शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जलविद्युतमा लगानी र खरिद गर्ने बंगलादेश सरकारको प्रतिबद्धताले नेपाली पक्ष उत्साहित

सोमबार, २५ भदौ २०७५, १५ : १०
सोमबार, २५ भदौ २०७५

काठमाडौं– नेपालको जलविद्युत उत्पादनमा लगानी र उत्पादित बिजुली समेत आफैँ खरिद गर्ने बंगलादेश सरकारको योजना र प्रतिबद्धताले नेपाली पक्षलाई उत्साहित तुल्याएको छ । 

बंगलादेशले उर्जामा लगानी र खरिद दुबै गर्ने भएपछि नेपाली पक्षले त्यसको सुक्ष्म अध्ययन गर्दै विद्युत उत्पादनका लागि तत्काल गृहकार्य अगाडि बढाउने जनाएको छ । 

‘बंगलादेश सरकारसँग हालै भएको दुईपक्षीय सकारात्मक सम्वादले नेपालमा उत्पादन भएको बिजुलीलाई बजारको समस्या हुँदैन भन्ने देखाउँछ’ उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले भने, ‘अब हामी तीब्र गतिमा सम्भव हुने आयोजनाहरुको तत्काल अध्ययन र अनुसन्धान गर्दै प्रक्रिया अगाडि बढाउँछौ ।’ 

बंगलादेशको राजधानी ढाकामा गत साता भएको दुई पक्षीय सम्वादमा बंगलादेश सरकारले सुनकोशी २ र ३ जलविद्युत लगायत अन्य ठूला दुई आयोजना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । 

त्यस्तै सोही क्रमममा बंगलादेशले नौ हजार विद्युत किन्ने प्रस्ताव समेत गरेको थियो । ‘बंगलादेश सरकारले दिएको बचन र उसले अघि सारेका योजनाले नेपाल र नेपाली पक्षलाई उत्साहित मात्रै तुल्याएको छैन, बजारको समेत कमी हुँदैन भन्ने देखिएको छ’ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले रातोपाटीलाई बताए । 

मन्त्री पुनले भने, ‘यसले अब नेपाल र बंगलादेशबीच राजनीतिक र सांस्कृतिक सम्बन्ध मात्रै नभई, आर्थिक क्षेत्रमा समेत सहयोगको आदानप्रदान गर्ने ढोका खुलेको महशुस भएको छ ।’ 

नेपालमा ८३ हजार मेगावाट विजुली उत्पादन हुने विभिन्न सर्वेक्षणहरुले देखाएपनि त्यो विजुलीको बजारीकरणमा समस्या हुने भन्दै केही लगानीकर्ताहरुले लगानी गर्न अनिच्छा देखाएको भनिएका बेला बंगलादेशले अघि सारेका पछिल्ला योजनाहरुले नेपालले विद्युतको बजार पनि खोज्न सक्छ भन्ने संकेत देखिएको विज्ञहरुले बताएका छन् । 

वर्तमान सरकारले १० बर्षमा १५ मेगावाट विजुली उत्पादन गरेर नेपालमा खपत भएर बाँकी रहेको विद्युत बिक्री गर्ने लक्ष्य अघि सारेको छ । 

सोही लक्ष्यअनुसार ऊर्जामन्त्री पुनले बंगलादेश र चीनसँग दुईपक्षीय सहयोग आदान प्रदानबारे चरणचरणमा वार्ता र छलफल गर्दै आएका छन् । 

सार्क र बिमस्टेकका सदस्य राष्ट्रहरुबीच एक अर्कामा सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता अनुसार चाँडै यस विषयमा भारतसँग पनि छलफल गर्ने र सहयोग आदान प्रदान गर्ने विषयमा सहमति गर्ने योजना बनाएको ऊर्जामन्त्री पुनले बताए । 

मन्त्री पुन नेतृत्वको टोली उर्जा सहकार्यका विषयमा छलफल गर्न गत बुधबार बंगलादेशको राजधानी ढाका गएको थियो । सो टोली ढाकामा ‘पावर एण्ड इनर्जी सप्ताह’ मा सहभागि भएर शनिबारै नेपाल फर्किसकेको छ ।

ढाकामा भएको मन्त्रिस्तरीय वार्तामा बंगलादेशले ११ सय १० मेगावाटको सुनकोशी २ जलविद्युत आयोजना र ५३६ मेगावाट क्षमताको सुनकोसी ३ जलविद्युत योजनामा ज्वाइन्ट भेन्चरका आधारमा लगानी गर्ने प्रस्ताव अघि बढाएको थियो । 

‘पावर एण्ड इनर्जी सप्ताह’ मा विशेष अतिथिका रुपमा सहभागि भएका मन्त्री पुनले सम्मेलनको उद्घटन समारोहमा सम्बोधन गर्नुका साथै उर्जा सहकार्यको लागि क्षेत्रीय प्रशारण सञ्जालको सम्भावना नामक सेमिनारमा विज्ञका रुपमा समेत आफ्ना धारणा राखेका थिए । 

त्यसपछि मन्त्री पुनले बंगलदेशका समकक्षी मन्त्री नसरुल हमिदसँग द्धिपक्षीय भेटवार्ता गर्दै  आपसी हितका विषयमा समेत कुराकानी गरेका थिए । 

‘मन्त्रिस्तरीय बार्तामा समेत उहाँहरु उर्जामा सहकार्य गर्न तयार रहेको पाइयो यसले गर्दा हामीलाई थप उत्साह थपिएको छ’ मन्त्री पुनले बताए । 

त्यसक्रममा दुई देशबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छिट्टै काम अघि बढाउने सहमति समेत भएको थियो । त्यस्तै बंगलादेशका मन्त्री नसरुल हमिदले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव गरेका थिए । भेटवार्ताकै क्रममा मन्त्री हमिदले बङ्गलादेश मन्त्रिपरिषदले माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय गरिसकेको जानकारी गराएका थिए । 

‘बंगलादेशले उर्जा सहकार्यका लागि हात अघि बढाएपछि विद्युत आयोजनाहरु समयमै अघि बढ्ने र वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्साहित समेत बनाउने आशा लिएका छौँ’, उर्जामन्त्री पुनले विश्वास व्यक्त गरे ।

नेपाल र बंगलादेशबीच नेपालको अनारमणि र वङगलादेशको बन्दरगाह नजिकको बिन्दुमा ग्रिड कनेक्सनका लागि भारतसँग त्रिपक्षीय साझेदारीका लागि पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।  नेपाल–बङ्गलादेशबीच गत महिनामै ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी  

सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भइसकेको छ । बंगलादेशले सन् २०४१ सम्म ६० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न नेपालका ३ हजार १ सय ७१ मेगावाटका ४ जलासययुक्त आयोजनामा लगानी गर्न इच्छा देखाएको जनाइएको छ । 

बंगलादशले नेपालबाहेक भारत तथा भुटानबाट समेत जलविद्युत आयात गर्ने योजना बनाएको ‘पावर एण्ड इनर्जी’सम्मेलनका क्रममा जानकारी दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप