शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बृद्ध भत्ता बढाउन पूरक बजेटको तयारीमा सरकार

बिहीबार, २१ भदौ २०७५, ११ : ४५
बिहीबार, २१ भदौ २०७५

काठमाडौँ । नेकपा सरकारले बजेटमा छुटेका विषयलाई समेट्ने गरी पुरक बजेट ल्याउने विषयले नेकपाभित्रको छलफलमा प्रवेश पाएको छ । 

नेकपाकै एक नेताले राजनीतिक तहमा पार्टीभित्रै पुरक बजेटको आवश्यकता औँल्याएको बताए । उनले अहिले नेकपा विशेष गरी बृद्धभत्ता बढाउन नसक्दा आलोचित भएको भन्दै पार्टीभित्र पुरक बजेटको कुरा उठेको उल्लेख गरे । 

पाँचहजार बृद्धभत्ता पुर्याइदिन्छु भन्दै जेष्ठ नागरीकहरुको सेन्टिमेन्टमा खेलेर चुनाव जितेको आरोप वर्तामान सरकारलाई छ । नेकपाका एक नेताले आफुहरुको घोषणापत्रमा भएको कतिपय बाचा बजेटले सम्बोधन गर्न नसकेपछि सर्वत्र त्यही विषयलाई लिएर आलोचित हुनुपरेको भन्दै पुरक बजेटको आवश्यकताको विषयमा चर्चा भएको ती नेताले भने । पुरक बजेट कहिले ल्याउने, कसरी ल्याउने विषय परिपक्क भने नभइसकेको ती नेताले भने । 

सरकारमा समेत पुरक बजेटबारे छलफल शुरु भएको पुष्टि गर्दै एक मन्त्रीले रातोपाटीसँग भने, ‘पुरक बजेटको विषय पहिला राजनीतिक सहमति जुटाएपछि अगाडि बढछ् । निश्चित समय भनेर तोकिएको छैन अहिलेसम्म ।’

उसो त पुरक बजेटका विषयमा नेकपाकै एक अध्यक्ष प्रचण्डले घुमाउरो भाषामा संकेत गरिसकेका छन् । मंगलबार आफ्नै निवासमा पत्रकार भेला पारेर बृद्धभत्ता बढाउन नसक्दा बुढाबुढी आमाबुबाले सराप्न थालेको भन्दै अब यस विषयलाई कसरी हुन्छ सम्बोधन गर्नुपर्ने बताएका थिए । उनले पुरक बजेट ल्याएर हुन्छ वा अरु कुनै माध्यम हुन्छ त्यसलाई प्रयोग गरेर बृद्धभत्ता थोरै भएपनि बढाउनुपर्ने बताए । उनको अभिव्यक्तिले सरकारले अहिले पुरक बजेटको आवश्यकता महसुस गरिसकेको स्पष्ट हुन्छ । 

उनले बृद्धभत्ता दिँदा आशिर्वाद दिने बुढाबुढीले अहिले जिल्लामा जाँदा आफुहरुलाई सराप्न थालेको देखेर नरमाइले लागेको समेत बताएका थिए । एकैपटक पाँच हजार बढाउन नसकेको भएपनि थोरै बढाइदिएको भए ति बुढाबुढीले आशिर्वाद दिने थिए,’ प्रचण्डले पत्रकारसँग भेटघाट कार्यक्रममा भने । 

दुई तिहाइको सरकार भएपनि जनताको भावना अनुसार काम गर्न नसकेपछि बर्तामान सरकारप्रति जताततै आक्रोश देखिन्छ । पाँच बर्षको लागि जनताले चुनेका नेताहरुप्रतिनै आमजनताको वितृष्णा बढ्न थालेको पार्टी भित्रैकाले स्वीकार्न थालेका छन् । 

प्रचण्डले त सरकारको कामको कमजोरीलाई स्वीकार्दै ठोस पहल अनिवार्य भएको समेत बताउन थालेका छन् । 

पार्टीभित्रै अर्थमन्त्रीको विकल्पको खोजी

सरकारले करको बोझले आमनागरीकलाई थिचेपछि बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडामाथि असन्तुष्टिका चाङहरु थुप्रिएका छन् । जनमत बुझ्दा जनता कसैप्रति सबैभन्दा बढी असन्तुष्टि छ भने त्यो हो अर्थमन्त्री । 

हुनत उनको विकल्पका कुराहरु यसअघि नै पार्टी भित्र उठिसकेको छ । कतिपयले त उनको विकल्पको खोजी गर्न समेत भनिसकेका छन् । 

यता, प्रचण्डले पनि कुनै एक जना मन्त्रीको पद भन्दा राज्य र पार्टी ठूलो  हुने भन्दै जोसुकै भएपनि सरकार असफल बनाउने, जनतालाई  निराश बनाउने मन्त्रीविरुद्ध स्टेप लिनैपर्ने बताएका थिए । 

यदि सरकारले जनतालाई असन्तुष्ट बनाउने मन्त्रीप्रति साँच्चै स्टेप लिन थाल्यो भने त्यसको निशानामा अर्थमन्त्रीनै अग्रभागमा देखिन्छन् ।

अर्थशास्त्रका जानकार मानिने पूर्व गर्भनर समेत रहेका डा. युवराज खतिवडाले देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने कोशिस गरेका छन् भनेर विश्वास गर्नेहरुभन्दा बामपन्थी जनमत भत्काउने उनले काम गरिरहेका छन् भन्ने बुझाइ भएका धेरै छन् । खतिवडाकै निर्णयले बामपन्थी सरकारमा प्रश्न उठ्दै गएको सरकारभित्रैबाट सुनिने गुनासो हो ।  

हुन त अर्थमन्त्रीले विभिन्न भाषणहरुमा भन्ने गरेका छन्, ‘शुरुमा गाली, त्यसपछि ताली’ भनेर । अहिले आफुलाई गाली गर्नेहरु पनि कालान्तरमा गएर आफ्नो कामको परिणामलाई देखेर ताली बजाउने उनको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप