शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

३५ लाख सकियो, ५५ हजार नहुँदा अस्पतालमा ‘बन्धक’

आइतबार, २४ भदौ २०७५, १८ : २३
आइतबार, २४ भदौ २०७५

काठमाडौँ– रातोपाटीकर्मी ललितपुरस्थित किष्ट अस्पतालको छैठौँ तलामा रहेको ४७६ नं. बेडमा पुग्दा घडीले २ः३० बजाएको थियो ।  बेडमा एकजना बालक थिए । उनको नाम महमदराज अन्सारी रहेछ । कसैले सजिलोका लागि उनलाई एमडी, महमद अन्सारी भनेर पनि बोलाउँदा रहेछन् ।

शुक्रबार हाम्रो टोली त्यहाँ पुग्दा उनका बाबा नमाज पढ्न मस्जिद र आमा कपडा धुन गएका रहेछन् । आउने जानेलाई मज्जाले आफ्नो बारेमा जानकारी गराउँथे एमडी ।  निकै बाठा एमडीको अस्पताल यात्रा भने एकादेशको कथाजस्तै रहेछ । उनी अहिले १० वर्षका भए तर, ७ वर्षदेखि प्रायः अस्पतालमै बास छ उनको । 

एमडीको उपचारका लागि उनका बाआमाले भारतको सितामाढीदेखि काठमाडौँको ठूला÷ठूला अस्पताल चाहारी सकेका रहेछन् ।  आजभन्दा २ वर्ष पहिलासम्म एमडीको परिवार आफ्नै घरमा बस्दै आएको थियो । तर, अहिले एमडीको परिवार आफ्नै घरमा महिनाको ५ हजार भाडा तिरेर बस्न बाध्य भएको छ ।

सर्लाहीका एमडी अख्तर अलि अन्सारीका जेठा सन्तान हुन् । विगत ३ वर्षदेखि एमडीको स्वास्थ्यमा बढिनै समस्या देखिएको परिवारका सदस्यहरु बताउँछन् । ‘स्थानीय स्वास्थ्य संस्थामा रोग निको नभएपछि भारतका अस्पताल पनि गएँ, केही पार नलागेपछि उपचारको लागि पुन काठमाडौँ आएँ’ एमडी बाबु अख्तरले पीडा सुनाए । 

अख्तरले छोराको काठमाडौँको कान्ति बाल अस्पतालमा पनि उपचार गराए । कान्ति अस्पतालले एमडीको दुबै मिर्गाैलामा समस्या रहेको बतायो । कान्तिमा २ वर्ष राखेपनि सुधार नभएपछि उनलाई कान्तिबाट बयोधा सारियो । एमडीका अहिले खुट्टा घुङ्रिन थालेका छन् ।

सुमेरुले निकालिदियो 
बयोधामा राख्दा पनि एमडीको रोग निको भएन । त्यसपछि उनलाई सुमेरु अस्पतालमा लगियो । यसरी अस्पताल धाउँदाधाउँदै यो परिवारको सबै सम्पत्ति सकियो । ‘सुमेरु अस्पतालमा १३ दिनमा २ लाख सकियो । एक लाख विपन्न नागरिक कोषबाट सहयोग पाएका थिएँ ।

पैसा सकेपछि ५० हजार डिपोजिट राख्नका लागि अस्पताल प्रशासनले आग्रह गर्यो । तर पैसा नहुँदा डिपोजिट राख्न सकिन । त्यसपछि अस्पतालले निकालिदियो’ परिवारका सदस्यको भनाई छ । एमडीको यो अवस्था देखेर सोही अस्पतालमा कार्यरत एमडीलाई हेर्दै आईरहेका एक डाक्टरले किष्ट अस्पतालमा केही सहज हुन्छ आफू पनि त्यही कार्यरत रहेको जानकारी गराएपछि  उनलाई पुन किष्टमा ल्यायो ।

 यस्तो रोग लाग्यो 
 उनको दुबै मृगौलामा इन्फेक्सन भएको छ । निरन्तर उपचार हुने हो भने एमडी १५ वर्ष पुगेपछि यो रोग निको हुनेछ । एमडी १५ वर्ष पुग्नका लागि अझै ५ वर्ष बाँकी छ । चिकित्सकको भनाईअनुसार एमडीको दुबै मृर्गाैलामा नेफ्रोटीक सिमटम्स देखिएको छ । यो रोग बालबालिकामा देखिन्छ । एमडीको छातिमा निमोनिया र पेटको समस्या पनि छ ।

एमडी कक्षा ३ मा सरकारी विद्यालयमा अध्ययनरत छन् । उनी कक्षाको पहिलो विद्यार्थी हुन् । १ कक्षा देखिनै एमडी पहिलो हुँदै आईरहेका छन् । तर, स्वास्थ्यमा समस्या आएपछि उनी आक्कलझुक्कल मात्रै विद्यालय जान्छन् । ग्यारेजको मेकानिक कामले एमडीको परिवार राम्रोसँग चलिरहेको थियो ।

एमडीको परिवारले अहिलेसम्म उनको रोग निको पार्न ३५ लाख खर्च गरिसकेको छ । एमडीको बाबा अख्तर भन्छनः् ‘मेरा दुईजना छोरा र एकजना छोरी छन्, एमडी जेठो सन्तान हो ,मेकानिक कामबाट राम्रो भइरहेको थियो । एक तल्लाको मकान पनि बनाए तर छोरा बिरामी भएपछि घरमै डेरा गरेर बस्नेसँग पैसा ऋण मागेँ समयमा तिर्न सकिन । अहिले मेरो घर डेरावालाले लिएको छ ,म मेरो घरमा महिनाको ५ हजार तिरेर बस्दै आइरहेको छु ।’

५५ हजार तिर्न नसक्दा डिस्चार्ज भएन 
हाल किष्ट अस्पतालको ४७६ बेडमा उपचार गराउँदै आएका एमडीलाई अस्पतालले १५ दिन पहिलानै डिस्चार्ज गर्नुपर्छ भनेको हो । लामो समयदेखि बेडमा सुत्दा एमडीको ढाडमा घाउ भैसकेको छ । एमडीलाई अस्पतालमानै राख्दा अन्य रोगपनि सर्ने भएकाले घरमा राख्न चिकित्सकले सुझाव दिएका छन् ।

तर फार्मेसी र अस्पतालमा गरी ५५ हजार पैसा तिर्न बाँकी रहेकाले उनले (अख्तरले) छोराको डिस्चार्ज गर्न सकेका छैनन् । पैसा नतिरेसम्म अस्पतालले डिस्चार्ज नगर्ने बताएको छ । अख्तर भन्छन्– ‘अस्पताल र औषधी पसलमा तिर्ने पैसा मसँग छैन् । माग्नलाई बाटोमा बस्ने सोच बनाएँ तर म जस्तो हट्टा–कट्टा मान्छेलाई माग्न बस्दा पत्याउँदैनन् भन्ने सोचेर म अहिले दैनिक बिहानै हिँडेर साँझमा मात्रै फर्कन्छु ।’

एमडीका बाबा अख्तरलाई आफ्नो छोराको जीवनरक्षाको लागि अरुसँग अपिल गर्नुको कुनै विकल्प छैन । औषधि खानका लागि अस्पतालमा आउने व्यक्तिले एकदुई हजार सहयोग गर्दै आईरहेका छन् । त्यही पैसाले औषधि खुवाउँदै आईरहेका छन् भने स्वास्थ्य परीक्षणको काम पैसा अभावले नै रोकिएको छ । 


 

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप