउने सम्पूर्ण नेपालीको एकीकृत तथ्याङ्क अध्यागमन विभाग र वैदेशिक रोजगार विभागमा रहनेछ । 

यो प्रणालीमा जोडिएलगत्तै कुनै व्यक्ति श्रम स्वीकृति लिएर विदेश गयो वा गएन तथा उताबाट कहिले फर्कियो भन्ने तथ्याङ्क रहनेछ । त्यसबाहेक कुनै देशमा वा कुनै क्षेत्रमा केही समस्या भएमा आफ्ना नागरिकको खोजी तथा उद्धारका लागि सहजता हुनेछ । 

त्यसबाहेक कुनै व्यक्ति आपराधिक गतिविधिमा संलग्न भई पक्राउ पुर्जी जारी भएको वा फरार रहेको व्यक्ति रहेछ भने पनि यो सिस्टमले ट्रेस गर्नेछ र त्यस्तो व्यक्तिलाई रोकी पक्राउ गर्न सकिनेछ । यसबाट अपराध गरी बाहिर जान खोज्ने व्यक्तिहरुलाई रोक्ने छ । 

एउटाको पासपोर्टमा अर्को व्यक्ति उड्ने दिनको अन्त्य

वैदेशिक रोजगार विभागले तयार पारेको यस सफ्टवेयरले अब राहदानी विभागसँग पनि डाटा सेयरिङ गर्नेछ । यसलगत्तै वैदेशिक रोजगार विभागबाट हुने डाटा इन्ट्रीमा रहेको कमजोरीमा कमी आउनुका साथै एकै क्लिकमा सबै डाटा हेर्न सकिने छ । त्यसबाहेक पासपोर्ट लिएकै व्यक्ति वैदेशिक रोजगारीमा जान लागेको हो हो कसैले बदमासी गर्दैछ भन्ने कुरा तत्काल पत्ता लाग्नेछ । 

यसअघि एकीकृत डाटा प्रणाली नहुँदा कुनै एक व्यक्तिको पासपोर्टमा अर्को व्यक्ति वैदेशिक रोजगारीमा जानसक्ने सम्भावना पनि थियो । तर अब भने त्यो क्रम रोकिने छ । किनभने अब फिङ्गर प्रिण्टदेखि आँखाको रेटिनासम्मको नमुना पहिले नै लिइएको हुन्छ । यस्तो अवस्थामा पासपोर्ट बनाउँदा राहदानी विभागसँग रहेको नमुना र वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागसँगको नमुना नमिलेमा कामदार एअरपोर्टबाटै फिर्ता हुनुपर्नेछ ।

६ वटा बैंकसँग पनि इन्टरलिंक

वैदेशिक रोजगार विभागले तयार पारेको यो सफ्टवेयरमा अहिले ६ वटा बैंकहरु पनि समावेश भएका छन् । ६ वटा बैंकले छुट्टै कम्प्युटरमार्फत् यो सिस्टम चलाउनेछन् । तर उनीहरुलाई बैंकिङ कारोबार गर्ने र त्यहीसम्बन्धि काम गर्नका लागि मात्रै स्वीकृति दिइनेछ ।

म्यानपावर कम्पनी लगायत अन्य व्यक्ति वा संस्थाले रकम बुझायो कि बुझाएन, कति रकम बुझायो लगायतका विषय विभागले तत्कालै हेर्ने सक्नेछ । यसले श्रम कार्यालय ताहाचालमा हुने भीड नियन्त्रण गर्नेदेखि सहजता प्रदान गर्नेछ । 

नक्कली बिमाको दिन सकियो

यो सिस्टम प्रयोगमा आएपछि अब नक्कली बिमा गरेर विदेश पठाउने गिरोहको दिनसमेत सकिने भएको छ । यस कामका लागि विभिन्न बिमा कम्पनीलाई सफ्टवेयरसँगै युजरनेम र पासवर्ड दिइने छ । त्यही युजरनेम र पासवर्डका आधारमा बिमा कम्पनीहरुले रोजगारीमा जानेहरुको बिमा गराउनेछन् । त्यसबाहेक बिमा प्रकरणमा अब दलाल वा मध्यस्थकर्ताको औचित्य सकिएको छ । यसअघि हाते लिखत हुने गरेको बिमा अब डिजिटलाइज्ड मात्रै हुने छैन, पहिले बिमा गरेर पछि क्यान्सिल गर्नेको दिन सकिनेछ । सँगसँगै नक्कली बिमालेख तयार गर्नेहरु पनि अब परास्त हुनेछन् । 

म्यानपावर कम्पनीसमेत प्रत्यक्ष निगरानीमा

यो सिस्टमले अब म्यानपावर कम्पनीहरुलाई पनि नियन्त्रण गर्न थप सहज हुनेछ । यसअघि सामान्य निगरानीमा मात्रै रहेका म्यानपावर कम्पनीहरु अब प्रतक्ष निगरानीमा रहनेछन् । कुनै म्यानपावर कालोसुचीमा परेमा, कामदार अलपत्र परेमा, किर्ते काम गरेमा विभागले रेकर्डमा राख्नेबित्तिकै सिस्टमले नै अन्य काम रोक्का राखिदिनेछ । जसका कारण म्यानपावर कम्पनीले पहिलेको उजुरी वा कामको फत्ते नभएसम्म नयाँ काम गर्न पाउने छैनन् । 

त्यसबाहेक यस सफ्टवेयर निर्माणपछि उद्धारमा सहजता ल्याउनेछ । एकीकृत डाटा प्रणाली प्रयोगमा ल्याउँदा दोहोरो डाटा इन्ट्री नहुने, काममा सहजता र छरितो हुने लगयातको काम हुनेछ । समग्रमा यस सफ्टवेयरले वैदेशिक रोजगारी अब थप सुरक्षित तथा सुलभ बन्नेछ । 

मोबाइल एप पनि तयार
वैदेशिक रोजगार विभागले यस सफ्टवेयरको निर्माणसँगै मोबाइल एप पनि सार्वजनिक गरेको छ । यस मोबाइल एप मुख्यतः कामदार वा सर्वसाधरणका लागि तयार पारिएको विभागले जनाएको छ । यस एपकै माध्यमबाट कामदारले आफूलाई परेको समस्या, गुनासो तथा उजुरी गर्न पाउनेछन् । उजुरीका आधारमा नजिकको नियोगबाट यसबारे अनुसन्धान, उद्धार वा कारवाहीको व्यवस्था हुनेछ । 

६ करोडमा तयार भयो सफ्टवेयर
वैदेशिक रोजगार विभागको मुख्य जिम्मेवारीमा तयार भएको यस सफ्टवेयर निर्माणका लागि करिब ६ करोड रुपैयाँ खर्च भएको छ । स्वीस सरकारको सहयोगमा निर्माण भएको यस सफ्टवेयरमा वैदेशिक रोजगार विभाग, राहदानी विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग तथा विभिन्न बैंकका आइटी विशेषज्ञहरुले काम गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप