बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डलर मजबुत हुँदा भारतीय अर्थतन्त्रमा धक्का, स्थिर विनिमयदरले नेपाललाई कस्तो असर ?

बुधबार, २० भदौ २०७५, १२ : ४२
बुधबार, २० भदौ २०७५

काठमाडौँ । डलरले दैनिक कीर्तिमान कायम गर्दै आएपछि यतिबेला भारतसँगको स्थिर विनिमयदर पुनरावलोकनबारे बहस सुरु हुन थालेको छ । 

आफूलाई उदार अर्थतन्त्रवादी मान्नेहरू मुद्रालाई स्वतन्त्र छोड्नुपर्ने तर्क राख्छन् तर स्वतन्त्रभन्दा पनि भारतसँग भने स्थिर पुनरावलोकन गर्नुपर्ने धारणा राख्छन् भने अर्काथरी नेपालजस्तो ६०÷६५ प्रतिशत ब्यापार भारतसँग मात्रै भएको देशले भारत र नेपाली रुपियाँको विनिमयदरलाई स्वतन्त्र छोडिँदा नेपालको अर्थतन्त्रले धान्नै नसक्ने अवस्था आउने बताउँछन् ।  

पछिल्लो समय अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएपछि डरलको मूल्यमा वृद्धि भएर विश्व अर्थतन्त्रलाई प्रभावित बनाइरहेको छ । डलरको मूल्य सम्बन्धित देशको आर्थिक गतिविधिमा निर्भर हुन्छ । बलियो अर्थतन्त्रले विश्वभरको लगानी आकर्षित गर्छ ।  अमेरिकी अर्थतन्त्र यतिबेला बलियो देखिएकाले उसले विश्वभरको लगानी आकर्षित गरिरहेको खबरहरू आइरहेका छन् । 

नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री  नेपाल र भारतको विनिमयदर स्थिर राख्नु नै नेपालका लागि फाइदा भएको तर्क गर्छन् । भारतीय मुद्रासँग नेपाली मुद्रालाई स्वतन्त्र छोडिँदा भारतीय अर्थतन्त्र बलियो हुनेवित्तिकै नेपाली रुपियाँ झन् कमजोर भई नेपालले नोक्सानी बेहोर्नुपर्ने स्थिति आउन सक्ने क्षेत्रीको भनाइ छ ।  भारतमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन कम भएपछि र भएका लगानी पनि फिर्ता जान थालेपछि भारतीय मुद्रामा धक्का लागेको खबरहरू सार्वजनिक भएका छन् । 

भारतसँगको स्थिर विनिमयदरका कारण भारतीय रुपियाँ डरलको तुलनामा निकै कमजोर भएपछि त्यसको प्रक्ष्यक्ष असर नेपाली रुपियाँमा पर्न गएको हो । वि.सं. २०१३ सालमा भारत र नेपालको स्थिर विनिमयदर कायम भएको हो । डलरको बढ्दो मूल्यसँगै भारतको चालुखाता लगातार घाटामा गइरहेको छ । यद्यपि भारतमा विदेशी मुद्राको सञ्चिती पर्याप्त रहेको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसले गर्दा तत्काल महँगी नबढ्ने पनि उनीहरूले भनेका छन् ।

यता नेपाल राष्ट्रबैङ्कका गर्भनर पनि विभिन्न सार्वजनिक कार्यक्रममा आफूहरूसँग १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेको बताउँदै आएका छन् । 

पूर्वगर्भनर क्षेत्री अब नेपालीहरूले अनावश्यक उपभोगमा कटौती गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘एकजनाले २/३ वटा मोबाइल बोक्छन् । त्यो कतिको आवश्यक हो ? हामी सबैले हेक्का राख्नुपर्छ । साँच्चै राष्ट्रलाई माया गर्ने हो भने कसैले पनि अनावश्यक उपभोगलाई बढावा दिनु हँुदैन ।’

यता, अर्थविद शङ्कर शर्मा भारतीय रुपियाँसँग नेपाली रुपियाँलाई एक पटक पुनरावलोकन गर्नुपर्ने बताउँछन् । उनले नेपाली रुपियाँलाई भारतीय रुपियाँसँग स्वतन्त्र नछोडिदिएर एक पटक के कति दर कायम गर्न सकिन्छ, त्यसलाई पुनरावलोकन गर्ने बेला भएको उल्लेख गरे । जबसम्म देशले निर्यात बढाउन सक्तैन, तबसम्म भारतसँगको मुद्रालाई स्वतन्त्र छोड्दा नेपाललाई उल्टै घाटा हुने उनको तर्क छ । 

डलर, सुन र तेलको सम्बन्ध 
डलर र सुनको सम्बन्ध परस्पर विपरीत हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता हो । अपवादबाहेक यिनीहरूको सम्बन्ध विपरीत नै हुन्छ । अमेरिकी डलर, सुन र संयुक्त अधिराज्य अमेरिकाको अर्थतन्त्रको त्रिकोणत्मक सम्बन्ध हुन्छ ।  अमेरिकी अर्थतन्त्र मजबुत  हुँदा  डलरको मूल्य बढ्छ । सुनमा गरिएको लगानी डलरतर्फ आकर्षित हुँदा सुनको मूल्यमा गिरावट आउँछ । 

लगानीकर्ता जहिले पनि सुरक्षित र प्रतिफल दिने स्थानमा लगानी गर्न रुचाउँछ । लगानीको प्रतिफल आर्थिक रूपले बलियो भएको देशबाट नै पाइने हो । डलरको मूल्य त्यसको माग र आपूर्ति,  सेन्टिमेन्ट, बजारको मनोविज्ञान र प्राविधिक कारणले निर्धारण गर्छ ।

अर्थतन्त्र मजबुत हुँदा आर्थिक क्रियाकलाप बढ्छ र तेलको खपत पनि बढ्न थाल्छ ।  कच्चा तेलको माग बढी हुन थाल्छ । माग बढी भएपछि मूल्य स्वतः बढ्छ । माग र आपूर्तिमा सन्तुलन हुँदा मूल्यमा पनि सन्तुलन कायम हुन्छ । 

पछिल्ला दिनहरूमा डलरको माग अत्यधिक र आपूर्ति सो अनुसार हुँन नसक्दा मूल्य आकासिएको छ ।  बुधबार (आज) एक अमेरीकी डलर खरिद गर्न ११४ रुपियाँ २४ पैसा खर्चर्नुपर्छ । यो अहिलेसम्मकै उच्च हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप