शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारका विद्रोही विरुद्धको कारबाही क्रुर र अमानवीय भएको आरोप

बुधबार, ०४ साउन २०७४, १७ : ४६
बुधबार, ०४ साउन २०७४

याङ्गुन – म्यानमारमा हिंसात्मक विद्रोह गरिरहेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोही विरुद्धको कारबाहीलाई सरकारले पनि कडा पारेको बताइएको छ । 

पछिल्ला केही महिनायता जारी यस कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागेका बताइएको छ । त्यस्तै कतिपय विद्रोहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । 

म्यानमारको प्रहरीले गएको अक्टोबर महिनादेखि सो कारबाही सुरु गरेको हो । आक्रामक कारबाहीका कारण कोहीले आत्मसमर्पण पनि गरेका छन् भने ठूलो सङ्ख्याका विद्रोही भागेर छिमेकी बङ्गलादेशतर्फ पनि लागेका छन् । 

प्रहरीका अनुसार सो कारबाहीका कारण गत अक्टोबर महिनादेखि यता करिब ७० हजार व्यक्ति देश बाहिर भागेका छन् । ती मध्ये धेरैजसो बङ्गलादेश पुगेका छन् । 

म्यानमारको उत्तरी राखिन राज्यमा रोहिङ्गाहरुको बस्ती रहेको छ । ती क्षेत्रका अल्पसङ्ख्यक मुस्लिमहरुले आफ्नो हकअधिकारको लागि भन्दै यस्तो सशस्त्र विद्रोह गर्ने गरेको बताउने गरेका छन् । 

पछिल्लो समयमा गत अक्टोबरयता म्यानमारको प्रहरीले राज्यद्वारा आतङ्ककारी घोषित ती अल्पसङ्ख्यकका शिविर नष्ट गर्ने र कारबाही गर्ने गरेको छ । उनीमाथि निकै कडा निगरानी राख्ने गरेको बताइएको छ । 

म्यानमारको उत्तरी भूभाग राखिनमा आतङ्ककारी तालिम केन्द्र सञ्चालन गरेको भन्दै सो तालिम केन्द्रमा प्रहरीले धावा बोलेको थियो । त्यस कारबाहीमा परी केही विद्रोही गत आइतबार मारिएका छन् । 

कारबाहीका क्रममा प्रहरी र सेनाले धरपकड र हिंसात्मक कारबाही गरेको भनी लगाइएको आरोपको सरकारले खण्डन गरेको छ । प्रहरीले वैधानिकरुपमा नै ती विद्रोहीका विरुद्धमा कानुनबमोजिम कारबाही गरेको सरकारले जनाएको छ । 

म्यानमारमा पछिल्लो समयमा ती विद्रोहीसँगको वार्ताका लागि भन्दै युद्धविराम भएको थियो । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीले सो वार्ताका लागि सरकारीतर्फको वार्ताटोलीको नेतृत्व गर्नुभएको थियो । 

तर सो वार्ता सफल हुन नसकेपछि प्रहरीले कारबाहीलाई तिब्रता दिएको समाचार आएको छ । रासस÷एएफपी 
 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप