शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्तरिक राजश्व कार्यालय उत्कृष्ट

आइतबार, २४ भदौ २०७५, १५ : ४६
आइतबार, २४ भदौ २०७५

कञ्चनपुर– आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । 

आव २०७४/७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए । 

रु एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले रु एक अर्ब ४७ करोड ९२ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । आयकरतर्फ रु ५७ करोड १० लाख २० हजार, बहाल करतर्फ रु चार करोड ५० लाख एक हजार, व्याजतर्फ रु दुई करोड २८ लाख ३४ हजार र मूल्य अभिवृद्धि करतर्फ रु ४३ करोड ४६ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले अन्तःशुल्कतर्फ रु ३९ करोड ८६ लाख ४८ हजार, स्वास्थ्य सेवातर्फ रु आठ लाख २५ हजार र शिक्षातर्फ रु ६२ लाख ६२ हजार राजश्व सङ्कलन गरेको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरअन्तर्गत करदाताको सङ्ख्या ४१ हजार ४७९ रहेको छ । 

‘निरन्तर बजार अनुगमन, अनुसन्धान, करको दायरा विस्तार, कर शिक्षा, कर परीक्षण तथा अन्तर निकायसँगको सम्बन्ध विस्तारले यहाँसम्म आइपुगेका हौं,’ अधिकृत शर्माले भने । गैरनेपाली व्यवसायीले राजश्व छली गर्ने समस्या विद्यमान रहेको पाइएपछि प्रहरीको सहयोग लिइ कारबाही गरिएको उनले बताए ।

दायरामा नआएका ठूलादेखि साना व्यवसायीलाई करको दायरामा ल्याइने उनको भनाइ छ । कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाहा गर्ने भएको छ । पुस मसान्तसम्म स्थायी लेखा नं लिई आव २०७१/७२ देखि आव २०७३/७४ सम्मको आय विवरण तथा त्यसमा लाग्ने कर बुझाएमा कर, शुल्क तथा व्याज मिनाहा गर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप