केन्द्रीय संस्करण

गभर्नरज्यू पुँजीबजार कसरी चल्छ ?

person explore access_timeभदौ १७, २०७५ chat_bubble_outline0

कुनै समय पूर्वकृषि राज्यमन्त्री रहेकी करिमा बेगमले कफी खेतीमा देखिएको ‘पहाडी’ एकाधिकार तोडेर तराई मधेसका गाउँगाउँमा कफी फलाउने भाषण गरेकी थिइन् । उनले त्यतिबेला मधेसमा कफी फलाउने भाषण गर्दैगर्दा कफी खेतीका लागि कति तापक्रम र कस्तो हावापानी जरुरी हुन्छ भन्ने हेक्का राखिनन् । परिणामतः उनको त्यो भाषण सार्वजनिक रूपमै अट्टाहसको विषय बन्यो । 

सामान्यतयाः कफी खेतीका लागि मध्य पहाडी क्षेत्रको हावापानी उपयुक्त मानिन्छ । समुद्री सतहबाट ४ हजारदेखि ६ हजार फिटसम्मको उचाइ र २३ देखि ३० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा कफी खेती राम्रो हुन्छ । तत्कालीन राज्यमन्त्री करिमा बेगमले कफी खेतीबारे यतिसम्मको जानकारी हासिल गरेको भए, त्यसरी आलोच्य हुनुपर्ने थिएन । यस्ता थुप्रै घटनाहरू छन्, जसको फेहरिस्त प्रस्तुत गर्न सम्भव र आवश्यक दुवै छैन । राजनीति गर्नेहरूले भाषणबाजी गर्दा सामान्य प्राविधिक विषयसमेत हेक्का नराख्दा  धेरै ठाउँमा चुक्ने गरेका छन् । 

सार्वजनिक मञ्चमा राजनीतिकर्मी मात्र होइन, विषय विज्ञता हासिल गरेका बौद्धिकहरू पनि ऐनमौकामा चिप्लिने रहेछन् । केही साताअघि केन्द्रीय बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि त्यस्तै अभिव्यक्ति दिएका थिए । उनले पुँजीबजारका लगानीकर्ताहरूको एक निजी संस्थाले गरेको कार्यक्रममा ‘अब जसरी पनि पुँजीबजार बढ्छ’, भन्ने अभिव्यक्ति दिएका थिए । सायद उनको अभिव्यक्ति पुँजीबजारमा लगानीकर्ताहरूलाई उत्साहित बनाउने प्रयत्न थियो । तर उनले जसरी त्यो प्रयत्न दर्शाए, त्यसले बजार सञ्चालनको विधि, प्रक्रिया अनि अवस्थालाई नजरअन्दाज गर्यो । 

उनले आफ्नो भाषणमा जुनसुकै हालतमा अब ‘पुँजीबजार बढ्ने’ दलील पेश गरे । विगत झण्डै एक वर्षदेखि निरन्तर ओरालो लागेको पुँजी बजार एकाएक बढ्ने दाबी पेश गरिरहँदा नियमनकारी निकायका जिम्मेवार व्यक्तिले हिजो पुँजी बजार एकाएक खस्किएर आफ्नो जायजेथा गुमाउन पुगेका लगानीकर्तालाई जवाफ दिनुपर्छ कि पर्दैन ? केन्द्रीय बैङ्क समग्र वित्तीय प्रणालीकै नियामक निकाय हो । त्यसैले बजारको टे«न्डको बारेमा जानकारी एवम् चासो राख्ने र लगानीकर्तालाई यथार्थ रूपले सचेत गराउने कुरासम्म नियामक संस्थाले गर्नसक्छ । तर गर्भनरज्यूले ‘पुँजी बजार बढ्छ, तुरुन्त लगानी गर्न कुदिहाल्नुस्’ भनेर दाबी गर्दैगर्दा पुँजी बजारमा धितोपत्रको मूल्य निर्धारण हुने विधि र प्रक्रियाको बारेमा प्रश्न उब्जिएको छ– गर्भनरज्यू पुँजीबजार कसरी चल्छ ?

