बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी अस्पतालमा छट्पटाउँदै, डाक्टर भने सडकमा नारा घन्काउँदै

आइतबार, १७ भदौ २०७५, १४ : ४३
आइतबार, १७ भदौ २०७५

काठमाडौं–  नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्यो । 

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 

संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले सरकारले आफूहरुको कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । 

तर, उनीहरुको आन्दोलनका कारण हजारौं बिरामी प्रभावित बने । 
...........
उदाहरण–१
स्थान : कान्ति बाल अस्पताल ।

मिति : २०७५ भदौ १७ गते ।

उनको टाढैबाट घाटी सुन्निएको छर्लङ्ग देखिन्छ ।

कहिले बाबा, कहिले आमा त कहिले हजूरआमाको मुखमा हेर्दै आफूलाई पीडा भएको बताइरहेका छन् । 

६ वर्षका आर्यनलाई लिएर उनका बाबा,आमा उपचारका लागि जनकपूरबाट काठमाडौँसम्म आएका हुन् । 

जनकपुरका अस्पतालमा उपचार सम्भव हुदैन भनेपछि आर्यनको परिवार काठमाडौँ आएको हो । 

‘सकेसम्म छिटो उपचार गर्नुपर्छ भन्ने डाक्टरको सल्लाह अनुसार नै शनिबार साँझ काठमाडौँ आइपुग्यौ’ आर्यनका बाबाले भने,  ‘तर, बिहानै कान्ति बाल अस्पतालमा जाँदा ओपीडी सेवाको टिकट नै बन्द रहेछ, आकस्मिक सेवामा हेर्न नै मान्दैनन् ।’

छोराको अवस्था नाजुक बन्दै गएपछि उनका बाबाले आकस्मिक कक्षमा उपचार गराउने निधो गरेका थिए तर त्यहाँ पनि उनले उपचार सेवा पाउन सकेनन् । 
सोधखोज गरेर आर्यनका परिवारले अस्पतालका कर्मचारी भेटे । 

तर, उपचार गर्नुको साटो कर्मचारीको जवाफ आयो ‘सामान्य बिराम हो, भोलि आउनु ।’  यस्तो जवाफ पाएपछि निराश हुँदै आर्यनको परिवार त्रि.वि शिक्षण अस्पतालतर्फ लाग्यो ।

त्रि.वि शिक्षण अस्पतालमा पनि उनले ओपीडीमा डाक्टर भेट्ने कुरै भएन । ‘कान्तिमा डाक्टर नभेटेपछि टिचिङमा उपचार हुन्छ कि भनेर आइयो । तर, यहाँ पनि डाक्टर नै छैनन् । अव कति समय कुनुपर्ने हो ? हामी त समस्या पर्यौ’ आर्यनका बाबाले निराश मुद्रामा रातोपाटीसँग भने । 
................
उदाहरण–२ 
स्थान : त्रिवि शिक्षण अस्पताल ।
मिति : २०७५ भदौ १७ गते ।

मिरादेवी श्रेष्ठ उमेरले ६० वर्ष पुगिन् । उनी लामो समयदखि घुँडा दुख्ने समस्याबाट पीडित छन् ।

अघिल्लो पटक टिचिङमा उपचारको लागि आउँदा हाडजोर्नीका डाक्टरले  भदौ १७ आउनु भनेका थिए । चिकित्सकको सल्लाह अनुसार नै श्रेष्ठ आज साढे ८ बजे नै गोरखाबाट छोराको साथ लागेर आइन् ।   तर, हाडजोर्नी विभागमा पुग्दा ‘आज डाक्टर छैनन् भोलि आउनु’ भन्ने जवाफ कर्मचारीले दिए । ‘अब के गर्ने ? म त समस्यामा परेँ’ अस्पताल परिसरमा भेटिएकी उनले दुखसो पोखिन् । उनले भनिन् ‘टाढादेखि आइयो, अब कहिले डाक्टर भेटिने हुन् पत्तो छैन । हामी सर्वसाधारणले उपचार नै पाउन नसने भयौं ।’ 

देशकै रिफर सेन्टरको रुपमा रहेको शिक्षण अस्पतालमा दैनिक २ हजार बढिले सेवा लिईदै आईरहेका छन् ।  

आर्यन र मिरादेवी त प्रतिनिधि उदाहरण मात्रै हुन् । 

उनीहरुजस्तौ हजारौ सर्वसाधारण उपचार गर्न अस्पताल पुगेपनि आइतबार त्यसै घर फर्कन बाध्य भए ।

नीजि र सरकारी दुबैतर्फका अस्पतलमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु उपचार अभावमा अस्पतालको भित्तामा टासेको ‘ओपीडी सेवा बन्द छ’ भन्ने सूचना पढेर उपचारै नगरी घर फर्कन बाध्य भएका हुन् ।


आफू अनुकुलको कानुनी व्यवस्था हुनुपर्ने भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा देशभर शुक्रबार ओपीडी सेवा ठप्प भएपछि सर्वसाधारण आफुले पाउने मौलिक हकबाटै बञ्चित हुनुपरेको हो । 

माइतीघरमा आन्दोलनको कार्यक्रम   
सेवाग्राहीहरु अस्पतालमा छटपटिरहेका बेला चिकित्सकहरु भने माइतिघर मण्डलामा प्रदर्शनमा व्यस्त थिए । 

‘मुलुकी अपराध संहिता २०७४’ संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। ।

बिहान १० बजेदेखि प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले माइतिघरबाट नयाँबानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका थिए । 

उनीहरुले आजै ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएका छन् । संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गरिरहेका छन् ।

संघको यसमा छ आपत्ति
 मुलुकी फौजदारी अपराध संहिताको दफा २३० को उपदफा ४ मा चिकित्सा सेवा दिँदा चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्मकैद हुने छ र अंगभंग भएका १५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

त्यस्तै दफा २३२ अनुसार कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाइ लापरवाही वा हेलचक्रयाइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्दा कसैको ज्यान गएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यही  व्यवस्था संशोधन गरिनुपर्ने संघको माग छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप