केन्द्रीय संस्करण
भूराजनीति

स्ट्रेट अफ हरमुजको महत्व बढाउन र घटाउन इरान र साउदी अरबबीचको प्रतिस्पर्धा

person explore access_timeभदौ २०, २०७५ chat_bubble_outline0

अस्ति हामीले स्ट्रेट हरमुजको कुरा गर्‍यौँ । त्यसमा साउदी अरब र इरानको समीकरण, खटपट र खाडी वरिपरि रहेका देशहरूको आपसी सम्बन्धको कुरा गर्‍यौं । 

त्यसका लागि एउटै एपिसोड प्रयाप्त थिएन । आज हामी त्यो व्याख्यानमा छुटेका कुरा गर्नेछौँ । 

मैले बारम्बार एसियाको चारवटा फ्लास पोइन्टको कुरा गर्ने गरेको छु । त्यसमा पहिलो इरान हो, अनि कोरियाली प्रायद्वीप हो, त्यसपछि मलाका स्ट्रेट र अर्को चाहिँ नेपाल हो । 

यी फ्लास पोइन्ट मध्ये मलाका स्ट्रेटमा पछिल्लो समय साउथचाइना सीमा भइरहेको लफडा सुन्नु भएकै छ । कोरियाली प्रायद्वीपको कारणले त्यहाँ सैन्यकरण बढेको बढ्यै छ ।

इरानमा आएको कुरा त हामीले अघिल्लो व्याख्यानमा पनि कुरा ग¥यौँ । अब अर्को फ्लास पोइन्ट नेपालमा पनि त्यो हुने नै वाला छ, लेखेरै राखे हुन्छ । त्यसको लागि हाम्रा नेतृत्व चाहिँ तयार छैन ।

हामी अब स्ट्रेट अफ हरमुज र पर्सियाली खाडीमा फर्किऔँ । भर्खरैको एउटा समाचारबाट सुरु गरौँ । हालसालै क्यास्पियन सागरको वरपर रहेका यसका उपभोक्ता राष्ट्रहरूबीच एउटा सम्झौता भयो । 

सोभियत सङ्घको पालामा यसका उपभोक्ता राष्ट्रहरू दुइटा मात्र थिए, इरान र सोभियत सङ्घ । तर अहिले सोभियत सङ्घको विखण्डनपछि यसका उपभोक्ता राष्ट्रहरू बढेर पाँचवटा भएका छन् । यी इरान, अजरबैजान, रुस, तुर्कमेनिस्तान र कजाखस्तान । सोयिभत सङ्घको विखण्डनदेखि नै यी पाँचैवटा राष्ट्रहरूले एउटा सम्झौतामा पुग्न खोजिरहेका थिए । 

सम्झौता हुँदा क्यास्पियन सागरदेखि पर्सियन खाडीसम्म एउटा नहर बनाउन पाउनुपर्छ भन्ने इरानको माग थियो । इरानको पहिलेदेखिको माग हो, ऊ स्वेज नहरमा चल्ने आकारको ठूलो जहाज चल्ने हिसाबको नहर खन्न चाहन्छ । रुसलाई चाहिँ त्यो नहर बन्यो भने क्यास्पियन सागरमाथिको आफ्नो रणनीति कमजोर हुन्छ भन्ने थियो ।

यो नहर बन्यो भने यहाँबाट मध्यएसियाली देशहरूको हिन्द महासागरसम्म पहुँच हुन्छ । यसो भयो भने क्यास्पियन सागरसँग छोएका राष्ट्रहरूको सीधै भारतसम्म पहुँच पुग्छ । 

यो सानो कुरा होइन । भारत र यस वरपरको क्षेत्र भनेको १ अर्ब ६५ करोड बराबरको जनसङ्ख्या भएको क्षेत्र हो । त्यत्रो जनसङ्ख्याको उपभोग क्षमता कति हुन्छ, अनुमान गर्नुस् । 

इरानले सोभियत सङ्घको समयदेखि नै यो नहरका लागि रुससँग गनगन गरिहरेको छ । पहिले इरानको शाह अमेरिका परस्त भएकाले त्यो सम्भव भएन । अब अहिले रुस र इरानको कुरा मिल्छ तर नहर बनाउने कुरामा भने स्वार्थ मिलिरहेको थिएन, यो केही अघिको कुरा हो । 

यहाँ अर्को कुरा पनि जोड्न चाहन्छु । नेपालमा भारतसँग रिस उठ्दा चाइना कार्ड खेल्ने चलन छ । हामीलाई त केही फाइदा हँुदैन तर यसले चीनको भारतसँगको बार्गेनिङ पावर बढाइदिन्छ । 

त्यो क्षेत्रमा पनि त्यस्तै छ । इरान जति साउदी अरबको विपक्षमा पुग्छ रसियाको साउदी अरब र लाल सागरमा इजिप्ट र साउदीसँग उति बार्गेनिङ पावर बढ्छ । 

कहाँसम्म भने इरानसँग युद्ध हुने अवस्थामा रसियाले साउदीलाई आफ्नो मिसाइल किनाउन सक्छ । दुनियामा बनियागिरीमा कोही मित्र हुँदैन । संसारमा सबै कुराको ‘ट्रेड अफ’ हुन्छ । 

नेपालमै पनि यस्तै ‘ट्रेड अफ’भएको कुरा एउटा सन्दर्भ भन्छु । महेन्द्रले बीपीलाई हटाएर आफ्ना एकाधिकार व्यवस्था स्वीकारिदिए बापत भारतसँग कालापानीको ‘ट्रेड अफ’ गरे । अनि त्यसलाई छोप्नका लागि ‘फल्स फ्लाग’को रूपमा कोशी र गण्डकको कुरा बढी उचालियो । कोशी र गण्डकमा पानीको बाँडफाड बराबर गरिएन होला, हामीलाई घाटा भयो होला, त्यो मेरो पनि तर्क हो । तर त्यहाँ कालापानीमा जस्तो सार्वभौमिकतामा सम्झौता गरिएको छैन । यस्तोसम्म हुन्छ ‘ट्रेड अफ’मा ।

जुन बेला इरानले स्ट्रेट अफ हरमुजमा ‘चोक’ गर्छु भन्यो रुसले आफैले अग्रसर भएर क्यास्पियन सागर वरपरका राष्ट्रहरूबीच सम्झौता हुनुको केही कारण त पक्कै छ । रसिया पनि अहिले आएर स्ट्रेट अफ हरमुजको महत्व अझ बढाउन चाहन्छ । 

क्यास्पियन सागरको दक्षिणतर्फ इरबोज भन्ने एउटा पहाड पर्छ । इरबोज भन्ने त्यो पहाडमा लक बनाएर २००० मिटरमाथिसम्म पानी उठाएर इरान त्यसलाई पर्सियन खाडीमा लाने योजनामा छ । यस्तो भयो भने स्ट्रेट अफ हरमुजको महत्व अझ बढ्छ, इरानको वर्चस्व झन बढ्छ । 

रुसले अहिले आएर इरानलाई इरबोज अर्थात अजरबैजानपट्टिबाट खुर्रम सहर हुँदै करुण नदी भएर इराक र इरानको सिमाना हुँदै पर्सियन खाडीमा नहर बनाउँ भनेको छ । त्यो ग¥यो भने खर्च कम हुन्छ ।

तर इरानभने पूर्वतर्फबाट खास गरी उसको दक्षिण खुर्सान, तेरावान र बलुचिस्तान र सिस्तानमा छरिएर रहेको एउटा ठूलो मरुस्थल छ । त्यसलाई आवाद गराउने हिसाबले ऊ नहर बनाउन चाहन्छ । तर यहाँबाट ल्याउँदा नहर पश्चिममा भन्दा ५०० किमिसम्म बढी पर्छ । त्यताबाट ल्याएर गल्फ अफ ओमनको छब्बर बन्दरगाहमा जोड्ने उसको योजना छ । 

इरानलाई रुसले खर्च गरिदियोस् भन्ने छ । इरान आफू रुसको रणनीतिक मित्र भएर बसेकाले आफ्नो लागि खर्च गरिदियोस् भन्ने चाहन्छ । जसरी दक्षिण कोरिया–चीनको मुखमा बसेर अमेरिकाको स्वार्थ रक्षक भइदिएबापत अमेरिकाले ठूलो खर्च गरिदिएको छ, नि त्यस्तै । 

यदि उक्त नहर बन्यो भने दक्षिण एसिया क्षेत्रका मुलुक विशेष साउदी अरब र अन्य अरबी मुलुकहरूसँग हाल रहेको तेल निर्भरताबाट मुक्त हुन्छ । रुस हुँदै कजाखस्तानबाट तेल आउन थाल्छ । 
उता साउदी अरब र अमेरिका पनि चुप बसेका छैनन्  ।

साउदी अरबको रणनीति

अब साउदी अरबलाई पनि स्ट्रेट अफ हरमुज बाइपास गर्नुप¥यो । पाइपलाइन बनाए पनि त्यसबाट १५,२० प्रतिशत मात्रै तेल जाने हो । भीएलसीसी, यूएलसीसीजस्ता जहाजत प्रयोग गर्नैपर्छ । उसले पनि स्टेट अफ हरमुजको महत्व कसरी घटाउने भनेर सोचिरहेको छ । 

इरानले यसको महत्व बढाउन लागेको छ भने साउदी अरब घटाउन लागेको छ । 

साउदी अरब र यूएईको कुरा के छ भने पैसा हामी हाल्छौँ तर कतारको छेउमा एउटा खाडी छ त्यहाँबाट ७०० मिटर मात्रै पानी उठाएर ओमनसम्म पुग्ने एउटा नहर बनाउन ओमनसँग अनुमति चाहन्छ । पर्सियन खाडीबाट र गल्फ अफ ओमनमा पुग्न ओमन सहमत भए साउदी र ओमन दुईटा देश भएर नहर बनाए पुग्ने अवस्था छ । 

अब दुवै गुट आफ्नो नहर बनाउने अर्कोको बन्न नदिने रणनीतिमा लागेका छन् । यसका लागि उनीहरूले देखिने नदेखिने गरी सबै गरिरहेका छन् । 

यो पनि पढ्नुहोस्

इरानको अस्त्र ‘स्ट्रेट अफ हरमुज’ र शक्ति राष्ट्रको तानातानी

इथियोपिया : सुखी र आधुनिक राष्ट्र कसरी विश्वको गरिब राष्ट्र बन्यो ?

के छ बब–अल माण्डबमा, जसलाई नियन्त्रण लिने प्रतिस्पर्धामा यमन बनिरहेको छ शक्तिराष्ट्रको युद्धभूमि

भूराजनीतिमा ऊर्जाले लामो समय प्रधान भूमिका खेल्नेछ

भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ?

नोट : यो शनिबारको अरुणकुमार सुवेदीको लेक्चर स्ट्रेट अफ हरमुज र हिन्द महासागर वरपरका शक्ति अभ्यासमा केन्द्रित हुनेछ । इच्छुक पाठकहरू नयाँ बानेश्वरस्थित के एन्ड के कलेजमा अपरान्ह हुने लेक्चरमा आउन सक्नुहुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...