शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिलगङ्गाद्वारा २२ वर्षमा ५५ लाख लेन्स उत्पादन, १७ राष्ट्र नियमित ग्राहक

बुधबार, २० भदौ २०७५, ११ : २८
बुधबार, २० भदौ २०७५

काठमाडौँ । आँखाको भित्रपट्टि एउटा पारदर्शी लेन्स हुन्छ । सोही लेन्स अपारदर्शी हुनुलाई नै मोतीबिन्दु भनिन्छ । अप्रेसनपछि लेन्स राख्नु अनिवार्य जस्तै हो । लेन्स नराखेको खण्डमा आँखा देख्न सकिन्न । नेपालमा आजभन्दा २२ वर्ष पहिला हुनेखाने वर्गले आँखामा लेन्स राख्थे भने आर्थिक अवस्था कमजोर भएका वर्गले मोतीबिन्दुको अप्रेसन गरे पनि लेन्स नराख्दा आँखा देख्दैन थिए । कारण त्यो समयमा लेन्सको मूल्य २२ देखि २५ हजार थियो । 

तर अहिले  पैसाको अभावले लेन्स किन्न सकिएन भन्ने कुरा सुन्न र देख्न पाइन्न । तिलगङ्गा संस्थानले नागरिकलाई निकै सस्तो, सुलभ, निःशुल्क लेन्स पनि दिँदै आएको छ । मोतीबिन्दुको शल्याक्रियामा अपारदर्शी बनेको आँखाको लेन्स निकालेर त्यसको ठाउँमा ‘इन्ट्राअकुलर लेन्स’ अर्थात तिलगङ्गाले उत्पादन गर्दै आएको लेन्स राखिन्छ । उत्पादनको अवधिदेखि अहिलेसम्म ३५ लाख नेपालीको आँखामा नेपालमा उत्पादन भएको लेन्स रहेको छ । 

यसरी गरियो नेपालमा लेन्स उत्पादन 

तिलगङ्गा संस्थान लेन्स उत्पादन विभागका नवीन प्रकाश अधिकारी भन्छन्– ‘आँखाको लेन्स महँगो भएपछि सामान्य आर्थिक अवस्था भएको नेपालीले किन्न सक्ने अवस्था थिएन । त्यो समयमा धनीवर्गको आँखामा मात्रै लेन्स प्रयोग गरिन्थ्यो । गरिब परिवारमा मोतीबिन्दु भयो भने अप्रेसन हुने तर लेन्स राख्न सक्ने पैसा नहुँदा अप्रेसनपछि पनि आँखा देख्न सक्ने अवस्था हुँदैन थियो । जुन अप्रेसनको कुनै अर्थ थिएन ।’ अधिकारीका अनुसार तिलगङ्गा संस्थानले नेपाली नागरिकको यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा तिलगङ्गाका डेपुटी डाइरेक्टर डाक्टर रोहित सैजु र उनका अस्ट्रेलीयन सहयोगी साथी डाक्टर फ्रेडल नेपालमा आँखाको लेन्स उत्पादन गरेको खण्डमा सहजै रूपमा सबै नेपालीले प्रयोग गर्ने सक्ने भन्दै आँखा लेन्स उत्पादन विषयमा कुरा भयो । डाक्टर फ्रेडलर्सको नाममा अस्ट्रेलियामा फ्रेडल फाउन्डेसन थियो । सोही फाउन्डेसनको टेक्निकल सपोर्टमा नेपालमा सन् १९९६ मा सुरु गरिएको हो । त्यसपछि तिलगङ्गाले उत्पादन गरेको लेन्स १० डलरमा बिक्री गर्न थाले । २ सय डलरको ठाउँमा १० डलरमा लेन्स पाउँदा धेरै नेपालीले तिलगङ्गाले उत्पादन गरेको लेन्स प्रयोग गर्न थाले । एउटै क्वालिटीको लेन्स निकै कम मूल्यमा नेपालमा नै उत्पादन हुन थालेपछि अन्य विदेशी कम्पनीहरूले उत्पादन गरेको लेन्सको पनि मूल्य घट्दै जानथाल्यो । तिलगङ्गाको उत्पादनले नेपालमा मार्केट लिनथाल्यो ।

लेन्स उत्पादनमा नेपाल साउथ एसियामा पहिलो राष्ट्र 

नेपालमा सन् १९९६ मा तिलगङ्गा संस्थानले अस्पतालले आँखाको लेन्स उत्पादन गर्दा नेपाल साउथ एसियामा अन्य कुनै पनि राष्ट्रले लेन्स उत्पादन सुरु गरेको थिएन । तिलगङ्गा संस्थान साउन एसियामा पहिलो राष्ट्र रहेको संस्थानले जनाएको छ । लेन्स उत्पादनको सुरुवात नहुँदासम्म नेपालमा अमेरिकन लेन्स निकै बजार पाएको थियो । सो समयमा २ सय अमेरिकन डलर अर्थात नेपाली २२ देखि २५ हजार मूल्यमा लेन्स किन्नुपर्ने बाध्यता थियो । 

नेपाली नागरिकको आँखाको लेन्ससम्बन्धी समस्यालाई मध्यनजर गर्दै सुरुवात गरिएको तिलगङ्गाको कामले धेरै नेपालीमा राहत मिलेको छ । उत्पादन सुरु गरेको पहिलो वर्ष ४ देखि ५ हजार लेन्स उत्पादन गरिन्थ्यो । हाल एक वर्षमा ४ देखि ५ लाख लेन्स उत्पादन भइरहेको छ । अहिले संस्थानले नेपाली अस्पतालहरूलाई २४० रुपियाँमा लेन्स बिक्री गर्दै आइरहेको छ । लेन्स उत्पादन विभागका निर्देशक नवीन प्रकाश अधिकारीका अनुसार २४० को बिक्री हुने सबैभन्दा कम मूल्य लेन्स हो । यो बेसिक लेन्स हो । यो लेन्स बढी मात्रामा आँखा शिविरहरूमा प्रयोग गरिन्छ । फुल लेबल लेन्स भने १२ सयमा बिक्री हुँदै आइरहेको छ । यो नेपालीले तिर्नुपर्ने मूल्य हो भने बाहिरी देशहरूमा, देश अनुसार १८ देखि २० डलरमा बिक्री गर्दै आइरहेको अधिकारीले बताए । हाल तिलगङ्गाबाट ५ वटा मोडेलको लेन्स उत्पादन गरिन्छ । पीएमएमए मोडेलको एफएच वनजेरो फाइप, एफएच वनजेरो सिक्स र अन्य ३ प्रकारको मोडल गरेर ५ प्रकारको लेन्स उत्पादन हुँदै आइरहेको छ । 

१७ देश नियमित ग्राहक 

अहिलेसम्म तिलगङ्गाले उत्पादन गर्दै आइरहेको आँखाको लेन्स ६० देखि ७० वटा देशमा पुगिसकेको छ ।  उत्पादनको सुरुवातको समयमा एसियन कन्ट्रीमा आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश नेपाल नै भएको कारण  धेरै देशमा नेपाली लेन्स पुग्न सफल भयो । 

बिस्तारै व्यापारकै रूपमा नियमित लेन्स लाने देशहरू भने अहिले १७ वटा रहेका छन् । यी देशहरूमा वर्षमा २ लाखदेखि साढे दुई लाखसम्म लेन्स बिक्री गर्दै आएको छ  । नेपालमा आँखाको लेन्स बिक्री गर्दै खासै फाइदा नभएको कारण विदेशी व्यापारले सपोर्ट गरेको छ ।

देशअनुसार लेन्सको मूल्य पनि फरक हुनेगरेका छन् । राम्रो इन्कम भएको देशलाई केही बढी र इन्कम कम भएको देशलाई कम मूल्यमा लेन्स बिक्री गर्दै आइरहेको छ । हाल चाइना, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, कोम्बोडिया, साउथ अफ्रिका, मङ्गोलिया, स्पेनलगायतका १७ देशहरूले तिलगङ्गाले उत्पादन गर्दै आएको लेन्सका नियमित ग्राहक हुन् ।

स्थापनाकालदेखि अहिलेसम्म ५५ लाख लेन्स उत्पादन भइरहेको छ । त्यसमध्ये ७० प्रतिशत अर्थात ३५ लाख लेन्स नेपालीकै आँखामा प्रयोग गरिएको छ । अन्य २० लाख विदेशी नागरिकले प्रयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय व्यापारमा गाह्रो

लेन्स उत्पादन तथा बिक्री गरेको यो लामो समयसम्म कुनै पनि देशबाट नकारात्मक प्रतिक्रिया आएको छैन भन्ने संस्थानको दाबी छ ।  अन्तर्राष्ट्रिय व्यापारमा नेपाल सानो राष्ट्र भएको कारण झट्ट विश्वास गरिहाल्ने वातावरण भने बनिसकेको छैन ।

अन्तर्राष्ट्रिय व्यापारमा तिलगङ्गालाई नयाँ अस्पताल र नयाँ डाक्टरलाई नेपालमा उत्पादन भएको लेन्स प्रयोग गर्न धेरै कन्भिन्स गर्नुपर्नै हुन्छ । अधिकारी भन्छन्– ‘नयाँ डाक्टर रिक्स लिन चाहँदैनन्, नयाँ लेन्स प्रयोग गर्दा बिरामीलाई समस्या भएको खण्डमा डाक्टर जिम्मेवारी हुने भएको हँुदा उनीहरू अरू देशको लेन्स एक पटकमा नै विश्वास गर्छन् भने नेपालको लेन्स प्रयोग गर्ने बारेमा पटक÷पटक सोच्नेगर्छन् । मेड इन नेपाल भन्ने कुरामा कन्भिन्स गर्न निकै गाह्रो हुनेगरेको छ ।’ नियमित प्रयोग गर्ने डाक्टरले भने विश्वास गर्ने गरेका छन् । तर नेपालमा उत्पादन भएको लेन्सबाट अहिलेसम्म कुनै पनि असर र नकारात्मक प्रतिक्रया नआएको अधिकारीले बताए ।

हामीले भन्न सक्छौँ, विश्व व्यापारमा नेपाल एउटा सानो झिल्को जस्तै हो । जसले गर्दा अन्तर्राष्ट्रिय व्यापारमा नेपालमा उत्पादन भएको बस्तु बिक्री गर्न निकै गाह्रो हुने गरेको छ । तर नेपालमा लेन्स उत्पादनको लागि यूके, अमेरिकाबाट नै सामान खरिद गर्दै आइरहेको छ । अधिकारी भन्छन्– ‘अहिले चाइना, भियतनाम, थाइल्यान्डले हामीले व्यापार गरेको देशमा लेन्सको क्वालिटी प्रमाणित गर्न सकेका छैन । उनीहरू अझै पनि प्रतीक्षामा छन् तर नेपालले त दशौँ वर्षदेखि व्यापार गर्दैआइरहेको छ । हामीले यो कुरामा खुशी हुनुपर्ने ठाउँ छ ।’

तिलगङ्गामा उत्पादन भएको लेन्स २ सय रुपियाँमा पाइन्छ भने सोही क्वालिटीको अमेरिकामा उत्पादन भएको लेन्स १२ सय नेपाली बजारमा नै पर्ने गरेको  छ । तिलगङ्गा अस्पतालले एक वर्षमा १३ हजारको आँखा सर्जरी गर्नेगरेको छ । सर्जरी गरेका सबै नेपालीको आँखामा तिलगङ्गाको लेन्स निःशुल्क रूपमा प्रयोग गरिँदै आएको छ ।

उत्पादन विभागलाई सारिने 

केही समयअघि सरकारले राजधानीको गौशालास्थित तिलगङ्गा आँखा प्रतिष्ठानलाई १० करोड रुपियाँ सहयोग गरेको छ । नेपाल आँखा कार्यक्रमले उत्पादन गर्दै आएको मोतीबिन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सरकारले १० करोड अनुदान उपलब्ध गराएको छ ।  सरकारको सहयोग प्राप्त भएपछि अब आँखा लेन्स उत्पादन अन्यत्र सार्ने संस्थानले तयारी गरेको छ । हाल पशुपति विकास कोषको जग्गामा रहँदै आएको संस्थानको लेन्स उत्पादन विभाग साँधुरो हुँदा अन्यत्र सर्ने र जग्गाको खोजी भइरहेको निर्देशक अधिकारीले बताए । अब थप दुईवटा नयाँ लेन्स उत्पादन गर्ने तयारीमा संस्थान लागेको छ । आँखा लेन्सका उत्पादनमा विभिन्न किसिमका टुल्सहरू प्रयोग गर्नुपर्ने हुन्छ । एउटा देशमा बनेको टुल्स रिपियरको लागि अर्काे देशमा पठाउनुपर्ने हँुदा नेपालमा एउटा देशमा बनेको सामान फेरि अर्काे देशमा बनाउन मिल्ने नियम भने छैन । अर्थात सोही देशमा बनाउनुपर्ने हुन्छ । यस्ता कुरामा सरकारले सहज बनाउन सके नेपालले राम्रो प्रगति गर्ने संस्थानको विश्वास छ ।   
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप