शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ वर्षभित्र पूर्णरूपमा सीधै बैङ्कबाट सामाजिक सुरक्षाभत्ता पुर्‍याउने यस्तो छ सरकारी योजना

बिहीबार, २१ भदौ २०७५, १४ : ००
बिहीबार, २१ भदौ २०७५

काठमाडौँ । यस वर्ष ३ हजार वडामा अनलाइन प्रविधिमार्फत सामाजिक सुरक्षाभत्ता वितरण प्रणाली स्थापना गर्ने पञ्जीकरण विभागले जनाएको छ । रातोपाटी डटकमसँग कुरा गर्दै विभागका महानिर्देशक रूपनारायण भट्टराईले अहिले १७ सय वडामा यो प्रणाली सुरु भएको जानकारी दिए ।

७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा आगामी ५ वर्षभित्र पूर्णरूपमा अनलाइन माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गर्ने उनले बताए । यो वर्ष सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले दिएको ४१ अर्बमध्ये ३८ अर्ब स्थानीय निकायमा पठाइएको महानिर्देशक भट्टराईले जानकारी दिए ।  

दूरसञ्चार प्राधिकरणले सेवा पु¥याएको र बैङ्किङ सेवा पुगेको ठाउँमा सीधै व्यक्तिको खातामा सामाजिक सुरक्षाबापतको भत्ता दिने व्यवस्था गर्न थालिएको हो । 

यो आर्थिक वर्षमा २ वटा प्रदेशमा अनलाइन माध्यमबाट रकम भुक्तानीको प्रक्रिया थालिएको पञ्जीकरण विभागका महानिर्देशक भट्टराईले जानकारी दिए  । हालसम्म सामाजिक सुरक्षाका लागि २३ लाख ९० हजार जनताको सूचना सङ्कलन गरेको उनले बताए । 

यस्तै दोहोरो पेन्सन खानेलाई कडाइ गर्न प्रहरी किताबखाना, सैनिक, निजामती, शिक्षक किताबखाना र भारतीय वेलफेयर पेन्सन होल्डरको आँकडा लिइएको उनले बताए । दोहोरो पेन्सन खानेको लगत कट्टा गरिने र एकातिरको मात्र पेन्सन लिने व्यवस्था गरिने उनले बताए । ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, बालबालिका आदिले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

हातहातमै नगद दिने प्रक्रियाका कारण अनियमितता बढ्ने समस्यापछि अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा भत्ता दिने लागिएको हो । 

अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा कोष तथा लेखा नियन्त्रण कार्यालयले त्यसको अभिलेख राख्ने र त्यहाँबाट व्यक्तिको खातामा पेस्कीका रूपमा पैसा जान्छ । व्यक्तिले सामाजिक सुरक्षा भत्ता बुझेपछि बैङ्कले त्यसको अभिलेख राख्छ । 

अनलाइन प्रविधिलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि विभिन्न बैङ्कहरू, नेपाल विद्युत प्राधिकरण र दूरसञ्चार प्राधिकरणसँग पनि पञ्जीकरण विभागले छलफल गरिरहेको छ । 

सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म आउन नसक्नेहरूका लागि स्थानीय तहले सूची बनाउने र बैङ्कले नै व्यक्तिका हातहातमा रकम पु¥याउने व्यवस्था गर्ने उनले बताए । यस्तै रौतहट र पाँचथरमा सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको उजुरी आएपछि त्यसबारेमा छानविन भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप