बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भाद्र, असोज र कात्तिक महिना बालबालिकाको स्वास्थ्यमा खतरा

शनिबार, २३ भदौ २०७५, १२ : ५१
शनिबार, २३ भदौ २०७५

काठमाडौँ । अहिले भाद्र महिना चलिरहेको छ । यो समयमा बालबालिकाको स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखिन्छन् । यो समयमा लाग्ने रुघाँ, खोकी, ज्वरोबाट बालबालिकालाई जोगाउन सकिएन भने निमोनियासम्म हुने सम्भावना । मौसम परिवर्तनको यो समयमा बालबालिकाको स्वास्थ्यमा देखिने समस्या, अपनाउनु पर्ने उपाय, उपचार र रोकथामको बारेमा बालस्वास्थ्य नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीले जानकारी गराएकी छिन् । 

यो समय भनेको गर्मीबाट चिसो समयमा लाग्ने समय हो । अहिले मौसम परिवर्तनको क्रममा रहेको छ । भाद्र, असोज र कात्तिक ३ महिना बालबालिकाको स्वास्थ्यमा निकै समस्या देखिन्छ । यो समयमा बालबालिकालाई विशेष ख्याल गर्नूपर्ने हुन्छ । यो ३ महिनामा बिहान चिसो, दिउँसो गर्मी र साँझ चिसो हुने हुन्छ । यो समयमा बालबालिकालाई कस्तो कपडा लगाउने भन्ने विषयमा हामी अभिभावकलाई पनि थाहा हुँदैन । यो मौसमले अभिभावकलाई झुक्याईदिन्छ । गर्मी मौसम छ भनेर गर्मीको कपडा लगाइदिन्छौँ तर बिहान र साँझ चिसो भइरहेको हुन्छ । सो समयमा बालबालिकाको शरीरमा चिसो पस्ने गर्छ ।  किनभने गर्मीमा लगाउने कपडाले बिहान बेलुका चिसो हुन्छ भने चिसोको समयमा लगाउने कपडाले दिउँसो गर्मी हुन्छ  ।

चिसो गर्मी दुवै मिसिएको समय भएको हुनाले अभिभावकले विशेष ख्याल गर्नुपर्ने समय हो । अहिले मौसम परिवर्तन हुने यो समयमा बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालिसकेको छ ।  यो समयमा विभिन्न रोगको संक्रमण हुने बढी सम्भावना हुन्छ ।  

आउने समस्याहरु 

अहिले घाँटी दुख्ने, ज्वरो आउने, झाडापखाला लाग्ने समस्याहरु परिवर्तन हुने मौसममा देखिने संक्रमणहरु हुन् । 

बालबालिकामा सुरुमा चिसोको असर भनेको घाँटी दुख्नबाट सुरु हुन्छ । त्यसपछि विस्तारै झाडापखाला ज्वरो आउने गर्छ । समयमा ख्याल नगरेको खण्डमा यसबाट निमोनियासम्म पनि हुने सम्भावना हुन्छ । यो सबै समस्या बालबालिकामा चिसोको कारणले हुने हो । 

बिहान चिसो, दिउँसो गर्मी र साँझमा चिसो हुने हुदाँ अविभावकले बालबालिकालाई कस्तो कपडा लगाउने भन्ने कुरामा सचेत रहनुपर्छ । यो मौसम परिर्वतन भईरहेको समयमा बालबालिकाको स्वास्थ्यमा बढी समस्याहरु देखिन्छन् त्यसैले रातको समयमा फुल बाहुला भएको कपडा लगाउनुपर्छ र सुत्दा पातलो ब्ल्याङ्केटले भएपनि ओडाएर सुताउनुपर्छ

१ वर्ष मुनिका बालबालिकामा धेरै समस्या 

यी महिनामा सबै उमेरको बालबालिकामा समस्या देखिन्छ । तर १ वर्षभन्दा मुनिका बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता कम हुदाँ यो उमेरका बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । यस्तै एक वर्षभन्दा मुनिका बालबालिकाको छालाले तातो र चिसोबाट रक्षा गर्ने क्षमता कम हुने हुँदा चिसो र गर्मी छिटो—छिटो लागिरहेको हुन्छ ।

त्यही भएर बालबालिकालाई राती र बिहानको समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । रातको समयमा बालबालिकालाई सुताउने बेला र बिहान उठेपछि तातो दूध र तातो पानी खुवाउदा राम्रो । बिहान उठ्ने बित्तिकै तातो पानी खुवाउनु भयो भने रातभरी लागेको चिसो हट्न सक्छ । साना बालबालिकाले आफूमा भएको समस्याबारे बताउन सक्दैनन् । उनीहरुलाई गाह्रो भयो भने रुन्छन् हामीले यसैबाट गाह्रो भएको थाहा पाउने हो ।

घरेलु उपचारलाई प्राथमकिता दिउँ 
बोल्न सक्ने उमेर समुहका बालबालिकालाई रुघाँखोकी लागेको छ भने घरमै औषधि बनाएर खुवाँउदा राम्रो हुन्छ । अस्पतालको औषधि भन्दा पनि घरमै घरेलु उपचार गर्न सक्छौ । यो स्वास्थ्यको हिसाबले पनि निकै राम्रो हो । मौसम परिवर्तनको यो समयमा रुघाँ, खोकी लागेको बालबालिकालाई अदूवा, बेसार र तातोपानी खुवाउने गर्नाले पनि रोग निको हुन्छ । 

धेरै गाह्रो नभएको छैन भने मेडिकलको औषधि नखुवाउँदानै राम्रो हुन्छ । तपाईंले बालबालिकालाई सानै उमेरदेखि इन्टिबायोटीक औषधि खुवाउन थाल्नुभयो भने औषधिले रोग निको त हुन्छ तर स्वास्थ्यमा अन्य विभिन्न किसीमका समस्याहरु देखापर्न सक्छन् । 

अन्य रोगलाई औषधि खुवाए पनि यो समयमा देखिएको रुघा, खोकी, ज्वारोको लागि भने घरेलु उपचार राम्रो हो । अतिनै गाह्रो भएको अवस्थामा मात्रै खुवाउनुपर्छ तर चिकित्सकको सल्लाह बिना नखुवाउनु हुन मेरो अनुरोध छ ।  

आजकाल अभिभावकले बालबालिकालाई धेरै समय दिएको देखिँदैन । सधैँ काममा मात्रै व्यस्त भएको देखिन्छ जसले गर्दा छिटो निको होस् भनेर पनि सामान्यभन्दा सामान्य रोगमा पनि औषधि खुवाइरहेका हुन्छन् । तर म यो गतल हो भन्छु । 

तपाईंको बालबालिकालाई खुवाएको इन्टीबायोटीक औषधिले स्वास्थ्यमा अन्य समस्याहरु पनि देखापर्न सक्छ । त्यसैले सामान्य समस्या छ भने घरमै औषधि गर्दा राम्रो  । साथै, बिरामी भएको समयमा बालबालिकालाई अन्य समय भन्दा बढीनै समय दिनुपर्छ । राम्रो हेरचार भएन भने बालबालिकालाई निमोनिया हुनसक्छ । 

अहिलेको मौसम परिवर्तनको समयमा बालबालिकाको स्वास्थ्यमा देखिएको समस्यामा औषधि खुवाए पनि एक देखि २ हप्ता पछि मात्रै निको हुन्छ ।  

त्यसैले अविभावकले आफ्नो बालबालिकाले राम्रोसँग खाएको छ की छैन, के खाएको छ भन्ने कुराको बारेमा ध्यान दिनुपर्ने हुन्छ । 

शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ 
बालबालिकालाई स्वस्थ्य राख्नको लागि शिक्षकको पनि महत्वपूर्ण भूमिका हुन्छ । विद्यालय जाने उमेर समूहका बालबालिकाले घरमाभन्दा धेरै समय विद्यालयमा बिताएका हुुन्छन् । कुन मौसममा कुन रोग लाग्छ ? जोगाउनको लागि अविभावकले के गर्नुपर्छ ? भन्ने बारेमा शिक्षकले अविभाकलाई जानकारी गराउने हो भने धेरै बालबालिकालाई रोग लाग्न बाट बचाउन सकिन्छ । 

अर्काे कुरा त शिक्षकले भनेको कुरा बालबालिकाले सजिलै मान्छन् । स्वास्थ्य संस्था भनेको समस्या परेपछि मात्रै आउने ठाउँ हो तर समस्यानै हुन नदिनको लागि विद्यालयका शिक्षकले अविभावक र बुझ्ने उमेरका बालबालिकालाई सिकाउने हो भने धेरै बालबालिकालाई रोग लाग्नबाट बचाउन सकिन्छ । 

तर, बालबालिकालाई विद्यालयमा स्वस्थ्य शिक्षा दिने काम निकै कम विद्यालयले गर्दै आइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप