शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्याको डरलाग्दो तथ्याङ्क : प्रमुख कारण ‘डिप्रेसन’

सोमबार, २५ भदौ २०७५, १२ : ५३
सोमबार, २५ भदौ २०७५

आज आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारा राखेको छ । नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ । आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको दशौँ स्थानमा पर्दै आएको छ । प्रहरीको रिपोर्टलाई आधार मान्ने हो भने एक वर्षमा ५ हजारभन्दा धेरै नेपालीले आत्महत्या गर्ने गरेका छन् । मान्छे आत्महत्या गर्न किन बाध्य हुन्छन्, कस्ता व्यक्तिले आत्महत्या गर्छन्, नेपालमा आत्महत्याको अवस्था कस्तो छ, यसको रोकथाम र न्यूनीकरणका बारेमा मनोचिकित्सक तथा मार्क नेपाल सेवा केन्द्रका अध्यक्ष गोपाल ढकालसँग आत्महत्याविरुद्ध दिवसको अवसरमा जानकारी गराएका छन् । 
 
आत्महत्याको पहिलो कारण डिप्रेसन   
२०७४/०७५ मा प्रहरीमा आएको रिपोर्टअनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन् । तर प्रहरी समक्ष नआएको सङ्ख्या योभन्दा पनि धेरै हुनसक्छ । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा केही बढी नै रहेको बुझिएको छ । विगत ५ वर्षदेखि नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गइरहेको  छ ।  प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्यामा कम्तीमा पनि १३ प्रतिशत वृद्धि भएको देखिन्छ ।

नेपालमा हुने कुल आत्महत्यामध्ये ९० देखि ९५ प्रतिशत मानसिक रोगका कारणले हुनेगरेको पाइन्छ । त्यसमध्ये ८० प्रतिशतले डिप्रेसनको कारणले आत्महत्या गरेको पाइन्छ । कडा खालको मानसिक समस्याले ५ प्रतिशत, बुढेसकालमा हुने अल्जाइमर्स (विर्सने) समस्याले ५ प्रतिशत र जाँडरक्सी, ड्रग्स खाने र विभिन्न कारणले आत्महत्या गर्दै आइरहेका छन् । यस्तै महिलाको कुरा गर्ने हो भने प्रजनन् उमेरका १५ देखि ४५ वर्षसम्मका महिलाको मृत्युको पहिलो कारण आत्महत्या मानिदै आइरहेको छ । 

विश्वमा आत्महत्याको अवस्था 

विश्वमा आत्महत्या गर्नेको उमेरलाई हेर्ने हो भने १५ देखि २९ वर्षसम्मका किशोर किशोरीको मृत्युको दोस्रो कारण मानिदै आएको छ । यसैले विश्वभरी नै आत्महत्याले डरलाग्दो रूप लिँदै आएको  छ । विश्वको कुल तथ्याङ्क हेर्ने हो भने एक वर्षमा ८ लाखले आत्महत्या गर्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो सङ्ख्या बढेर सन् २०२० सम्ममा १५ लाख पुग्नेछ । 

विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् र प्रत्येक ३ सकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् । यस्तै डब्लूएचओको तथ्याङ्कअनुसार विश्वमा महिलाभन्दा पुरुषको आत्महत्या गर्ने सङ्ख्या धेरै रहेको छ । आत्महत्या गर्ने प्रयास पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै भए पनि मृत्यु हुने सङ्ख्या पुरुषको धेरै रहेको छ । जस्तै; ३ सय महिलाले आत्महत्याको प्रयास गर्दा एकजनाको मृत्यु हुन्छ भने १२ जना पुरुषले आत्महत्याको प्रयास गर्दा १ जनाको मृत्यु हुनेगरेको छ । यसको कारण पुरुषहरूले महिलाको भन्दा कडा खालको आत्महत्या गर्ने तरिका अपनाउँछन् ।

नेपाल टपटेनमा 

नेपालमा कतिले आत्महत्या गर्छन् भन्ने स्पष्ट तथ्याङ्क छैन । तर डब्लूएचओको तथ्याङ्क हेर्ने हो भने नेपालको सन्दर्भमा आत्महत्या गर्नेमा महिलाको सङ्ख्या अधिक रहेको छ । विश्वमा आत्महत्या गर्ने देशहरूको कुरा गर्ने हो भने महिलाको सङ्ख्यामा नेपाल तेस्रो रहेको छ । नेपालमा पनि प्रत्येक दिन १२ देखि १४ जनाले आत्महत्या गर्दै आइरहेको छ । यस्तै प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको छ । ३ वर्षअघिको तथ्याङ्क हेर्ने हो भने नेपाल विश्वमा आत्महत्या गर्ने देशहरूमध्ये साताँै नम्बरमा परेको थियो । र्याङकिङमा कहिलेकाहीँ तलमाथि परे पनि नेपाल आत्महत्या गर्नेमा विश्वमा टपटेनभित्र पर्दै आएको छ । 

डिप्रेसन मुख्य कारण 

डिप्रेसन सबैलाई हुने र सामान्य खालको समस्या हो । शरीरमा रुघाखोकी लागेजस्तै डिप्रेसन सामान्य मानसिक समस्या हो । परिवारले बुझ्न नसक्दा, भन्न नसक्दा परिवारसँग सहयोग माग्न नसक्दा यो बढ्दै जाने हो । व्यक्तिलाई भने डिप्रेसन भएको थाहा हुन्छ । डिप्रेसन भएको व्यक्तिमा निन्द्रा लाग्नु, निरास हुनु, नकारात्मक सोच आउनु, खाना खान मन नलाग्नु, झर्काे लाग्नु, गर्दै आएको काम छोड्नु, पहिला सजिलो लागेको काम पछि गाह्रो लाग्न थाल्नु, यो जिन्दगीमा केही पनि गर्न सकिएन भन्ने नकारात्मक कुरा सोच्दै जानु डिप्रेसनका लक्षण हुन् । यो समयमा परिवारको साथ पाएन भने मात्रै अन्तिम अवस्थामा आत्महत्या गर्छन् ।

डिप्रेसन भएको व्यक्तिले एकै पटक आत्महत्या गर्दैन, धेरै कुरा सोच्ने र प्लान बनाउँदै जान्छन् । डिप्रेसनमा परेको १५ देखि २० प्रतिशत मान्छेले मात्रै आत्महत्या गर्छन् ।  

डिप्रेसनलाई आत्महत्याको मुख्यकारण मानिदै आएको छ । डिप्रेसन भनेको रोग हो । डिप्रेसन हुँदा मानिसमा निरासा छाउँछ । काममा सफलता नमिल्नु, बेरोजगार हुनु, आफन्तको मृत्यु हुनु, वैदेशिक रोजगारी डिप्रेसन हुनुको मुख्य कारण हो । नेपालको आत्महत्यालाई हेर्ने हो भने पनि वैदेशिक रोजगारमा जाने युवाहरू धेरै सङ्ख्यामा आत्महत्या गर्दै आइरहको छन्  । यस्तै वैदेशिक रोजगारीमा जाने महिलाको बारेमा कुरा गर्ने हो भने साहुले गर्ने दुव्र्यवहारको कारण धेरै निराश हुन्छन् । काम गर्न मनलाग्दैन, घर फर्किंदा ऋण हुन्छ । अनि अन्तिम अवस्थामा आत्महत्या गर्नेतर्फ लाग्छन् । सामाजिक सञ्जाल, मिडियाले पनि प्रमोट गरेको कारण आत्महत्या गर्नको सङ्ख्या बढ्दै गइरहेको छ । जस्तै; कुनै कलाकारले आत्महत्या गर्यो, उसको त निरन्तर मिडियामा समाचार आइरहन्छ । अरूले पनि मैले आत्महत्या गर्दा मिडियामा आउँछ पक्कै भन्ने कुरा सोच्छन् र आत्महत्या गर्छन् । नेपालमा पनि सन्तान जन्माएपछि १० प्रतिशत महिलामा डिप्रेसन हुन्छ; त्यो डिप्रेसन भएको समयमा उपचार भएन भने महिलाले आत्महत्या गर्छन्  ।

किशोर किशोरीको आत्महत्या 
किशोर किशोरीले बढी मात्रमा यौन हिंसामा परेको कारण आत्महत्या गरेको देखिन्छ । यौन हिंसा भइरहेको हुन्छ, कसैलाई पनि भन्न सक्दैनन् । अनि आत्महत्याको बाटो रोज्नछन् । कतिपय आवेगमा आएर गर्छन् । जस्तै; परीक्षामा फेल भयो भन्दै परिवारले गाली गर्ने, कलेज, स्कुलमा पढ्ने विद्यार्थीको प्रेम सम्बन्ध छ भने रेस्टिकेट गर्दिने, सार्वजनिक ठाउँमा ल्याएर सजाए दिने, साथीभाइले जिस्क्याउने गर्दा यस्ता  कुराले उनीहरूको दिमागमा असर परिरहेको हुन्छ; अन्तिमा आत्महत्याको बाटो रोज्ने गर्छन् । 

किशोर किशोरीले प्रेम अफेयर र युवा उमेरका व्यक्तिले पारिवारिक समस्याले आत्महत्या गर्छन् । कुरा गर्ने हो भने ज्येष्ठ नागरिकले पनि आत्महत्या गर्दै आइरहेका छन् । ज्येष्ठ नागरिकले एक्लोपनका कारण आत्महत्या गर्छन् । नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकमा एक्लोपन बढ्दै गइरहेको छ । छोराछोरी विदेशमा हुन्छन्, काठमाडौँ जस्तो ठाउँमा घर, सवारीसाधन सबैको व्यवस्था हुन्छ तर ज्येष्ठ नागरिकसँग कोही पनि हँुदैन् । एक्लोपनले सताउँछ अनि आत्महत्या गर्छन् । भन्न त सबैले मर्ने बेलामा किन आत्महत्या गर्याे, सबै कुरा थियो भन्ने समाजको कुरा हुन्छ तर त्यस्तो होइन जति जे सुविधा भए पनि एक्लोपन भएपछि मान्छेले आत्महत्याको बाटो रोज्छन् । अहिले धेरै ज्येष्ठ नागरिक एक्लै बस्दै आइरहेका छन् । उमेरको कुरा गर्ने हो भने पुरुषको हकमा ४५ र महिलाको हकमा ५० वर्षपछि आत्महत्या गर्ने रिक्स बढ्दै गएको हुन्छ । यस्तै आत्महत्या गर्ने  बालबालिकाको सङ्ख्या पनि बढ्दै गइरहेको छ । गत वर्ष मात्रै २ सय ५० जना बालबालिकाले आत्महत्या गरेका छन् । 

अन्तिम अवस्थामा यस्तो क्रियाकलाप गर्छन्– 
डिप्रेसन भएको व्यक्तिले परिवारका सदस्यसँग आफूमा भएका समस्याका बारेमा कुरा गर्दा नाटक गरेको भन्ने गर्छन् र पत्याउँदैनन् । राम्रोसँग सहयोग गर्दैनन् र मेरो कोही पनि छैनन् भन्ने कुरा सोच्छन् र अन्तिम अवस्थामा आत्महत्या गर्छन् । आत्महत्या गर्ने व्यक्तिले आफ्नो नजिक डोरी, विष राखेका हुन्छन् । आफ्नो बहुमूल्य चीज अरूलाई बाँडिदिने, ऋण छ भने ऋण तिर्ने, साथीभाइसँग भेटघाट गर्ने, रमाइलो गर्ने, खुशी हुने गर्छन् । साथीभाइले के छ भनेर सोध्दासम्म ठिक छु भन्छन् । अन्तिम अवस्थामा आत्महत्या गर्ने मान्छेले किन मर्ने बेलामा अरूलाई गुनासो गर्नु भनेर पहिला निरास भएको मान्छेमा एकाएक खुशी देखिन्छ । ‘निभ्न लागेको दियो बलेजस्तै आत्महत्या गर्ने मान्छेले पनि खुशीको संज्ञा दिन्छ’ । 

हिजोसम्म गुनासो गर्ने मान्छेले आत्महत्या गर्ने प्लान अन्तिम अवस्थामा पुगेपछि गुनासो गर्दैनन् । कतिले सुसाइड नोटमा गुनासो पोखेर जान्छन् भने कतिले त्यो पनि गर्दैनन् । मध्यरातमा निस्केर हिँड्ने, हाफ फालेर आत्महत्या गर्ने, विष सेवन गर्ने नेपालमा धेरैजसो आत्महत्या गर्नेमा झुन्डिएर मर्नेको सङ्ख्या धेरै रहेको छ ।  

रोकथाम 
परिवारका सदस्यले यस्ता व्यक्तिलाई धेरै सहयोग गर्नुपर्ने हुन्छ । डिप्रेसन भएको बेलामा एक्लोपनको महसुस गर्छन् । समस्या समाधान गर्न मद्दत गर्नुपर्दछ । मनोवैज्ञानिक समस्या धेरै नै भएको खण्डमा अस्पताल लानुपर्छ । डब्लूएचओले यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नाराका राखेको छ । हामीले पनि डिप्रेसनको समस्यामा परेका व्यक्तिलाई साथ दिनु एकदमै जरुरी छ । राष्ट्र, समाज, घरपरिवार, सङ्घ, संस्था सबैको सहयोग भएको खण्डमा आत्महत्याको सङ्ख्यालाई कम गर्न सकिन्छ । शून्य अवस्थामै ल्याउन नसकिएला तर न्यूनीकरण गर्न पक्कै सकिन्छ । मानसिक रोगसम्बन्धी जानकारी दिनुपर्छ । हटलाइन सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको कुल बजेटको १० प्रतिशत बजेट मानसिक स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने नियम छ । तर नेपालमा ०.०२ प्रतिशत विनियोजन गरेको छ । यो भनेको निकै कम हो । जसले गर्दा मानसिक रोगको बारेमा जनचेतनामूलक काम हुनसकेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप