अकस्मात कांग्रेसले बोलायो २ नम्बर प्रदेशको भेला
काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले विहीबार २ नम्बर प्रदेशको भेला बोलाएको छ ।
स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको २ नम्बर प्रदेशमा पार्टीको अवस्थाबारे बुझ्ने नेपाली कांग्रेसले केन्द्रकै आयोजनाको काठमाडौंमा २ नम्बर प्रदेशको भेला बोलाइएको हो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा हुने भेलामा केन्द्रीय पदाधिकारी, २ नम्बर प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापतिका साथै जिल्ला सभापतिमा पराजित भएकाहरुलाई समेत भेलामा डाकिएको छ ।
यसैगरी, २ नम्बर प्रदेशका सांसद, पूर्व सांसद, क्षेत्रीय सभापति र दोस्रो संविधानसभा निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासीहरुलाई पनि भेलामा डाकिएको छ । भेला विहीबार विहान ९ बजे काठमाडौंका बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।