शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नितम्ब ठूलो बनाउन किन ज्यानसमेत दाउमा लगाइरहेछन् महिला ?

सोमबार, २५ भदौ २०७५, १० : २९
सोमबार, २५ भदौ २०७५

बीबीसी

फेसनको दुनियाँमा कहिले कस्तो ट्रेन्ड बस्छ, त्यो कसैलाई थाहा हुँदैन ।

अब ‘ब्राजिलियन बट लिफ्ट’ अर्थात् बीबीएलको नै कुरा गरौं । मानिसहरुलाई यसको नशा यति चढेको छ कि उनीहरु आफ्नो ज्यान दाउमा राख्नसमेत तयार छन् ।

तीन सन्तानकी आमा बीबीएल शल्यक्रिया गराउन इंगल्याण्डबाट टर्की पुगिन् र उक्त घातक शल्यक्रियामा उनको मृत्यु भयो ।

लिह क्याम्ब्रिज इंगल्याण्डको लिड्स शहरकी थिइन् र उनलाई टर्कीको इजमिर शहरको क्लिनिकमा शल्यक्रियाको क्रममा तीन हृदयघात भयो ।

लिह क्याम्ब्रिजका पार्टनर स्कट फ्रेंक्सले ब्रिटिश पत्रिका द सनलाई यसबारे जानकारी दिएका हुन् ।

यो ट्रेन्ड तीब्र रुपमा किन बढिरहेको छ र यसको शल्यक्रिया घातक किन छ ?

वास्तवमा यो शल्यक्रियामा पेटको बोसो निकालेर नितम्बमा भरिन्छ ।

घातक किन ?

ब्रिटेनमा यो शल्यक्रिया महँगो हुने भएकाले २९ वर्षकी यी ब्यूटिशियनले बीबीएल शल्यक्रिया विदेशमा गर्ने सोच बनाइन् । फ्रेंक्सका अनुसार उनी पेटको बढ्दो बोसोका कारण आजित भइसकेकी थिइन्, यसकारण बीबीएल गराउने निर्णय गरिन् ।

ब्रिटेनमा लिह एक्ली महिला होइनन्, जो यस्तो इच्छा राख्छन् । जोय विलियम्स पनि सन् २०१४ मा आफ्नो नितम्ब बढाउने शल्यक्रियाका लागि बैंकक गएकी थिइन् ।

यसै शल्यक्रियाको क्रममा उनको घाउ संक्रमित भयो । संक्रमण यति धेरै बढ्यो कि लण्डनकी २४ वर्षकी जोयकी एनिस्थेपटकको मृत्यु भयो ।

तीन वर्षअघि पश्चिमी लण्डनकी २० वर्षीया क्लाउडिया एडरोटिमीको अमेरिकामा यसै शल्यक्रियाको क्रममा मृत्यु भएको थियो । प्लाष्टिक सर्जन ब्रयान मायोयुका अनुसार बीबीएल सर्जरी अन्य कस्मेटिक सर्जरीको तुलनामा त्यति खतरनाक छैन ।

उनी भन्छन्, ‘यो शल्यक्रियाको त्यति प्रचलनमा नभएको र यसका विज्ञको पनि कमी भएका कारण यो खतरनाक भएको हो । यदि बोसोलाई मांशपेशीको तन्तु र नितम्बको तल्लो भागमा गहिरोसम्म भरिन्छ भने यो खतरनाक साबित हुन्छ । बोसो ढिक्काको रुपमा हुन्छ र थुप्रै पटक रक्तप्रवाहमा बाधा बन्ने गर्छ । मृत्यु पनि यसैकारण हुन्छ । यदि तपाईं बोसो स्थानान्तरण गर्दै हुनुहुन्छ भने यी खतराबारे सतर्क हुन आवश्यक छ ।’

३१ वर्षका फ्रेंक्सले द सनलाई भने, ‘लिह एनिस्थेटिक (बेहोसी) को अवस्थामा थिइन् र त्यति नै बेला बोसो रक्तप्रवाहमा जम्यो । त्यसकारण अक्सिजनको कमी भयो । लिहको स्थिती स्थिर त थियो तर तीन हृदयघातपछि उनलाई बचाउन सकिएन ।’

ठूलो नितम्ब किन रुचाइन्छ ?

मायोयुका अनुसार इन्टरनेशनल सोसाइटीका प्लाष्टिक सर्जनले एक कार्यदल गठन गरेका छन् । यो कार्यदलले बीबीएल सर्जरीको प्रक्रियामाथि एक रिपोर्ट दिनेछ ।

बीबीएलमा मृत्यु दर तीन हजारमध्ये एक हो । मायोयुका अनुसार यो शल्यक्रियामा मृत्युको कारणबारे अनुसन्धान गर्दा सबै घटनामा बोसो जमेर नितम्बको मांसपेशीमा जमेको थियो ।

पश्चिमी लण्डनमा चेल्सीका कडागेन क्लिनिकका एक सर्जनका अनुसार पछिल्लो चार वर्षमा नितम्बको आकार बढाउनका लागि शल्यक्रिया गर्नेको संख्यामा वृद्धि भएको छ ।

नितम्ब बढाउने सनकबारे उनले भने, ‘केही वर्षअघिसम्म महिला सानो नितम्ब मनपराउँथे । सानो नितम्बको लागि पनि शल्यक्रिया भइरहेको थियो र यो अब आउट अफ फेशन भएको छ । अब बीबीएलको माग निकै बढ्दो छ ।’

यस्तोमा प्रश्न यो उठ्छ कि आखिर महिलालाई ठूलो नितम्ब किन मन परिरहेको छ ? मायोयु भन्छन्, ‘यो लोकप्रिय संस्कृतिको जमाना हो र महिलालाई कर्वी फिजिक निकै मन परिरहेको छ । हामी विविधि संस्कृति र जाती भएको दुनियाँमा बसिरहेका छौं । यो दुनियाँमा शरिरका विभिन्न आकारप्रकार छ र सबैको आ–आफ्नै सुन्दरता पनि । आजको संसारमा यस्तो प्रविधी पनि छ जसमार्फत आफूलाई मनपरेको आकार पाउन सकियोस् ।’

किम कार्दशियन, काइली जेनर र कार्डी बीजस्ता सेलिब्रिटीको सोसल मिडियामा लाखौं फलोअर्स छन् । यी अभिनेत्री आफ्नो नितम्बको तडकभडकपूर्ण तस्बिर नियमित रुपमा हालिरहेका छन् । यी तस्बिर हेरेर पनि महिला प्रेरित हुन्छन् ।

मायोयु भन्छन्, ‘धेरैजसो मानिसहरुलाई लाग्छ कि एउटा शल्यक्रियाका दुई फाइदा छन् । पहिलो यो हो कि तपाईं आफूलाई मननपरेको स्थानबाट बोसो हटाउन सक्नुहुन्छ र दोस्रो आफ्नो नितम्बलाई ठूलो बनाएर आकर्षक देखाउन सक्नुहुन्छ । टर्कीजस्ता देशमा ब्रिटेनको तुलनामा यस्तो प्रकारको शल्यक्रिया सस्तो हुन्छ । ’

नितम्ब बढाउने शल्यक्रियामा के हुन्छ ?

– नितम्बको  आकार ठूलो बनाइन्छ । यसलाई आकर्षक देखाउनका लागि आकार दिइन्छ ।

– यसका लागि सर्जनले सिलिकन भर्छन् वा त शरिरका बाँकी अंगको बोसो यहाँ शिफ्ट गर्छन् ।

– यसको खर्च क्लिनिक वा देशमा निर्भर हुन्छ । ब्रिटेनमा करिब ६ लाखसम्म खर्च हुन्छ । यस्तै भारतमा यो खर्च तीन लाखको हाराहारीमा रहन्छ ।

– शल्यक्रियापछि पीडा पनि झेल्नुपर्छ । विशेषगरी ती हिस्सामा जहाँ बासो शिफ्ट गरिन्छ । तीन हप्तासम्म नितम्बको सहारामा बस्न मनाही गरिन्छ ।

– धेरैपटक यो घातक पनि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप