शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आहा ग्रेटवाल ! २० तस्बिरमा हेर्नुहोस् चीनको ग्रेटवालको सुन्दरता (फोटोफिचर)

आइतबार, १७ भदौ २०७५, १३ : १४
आइतबार, १७ भदौ २०७५

 बेइजिङ–चीनको राजधानी बेइजिङबाट झण्डै ३ घण्टाको यात्रापछि पुगिन्छ उत्तरतर्फ रहेको ऐतिहासिकस्थल ग्रेटवाल । बिहान ८ बजेदेखि ग्रेटवाल अवलोकनका लागि ढोका खुल्ने गर्छ । 

ग्रेटवाल चढ्न तथा अवलोकनका लागि बिहानैदेखि चीनका स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्ने गर्छ । केबलकारबाट सिधै ग्रेटवालको माथिल्लो भागमा पुग्ने सुविधा पनि छ भने पैदलै पनि जान सकिन्छ । चीनको महत्वपूर्ण पर्यटकीय स्थल रहेको ग्रेटवाललाई सन् १९८७ मा यूस्नेस्कोले विश्वसम्पदा सूचीमा समेत राखेको छ । ग्रेटवाललाई अन्तरीक्षबाट समेत देखिने बताइएपनि त्यो सत्य भने हैन । 

इशापूर्व पाँचौ शताब्दीदेखि निर्माण शूरु भएको विश्वको मानवनिर्मित सातौ आश्र्चयभित्र पर्ने ग्रेटवाल माटो र ढुङ्गा प्रयोग गरेर बनाइको छ । उत्तरीक्षेत्रका शक्तिशाली राष्ट्रहरुबाट देशको सुरक्षाका लागि चीनका विभिन्न समयका शासकहरुले ग्रेटवालको निर्माण गराएका थिए । इशापूर्व ५ औ शताब्दीदेखि १६ औं शताब्दीसम्म चीनका विभिन्न शासकहरुले ग्रेटवाल निर्माण गरिएको इतिहास रहेको छ । 
कतै इशापूर्व ६ सय ५६ मा बाह्य आक्रमणबाट बच्नका लागि सबैभन्दा पहिला चू राज्यका राजा चङले सुरक्षाका लागि ग्रेटवाल बनाउन लगाएका थिए । उनले सुरु गरेसँगै विभिन्न कालखण्डका राजा महाराजाहरूले यसको लम्बाई बढाँउदै लगेका थिए । थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आइपुगेको छ ।

ग्रेटवालको दूरीबारे आधिकारिक विवरण पाइदैन । ट्राभल चाइना गाइडका अनुसार यसको लम्बाई २१ हजार १ सय ९६ किलोमिटर रहेको छ । चिनियाँ सरकारको सांस्कृतिक इकाईले सन् २०१२ मा यो विवरण सार्वजनिक गरेको थियो । विभिन्न भागमा फैलिएको ग्रेटवाल मध्ये सबैभन्दा लामो खण्ड मिङ ग्रेटवाल हो यसको कूल लम्बाई ८ हजार ८ सय ५१ किलोमिटर रहेको छ । बेइजिङमा मिङ ग्रेटवाल ५ सय २६ किलोमिटरमा फैलिएको छ ।  
पूर्वमा शान हाइगु आनदेखि पश्चिममा लोप नुरसम्म ग्रेटवाल फैलिएको छ । 
अनुमान अनुसार विभिन्न समयमा ग्रेटवालको विशाल पर्खाल बनाउन लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए । निर्माणका क्रममा २ लाख हाराहारीले ज्यान गुमाएको अनुमान छ । युद्धका क्रममा बन्दी बनाइएकाहरु, अपराध गरेर कैदमा परेकाहरु र सर्वसाधरणलाई ग्रेटवाल बनाँउन प्रयोग गरिएको थियो । 
प्रख्यात पर्खाल मध्ये इशापूर्व २०६ मा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएका थिए । यो पर्खालको अंशको केही अवशेष मात्रै बचेको थियो । यो मिंग वंशले  बनाएको वर्तमान पर्खालको सुदूर उत्तरमा बनेको थियो । चीन सरकारले ग्रेटवालबाट मनग्गे आर्थिक आम्दानी गरिरहेको छ भने ग्रेटवालको संरक्षण पनि गरिरहेको छ । 
चीनको उत्तरक्षेत्रको विशाल भागमा फैलिएको ग्रेटवालको चीनको एक अभूतपूर्ण वास्तुकलाको नमुना हो । घुमफिरमा रुची राख्ने विश्वभरका पर्यटकहरुका लागि ग्रेटवाल एउटा महत्वपूर्ण आर्कषणको केन्द्र बनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप