बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेंसीशहर–चामे सडक खण्ड अवरुद्ध

सोमबार, २५ भदौ २०७५, १५ : ३५
सोमबार, २५ भदौ २०७५

बेंसीशहर– आइतबार बेलुकादेखि लगातार परेको पानीका कारण आएको पहिराबाट हिमालपारिको जिल्ला मनाङ जाने सण्डकखण्ड अवरुद्ध भएको छ । 

बेंसीशहर नगरपालिका–६ बेलौतीबिसौना नजीकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा बेंसीशहर–चामे सडक अवरुद्ध भएको हो । पहिराका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । 

सदरमुकाम बेँसीशहरबाट तीन किलोमिटरमा रहेको खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीयवासी बताउँछन् । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले स्थानीय तथा पैदलयात्रुलाई सजग रहन आग्रह गरिएको बताए । 

‘पहिरो खसेको थाहा पाउनासाथ प्रहरी परिचालन गरेका छौं । पैदलयात्रुले यात्रा गर्न पाएका छैनन् । बेंसीशहर खण्ड र मस्र्याङ्दी गाउँपालिका खण्डमा (पहिरो गएको स्थान नजीकै) प्रहरी परिचालन गरेका छौँ’, उनले भने, ‘पहिरो रोकिनासाथ सडक खुलाउछौँ ।’ 

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ भने पदैलयात्रुलाई समेत सास्ती भएको छ । प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गत वर्ष पहिरोपछि राखिएका ग्याबिन बगेर सडक भासिएको छ भने माथिबाट पहिरो खसिरहेको छ । 

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्घचाए पनि सुनुवाइ नभएको बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप