शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी १० गायक गायिका, जाेसँग सङ्गीतकार सन्तोष राजले पाए काम गर्ने अवसर

शनिबार, २३ भदौ २०७५, १३ : ३६
शनिबार, २३ भदौ २०७५

राम्रा गीत सङ्गीत सिर्जना गर्ने थुप्रै सङ्गीतकार छन् नेपालमा । तीमध्ये कमैले मात्र बलिउडका गायक गायिकासँग काम गर्ने अवसर पाएका छन् । अवसर पाएकाले पनि दर्जनभन्दा बढी गायक गायिकासँग काम गरेको भेट्टाउन मुस्किल पर्छ । तर सन्तोष राज यस्ता नेपाली सङ्गीतकार हुन् । जसले एक, दुई होइन ४० भन्दा बढी बलिउड गायक गायिकासँग काम गरिसकेका छन् ।

सन्तोष भोजपुरीका चर्चित सङ्गीतकार हुन् । मैथिली गीतमा समेत सङ्गीत गरेका उनले नेपाली फिल्म र एल्बमका गीतसमेत गर्दै आएका छन् । केही पहिले प्रदर्शनमा आएको चलचित्र ‘नेप्टे’ र  ‘तोरी लाउँहुरे’को ‘कोही छन् मस्तीमा’ बोलको आइटम गीत बलिउड गायिका कल्पनाको स्वरमा रेकर्ड गराएका थिए । मैथली, भोजपुरी र नेपाली गीतमा सङ्गीत सिर्जना गर्न आफूलाई निकै आनन्द आउने बताउने उनी थोरै समय नेपाल र धेरै बलिउड बस्ने गर्दछन् ।

०६३ मा ‘गोर्की के गोर्की’ मैथिली गीतको एल्बमबाट सङ्गीत होमिएका उनले भोजपुरी र मैथिलीका गीत पनि गाएका छन् । करिब ७० मैथिली गीतमा सङ्गीत गरेका उनले एल्बम र चलचित्रका गरेर ४ सयभन्दा बढी भोजपुरी गीतमा पनि सङ्गीत भरेका छन् । उनले केही चलचित्र  र थुप्रै फुटकर गीतमा समेत सङ्गीत गरेका छन् । हालै मात्र उनले चर्चित गायक राजेशपायल राईको ‘दर्शन नमस्ते ४’ एल्बम सकाएका छन् । यो एल्बम छिट्टै बजारमा आउँदैछ । ‘विश्वमै सङ्गीत एउटै हुन्छ । फरक काम गर्ने तरिका हो’ भन्ने सन्तोषको शब्दमा बलिउडका दस गायक गायिका ।

उदित नारायण झा 
हिन्दी, नेपाली, मैथिली र भोजपुरी गीतमा मैले उहाँसँग काम गरेको छु । हिन्दीमा ‘नजाने क्युँ..’मा काम गरेको थिएँ भने नेपाली चलचित्र ‘नेप्टे’को एक गीत उनको आवाजमा रेकर्ड भएको थियो । भोजपुरीमा भने ‘पुकार’ चलचित्रको गीत गरेको थिए । उहाँले अहिलेसम्म मेरो २५ भन्दा बढी गीत गाइसक्नुभयो । बोली, वचन र व्यवहार राम्रो भएको मान्छे उहाँ । उहाँसँग जति काम गरेँ ती सबै समयमै भएका छन् ।
नेपाली चलचित्र ‘नेप्टे’को गीत रेकर्डिङमा मात्र उहाँले केही ढिलो गर्नुभएको थियो । उहाँको आवाज जादु भरिएको छ । समयको ख्याल गर्ने, प्रोफेसनल गायक भन्छु म उहाँलाई । उहाँको जस्तो आवाज र काम गर्न सजिलो गायक अहिलेसम्म भेटेको छैन । उहाँको फ्यामिलीसँग पनि मेरो राम्रो चिनजान छ । उहाँ फ्रेन्ड्ली पनि हुनुहुन्छ । 

कुमार सानु 
त्यस्तै विसं २०७० तिर होला । ‘बगलवाली मारेली’ भोजपुरी चलचित्रमा मैले पहिलो पटक उहाँसँग काम गरेको थिएँ । गीतको बोल के थियो ठ्याक्कै याद आएन । सानु दाइले मेरो सङ्गीतमा ४ वटा भोजपुरीमा गीत गाउनु भएको छ । मैथिलीमा पनि उहाँसँग काम गरेको छु ।
नेपाली गीतमा उहाँसँग काम गर्ने अवसर मिलेको छैन । झट्ट लुक हेर्दा डेन्जर मानिस हो कि भन्ने लाग्ने उहाँ मेरो बुझाइमा निकै सिम्पल र मिलनसार स्वभावको हुनुहुन्छ । बोल्ड भ्वाइस भएको र क्लिएर व्यवहारका मानिस पनि । जम्माजम्मी मेरो सङ्गीतमा ६ गीतमा उहाँको स्वर छ । ती सबै गीत राम्रो बने । बोलाएपछि स्टुडियो आउनु हुन्छ ।
गीतका शब्द लिनु हुन्छ । ५ मिनेट शब्द हेरेपछि गाउन तयार हुन्छ । उहाँलाई गीत बुझाउन गाह्रो छैन । समय लिएपछि ५ मिनेट अगाडि नै आउने व्यक्ति । समयको निकै ख्याल गर्ने पनि ।

विनोद राठोर 
करिब ४ वर्ष अगाडि होला । उहाँसँग मैले पहिलो पटक भोजपुरी गीतमा काम गरेको थिएँ । त्यसपछि ‘सोचे जस्तो भए..’ बोलको नेपाली गीतमा काम गरेँ । गीत बाहिर आउन बाँकी छ । उहाँ समयको ख्याल नगर्ने गायक भन्छु म । १० बजे बोलायो भने १० ः ३० तिर मात्र आउनुहुन्छ । गायनमा खोट लगाउने ठाउँ भने छैन उहाँको ।
बलिउडमा उहाँको नाम उत्कृष्ट गायकको सूचीमा छ । आवाजमा जादु भएको गायक उहाँ । नेपाल र नेपाली मन पराउनुहुन्छ । सन्तोषजी म त नेपाल गइरहन्छु, एक भेटमा भन्नुभएको थियो ।
नेपालमा आएर क्यासिनोमा खेलेको र पशुपति दर्शन गरेर रुद्राक्षको माला ल्याउने गरेको समेत उहाँले सुनाउनु हुन्थ्यो । गीत रेकर्ड सकेपछि ठूलो पल्टिएर हिँडिहाल्ने बानी नभएको मानिस । गफ गरेर भाइचाराको व्यवहार देखाउँदै केही समय बस्न रुचाउने ।

जावेद अली 
‘द रेल्व ट्र्याक’ भन्ने हिन्दी चलचित्रको दुई गीत जावेद अलीसँग गर्ने मौका मिलेको थियो । धेरै नबोल्ने, आफ्नो कामसँग मात्र मतलव राख्ने मानिस उहाँ । फ््रयाङ्क स्वभाव भएको । मलाई एक पटक आफ्नो घरमा पनि लानुभएको थियो । उहाँको भाइ सुसफ अलि भन्ने छन् । उहाँसँग पनि मेरो राम्रो चिनजान छ ।
आफूलाई जहिले पनि सानो ठान्ने, कहिलै ठूलो नपल्टने, व्यवहार पनि राम्रो भएको गायक । सङ्गीतकार भनेपछि झुक्ने र सम्मान गर्ने । त्यो नयाँ होस् या पुरानो । उमेरले सानो होस् या ठूलो । मैले उहाँसँग रोमान्टिक गीतहरू गरेको थिएँ । उहाँले मेरो गीतमा जादु गर्दिनुभयो । जुनै गीत पनि सुरमा गाउन सक्ने गायक पनि हो उहाँ ।
स्टुडियोमा समयमै आउँने, टाइमिङमा गाउने उहाँको सबल पक्ष । उहाँ एआर रहेमानको विद्यार्थी, धेरै सङ्गीत जानेको मानिस पनि । सङ्गीतकारको कुरा पहिले राम्ररी सुन्ने र अनि गाउने उहाँको सबैभन्दा राम्रो बानी हो । 

रूपकुमार राठोर 
‘सन्देसे आते हे..’ लगायत बलिउडमा थुप्रै गीत गाउनुभएको छ उहाँले । करिब ६ वर्ष अगाडि उहाँसँग मैले भोजपुरीको ३ गीत गर्ने मौका पाएँ । एउटा फिल्मको थियो भने २ वटा एल्बमको थियो । मेरो बिर्सने बानीले गर्दा गीतको बोल अहिले ठ्याक्क भएन । उहाँ सरगम पनि राम्रो भएको र सुरमा गाउने गायक । बानी व्यहोरा पनि त्यस्तै ।
मेरो गीत रेकर्डिङका क्रममा उहाँ एकपटक पाकिस्तानी ड्रेसमा आउनु भएको थियो । मलाई एकछिन त कस्तो ड्रेस होला भनेर रिस उठ्यो । उहाँले सो समय घाँटीमा ठूलो माला पनि लगाउनु भएको थियो । झट्ट हेर्दा चलचित्रको डरलाग्दो भिलेन जस्तो देखिनु हुन्थ्यो ।
जब उहाँले गीत गाउन थाल्नुभयो । गीत कहिल्यै नसकियोस् भन्ने भयो मलाई । उहाँको आवाज सुनिरहुँ जस्तो थियो । 

कल्पना 
‘गन्धी वाद’ जस्ता बलिउडमा थुपै हिट गीत छन् कल्पनाका । उहाँसँग १ हिन्दी र दर्जनभन्दा बढी भोजपुरी गीतमा काम गरेको छु । बलिउडकी हिट प्लेब्याक गायिका उहाँ । भोजपुरीको पनि किङ नै हो । उहाँसँग काम गर्ने सबै खुसी छन् ।
नेपाली चलचित्र ‘तोरी लाहुँरे’को आइट गीत ‘कोही छन् मस्तीमा’ पनि मैले उहाँकै स्वरमा रेकर्ड गराएको हो । आसामकी स्थायी बासिन्दा भएकाले पनि होला सायद नेपाली गीत सजिलै गाउन सक्नुहुन्छ । समयमै स्टुडियो आउने, गीतको टाइमिङ र बिट राम्रो पक्रने गायिका भन्दा दुई मत रहन्न ।
ओएस्टेन पारामा गीत गाउने स्टाइल उहाँको अरूको भन्दा बेग्लै छ । त्यसैले पनि उहाँका गीतहरूमा धेरै आइटम छन् । मेरो बुझाइमा बानी व्यहोरा, बोलीचालीलगायत सबै राम्रो भएको गायिका उहाँ ।

सेल हाडा 
‘ना जाने क्यु’ र ‘लहुमे लग गया’ जस्ता बलिउड हिट गीतका गायक । उहाँको शिरमा कपाल भने छैन । मैले उहाँसँग एक गीतमा मात्र काम गरेको छु । त्यो हिन्दी गीत थियो । धेरै सोचेर काम गर्ने गायक उहाँ । गीतको अफर दियो भने पहिले धुन माग्नुहुन्छ । त्यो सुनेपछि गाउने नगाउने डिसिजन गर्नुहुन्छ । मैले पनि धुन पठाएको एक हप्तापछि फोन गर्नुभयो । यो गीत म गाउनु भनेर ।
आफूलाई मन लागेन भने जति पैसा दिए पनि गाउनुहुन्न । मन पर्यो भने थोरै पैसा दिए पनि राम्रो गाउँने । सङ्गीत धेरै बुझेको गायक उहाँ । आफै सङ्गीत गर्नुहुन्छ । संजयलीला भंसालीको प्रायः सबै चलचित्रमा उहाँको एरेन्ज छ । क्लासिकल प्यार्टन र रक राम्रो गाउन सक्ने । जति नै जानेको बुझेको भए पनि नयाँ सङ्गीतकारले गीत दियो भने देखाउने मानिस भनेर विश्वस गरेर गाउने । गुरु हो भनेर इज्जत गर्ने ।
कुनै सङ्गीतकारले गीत दियो भने त्यो गीतसँग मात्र मतलव राख्ने । उसका कति गीत हिट छन् भनेर चासो नराख्ने, सोधखोज नगर्ने ।

अनुप जलौटा 
भोजपुरी चलचित्र ‘आसिक नम्बर वान’मा मैले उहाँसँग काम गर्ने मौका पाएँ । यो चलचित्रको एक गीत उहाँले गाउनुभएको थियो । बलिउडमा भजन सम्राट भनेर चिनिनुहुन्छ उहाँ । भजन टाइपकै गीत मैले पनि उहाँँलाई दिएको थिए । राम्रो व्यवहार गर्ने, सकारात्म सोच भएको मानिसको रूपमा उहाँलाई पाए ।
गीत गाउनु अगाडि र गाएपछि एकदमै रमाइलो गरेर मात्र बिदा हुने । चाहेको बेलामा सजिलै भेट्न पनि सकिने  सङ्गीतमा सगरमाथा जति उचाइ भए पनि घमण्ड अलिकति पनि नभएको मानिस ।

अलका याग्री 
हिन्दी फिल्म ‘आशिक नम्बर वान’को गीतमा पनि उहाँसँग काम गरेको छु । त्यसपछि २ भोजपुरी गीतमा काम गरे । बलिउडमा उहाँको योगदान २ दसभन्दा बढी छ । उहाँ वडिङ उच्चारण सजिलै गर्न नसक्ने गायिका ।
नेपाली गीत दियो भने दुई चार दिन वडिङ हेर्नुहुन्छ ।  त्यसपछि मात्र गाउन हुन्छ । धेरै नबोल्ने, कामसँग मात्र मतलव राख्ने । स्वर अति नै राम्रो भएको गायिका । समयमा आउने, उत्कृष्ट गायन पस्कने र समयमै सिध्याउने ।
एक भोजपुरी गीत गर्ने क्रममा मैले नेपालीमा पनि गाउन दिन्छु भनेको के थिए । उहाँले वा...ओ भन्दै उत्साह प्रकट गर्नुभयो । ‘म नेपाली गाउन सक्छु । नेपाली गाउन मन लागेको छ’, उहाँले भन्नुभयो ।  

पमेला जैन 
भोजपुरी चलचित्र ‘पुकार’को गीत मैले उहाँसँग गाएको थिए । बलिउडमा प्रायः सबै सिरियल उहाँको स्वरले सजिएका छन् । बलिउडको नम्बर वान गायिका पनि हो । फिल्म बाहेकको अन्य तीन भोजपुरी एल्बमका गीत मैले उहाँसँग गरेँ । रोमान्टिक गीतमा सुहाउने गायिका । अल्का र उहाँको स्वर मिल्दो जुल्दो छ । 
सुरिलो र मीठो आवाज भएकी सिम्पल गेटअफमा हिँड्ने गायिका उहाँ । गीत गाउन मिहिनेत गर्ने, टाइकिङ पक्रिने । सङ्गीतकार माथि विश्वास गर्ने उहाँको राम्रो बानी लाग्यो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप