शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र शेरबहादुरको कसरी मिल्यो केमेष्ट्री ?

दोस्रो चरणको निर्वाचन नसर्ने : प्रचण्ड
बुधबार, ३१ जेठ २०७४, १५ : २२
बुधबार, ३१ जेठ २०७४

काठमाडौं– दलहरुवीच स्थानीय निकायको दोस्रो चरणको निर्वाचन सार्ने विषयमा वार्ता, छलफल भैरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति अथवा अदालतको कुनै पनि कारणले दोस्रो चरणको निर्वाचन असार १४ भन्दापछि नसर्ने बताएका छन् ।


प्रधानमन्त्रीबाट राजीनामा दिएपछि रातोपाटी अनलाईनको टिभी कार्यक्रम ‘डिस्क्लोजर’को विशेष अन्तरवार्तामा बोल्दै निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने– ‘अर्को चरणको निर्वाचन मिती तोकेर सबै तयारी भैसकेपछि अब यो निर्वाचन प्रक्रिया रोकिने भन्ने हुँदैन, १४ गतेको निर्वाचन हुन्छ ।’


उनले अन्तरवार्ताको क्रममा राजपाका नेताहरुसँग यस विषयमा चरण चरणमा छलफल भैरहेको समेत बताए । ‘डिस्क्लोजर’ कार्यक्रमका प्रस्तोता युग पाठकले सशस्त्र क्रान्तिको नेतृत्व गरेका प्रचण्डसँग ३० को दशकमा क्रान्तिको सपना देख्ने प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने पुष्पकमल दाहालले देखेको सपनाबीचको भिन्नताबारे पनि अन्तरवार्ता गरेका थिए ।


अन्तरवार्ता भर निकै उत्साहित देखिएका प्रचण्डले सपनाबारे गरिएको प्रश्नमा भने तत्कालिन समयमा देखिएको सपना आज त्यहि रुपमा पुरा हुन सम्भव नभएको स्पष्ट पारे ।


उनले भने– ‘सपनालाई म एब्स्ट्रयाक्ट र कंक्रिट रुपमा भन्न चाहन्नँ । पक्कै पनि ३० को दशकमा एउटा युवाले देखेको कम्युनिष्ट नेपालको सपना जसरी देखेको थिएँ र जुन स्प्रिटमा हिँडेको थिएँ अहिले त्यहीँ रुपमा पुरा हुने स्थिति रहेन ।’


दश बर्ष सशस्त्र माओवादी आन्दोलनको नेतृत्व गरेका प्रचण्डलाई संसोधनवादमा फसेको र पुराना सपना बिर्सेको आरोप लागि रहँदा प्रचण्ड आफैले पुराना सपनालाई वर्तमान समयमा पुरा गर्न सम्भव नभएको स्पष्ट परोका हुन् ।


उनले युद्ध सहयात्री बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’को नाम उल्लेख गर्दै आफूमा होइन कि पार्टी छोडेर जानेहरुमा ‘डेभिएसन’ आएको बताए ।


उनले भने– ‘बाबुराम र विप्लव जस्ता साथीहरुलाई मेरो के भनाई छ भने, यो हामीले गरेको संघर्षको परिणाम हो । यहाँ टेकेर हामीले देखेको सपनालाई व्यवहारिक रुप दिन सकिन्छ यहाँ त्यो मार्ग खुला छ । त्यसकारण ‘डेभिएसन ममा होइन तपाईहरुमा आएको हो ।’


उनले बाबुरामले नाम मात्रै नयाँ राखेको तर बोतल खोलेर हेरेमा पुरानै कुरा बेची रहेको टिप्पणी गरे भने विप्लवलाई आफूले गरी सकेको पुरानै कामको पुनरावृत्ति गरेको बताए ।


कम्युनिष्ट राजनीति गरेको मान्छे र डेमोक्रेटिक आन्दोलनमा लागेको मान्छे प्रचण्ड र शेरबहादुरको बीचमा कसरी केमेष्ट्री मिलेको छ त भन्ने प्रश्नमा उनले यसको जस संघीय लोकतान्त्रीक गणतन्त्रलाई जाने बताए ।


उनले देउवाको र आफ्नो पार्टीको बीचको राजनीतिक सहकार्य एैतिहासिक भएको उल्लेख गर्दै यसले इतिहासमा नयाँ अध्याय थपेको समेत बताउन चुकेनन् । उनले भने– ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलाई बचाएर जानु पर्छ भन्ने लाईनमा उहाँ पनि र म पनि भएको हुनाले हाम्रो मिलन ‘हिस्ट्रोरिकल’नै हो । यो प्रचण्ड जनवादी गणतन्त्र नआएसम्म हतियार नबिसाउने प्रचण्ड होइन ।’


उनले अन्तरवार्ताको क्रममा आफूले युद्ध र शान्तिको अभूतपुर्व काम गरेको उल्लेख गर्दै यो काम नेपालमा मात्र नभएर ल्याटिन अमेरिका, युरोप र अमेरिकामा भएको भए नोवेल शान्ति पुरस्कारका लागि प्रस्तावित गरिने सम्भावना रहेको तर नेपालमा भएकाले पश्चिमा दुनियाँले महत्व नदिएको गुनासो गरे ।


निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने– ‘युद्ध र शान्तिको यस्तै अनुभव ल्याटिन अमेरिका, युरोप र अमेरिकामा भएको भए बडो मुक्तकण्ठले नोबेल शान्ति पुरस्कारका लागि कुरा गरिन्थे होला । तर, हामी नेपालमा भएकाले यसलाई पश्चिमा दुनियाँले त्यति महत्व दिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

लेखकबाट थप