के हाम्रो पुँजीबजारलाई उकास्नका लागि नियामक संस्थाका अधिकारीहरूको ‘पुस’ आवश्यक हो ? यदि हो भने हामीले स्वीकार गर्नुपर्छ कि बजार स्वतन्त्र रूपले कहिल्यै चलेकै छैन । यदि बजार स्वतन्त्र रूपले चलेको हो भने कुनै अमूक व्यक्तिले ‘लगानी गर्नुस्’ भन्दा लगानीका लागि तम्सिनुपर्ने र ‘लगानी नगर्नुस्’ भन्दा निरुत्साहित हुनुपर्ने किन ? अनि कसैले बजार बढ्छ भनेर बढ्ने अनि घट्छ भनेर घट्ने हो ? फेरि बजार बढ्छ कि घट्छ भनेर कुनै नियामक निकायको जिम्मेवार व्यक्तिले यसरी सार्वजनिक रूपमा अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? 

अहिले पुँजी बजार जुन अवस्थामा पुगेको छ, त्यसको सैद्धान्तिक कारण के हो ? अनियन्त्रित रूपमा बैङ्क तथा वित्तीय संस्थाहरूको पुँजी बढाउँदा कतै बजारमा धितोपत्रको आपूर्ति बढी भएर पो बजार घटेको हो कि ? केन्द्रीय बैङ्कले विगत केही वर्षदेखि बैङ्क तथा वित्तीय संस्थाहरूलाई ८ गुणासम्म पुँजी बढाउन निर्देश गर्यो । त्यस्तो नीतिगत निर्णयले बैङ्कको पुँजीकोष त बलियो भयो तर सीमित अङ्कको दायरामा चलेको पुँजीबजारमा भने त्यसले उथलपुथल ल्याइदियो । 

सबैले हकप्रद सेयर जारी गर्ने लोभमा धितोपत्रको भाउ उकासियो तर लगानीकर्ताले के हेक्का राखेनन् भने पुँजीवृद्धि भएपछि उनीहरूले दिने प्रतिफल घट्छ र त्यसले नियमित प्रतिफल (रेगुलर डिभिडेन्ड) मा अङ्कुश लाग्नेछ । अनि सट्टेबाजीबाट प्राप्त हुने पुँजीगत प्रतिफल (क्यापिटल गेन) ले लगानी फिर्ताको सम्भावनालाई टाढा धकेल्नेछ । किनकि बजारमा धितोपत्रको आपूर्ति अधिक हुन जाँदा त्यसको स्वभावतः मूल्य घट्नेछ । अनि पुँजीबजारको यो फन्डाबाट धेरै साना लगानीकर्ताहरूले आफ्नो लगानी डुबाउन पुगे ।  

यदि यसो हो भने विगतमा नियामक निकायले साना लगानीकर्ताहरूलाई भन्न सक्नुपर्दथ्यो कि– पुँजी बजारमा धितोपत्रको जुन विनिमय मूल्य छ, त्यो वास्तवमै यथार्थपरक छैन । धितोपत्र बजारमा लगानी गर्दा सावधान हुनुहोला । खै हाम्रा नियमक निकायहरूले त्यसरी सर्वसाधारण लगानीकर्तालाई पुँजी बजारको यथार्थताको बारेमा सार्वजनिक सूचना गरेको ? 

तीतो यथार्थ भन्छ– केन्द्रीय बैङ्कले नेपालको धितोपत्र बजारलाई सुव्यवस्थित र पारदर्शी तरिकाले सञ्चालन गर्न कुनै योजना नै बनाएको छैन । केन्द्रीय बैङ्कले पुँजी बजारको सञ्चालक तथा नियामकको रूपमा रहेका नेपाल स्टक एक्स्चेन्ज लि. (नेप्से), धितोपत्र बोर्ड तथा बिमा समितिबीच धितोपत्रको पारदर्शी कारोबार र पुँजी बजारको रणनीतिक लक्ष्य निर्धारण गर्ने सवालमा ती तीन संस्थाहरूलाई समन्वयित भएर काम गर्ने वातावरण बनाउन सकेको छैन । 

अनि अहिलेसम्म धितोपत्र बजारको कारोबारलाई सहज बनाउँदै आम सर्वसाधारण लगानीकर्ता समक्ष यसको पहुँच विस्तार गर्ने सवालमा राष्ट्र बैङ्कका गभर्नरले किन पहल गरेनन् ? वाणिज्य बैङ्कहरूलाई धितोपत्र कारोबार गर्ने इजाजत मात्रै दिने हो भने पनि धितोपत्र बजारले विस्तृत आकार ग्रहण गर्न सक्छ र त्यसले देशव्यापी रूपमा लगानीकर्ताहरूलाई समावेश गर्न सक्छ । तर यत्ति काम पनि हुन सकेको छैन र केही सीमित व्यक्ति, कम्पनी वा फर्मले नै धितोपत्र बजारलाई प्रभावित पारिरहेका छन् । यसमा नियामक निकाय किन मौन देखिन्छ ? 

जहाँसम्म खुल्ला बजार अर्थतन्त्रको मान्यता छ– वस्तु तथा सेवाको मूल्य निर्धारण त्यसको माग र आपूर्तिले गर्छ । अनि पुँजीबजारमा धितोपत्र सूचीकृत भएका कम्पनीहरूको कार्यप्रगति र प्रतिफलको सुनिश्चितताले तिनको धितोपत्रको बजार माग निर्धारण हुन्छ । यदि त्यसो हो भने राम्रो वित्तीय अवस्था भएका कम्पनीहरूको धितोपत्रको मूल्य राम्रै हुन्छ । नराम्रो वित्तीय अवस्था हुनेको मूल्य पनि स्वतः कम नै हुन्छ । हो, यहाँनेर नियामक निकायले ती सूचीकृत कम्पनीहरूको अवस्थाको बारेमा अध्यावधिक जानकारी दिन सक्नुपर्छ र सर्वसाधारण लगानीकर्तालाई धितोपत्रको बजार मूल्य (मार्केट भ्यालु) र आन्तरिक मूल्य (बुक भ्यालु) को सहजै तुलना गर्नसक्ने अवस्था निर्माण गरिदिनुपर्छ । हाम्रो नियामक निकायले यी काम गरेका छन् कि छैनन् ? 

फेरि एकथरी लगानीकर्ताहरू ताँती लागेर धितोपत्रको बजार सूचकाङ्क बढाई पाउँ भन्दै गर्भनर, मन्त्री, मुख्यमन्त्री अनि राजनीतिक दलका नेताहरू गएको दृष्य देख्दा पनि उदेक लागेर आउँछ । पुँजीबजार उकालो लाग्न लगानीकर्ताहरूमा बजारप्रति विश्वास हुनुपर्छ । त्यस्तो विश्वास कसैले भनेको भरमा आर्जन हुने होइन र हुनु पनि हुँदैन । बजार बढ्नका लागि कम्पनीहरूले आफ्नो प्रगति विवरणमा सुधार ल्याउनैपर्छ । 

उदाहरणका लागि केही समयअघिदेखि बजारमा कम्पनीहरूको धितोपत्रलाई १४ गुणासम्म अतिरिक्त मूल्य (प्रिमियम)मा थप सार्वजनिक निष्काशन गर्न दिइएको छ । १४ गुणासम्म प्रिमियम लिने आधार के हो ? लगानीकर्ताले लगानी गर्ने १४ गुणासम्मको लगानी रकम फिर्ता भुक्तानी पाउने समय कति हो ? खै यसको हिसाब ? के तत्कालीन अवस्थाको बजार भाउकै आधारमा यसरी अतिरिक्त मूल्य लिन छुट दिन मिल्छ ? बिनाआधार अतिरिक्त मूल्यमा धितोपत्र निष्काशन अनुमति दिनु लुट होइन ? अनि थप धितोपत्र निष्काशनसँगै बजार भाउ किन खस्कियो ? नियमनकारीहरूले यसको पनि लगानीकर्तालाई जवाफ दिनुपर्छ ।

सामान्यरूपमा बजार व्याजदरलाई लगानीको न्यूनतम् प्रतिफल दर मान्न सकिन्छ । यदि औसत बजार दर १५ प्रतिशत छ भने ६÷७ वर्षमा लगानी गरेको अङ्कित मूल्य बराबरको रकम फिर्ता आउँछ । यस हिसाबले १४ गुणा लगानी रकम फिर्ता आउन कति समय लाग्छ ? त्यस कम्पनीको वार्षिक औसत प्रतिफल दर कति छ ? अनि कति वर्षमा लगानीकर्ताले त्यो लगानी फिर्ता पाउँछ ? हो, नियमनकारीले गर्ने हिसाब त यो होला नि । 

आफ्नो वा केही सीमित व्यक्तिको स्वार्थलाई पूरा गर्न अख्तियारको दुरूपयोग गर्ने छुट कसैलाई हुँदैन । पुँजी बजार किन र कसरी बढ्छ ? अनि किन र कसरी घट्छ ? सायदै थाहा पाइन्छ । यो कुनै सिद्धान्त अनि कम्पनीहरूको आवधिक प्रगतिको आधारमा चल्दैन । खासमा पुँजी बजारको ग्रोथसँग सूचीकृत कम्पनीहरूको आवधिक कार्यप्रगति जोडिनुपर्ने हो । अनि त्यसले समग्र देशकै आर्थिक वृद्धिबीच पनि सकारात्मक सम्बन्ध राख्नुपर्ने हो । खै हाम्रोमा यस्तो किन हुन सकेन ? किन बजार सिद्धान्तअनुसार चलेको छैन ? के नियमनकारी निकायले यसको उत्तर खोज्नु पर्दैन ? 
हो, कुनै समय पुँजी बजार चढावमा थियो तर त्यसको कारण कृत्रिम थियो । पुँजी बजारको वृद्धि र देशको आर्थिक वृद्धिबीच कुनै किसिमको तादम्यता थिएन । अर्थात् हाम्रो पुँजीबजारको वृद्धिलाई कहिल्यै वास्तविक अर्थतन्त्रको वृद्धिले टेवा पुर्याएको छैन । आखिर त्यसो किन भयो ? पुँजी बजारलाई हिजो किन अनावश्यक रूपमा बढाइयो ? कसले बढायो ? अनि आज कसले घटाइरहेको छ ? किन घटाइरहेको छ ? 

जहाँसम्म लगानीकर्ताको लगानीको सुरक्षाको सवाल छ, त्यो जुनसुकै क्षेत्रमा हुनुपर्छ । लगानीकर्ताले न्यूनतम् प्रतिफल प्राप्त गर्नसक्नुपर्छ । हाम्रो लगानीको न्यूनतम् आधार प्रतिफल कति हो ? अर्थात् लगानीको औद्योगिक औसत प्रतिफल कति हो ? त्यो निर्धारण हुनुपर्छ । अनि बजारमा धितोपत्रहरूको मूल्य पनि तत्तत् कम्पनीको आवधिक रूपले गरिने कार्यप्रगतिको समीक्षा, वार्षिक औसत प्रतिफलको दर र लगानी फिर्ता हुने औसत समयका आधारमा निर्धारण हुनुपर्छ । तब मात्र बजार पनि पद्धतिअनुसार चल्नेछ र लगानीकर्ताको लगानी पनि सुरक्षित हुनेछ । 

त्यसैले पुँजीबजारका लगानीकर्ताले पनि क्षणिक फाइदाका लागि बजार बढाइपाउँ भनेर हार गुहार गर्ने होइन, अनियन्त्रित र कृत्रिम रूपले चलिरहेको बजारलाई यथार्थतातिर उन्मुख गराउने हो । यसका लागि सम्बन्धित कम्पनीको प्रगति विवरण हेरेर लगानी गर्नुपर्यो । यसरी बजार बढ्दा भुइँमा खुट्टा नटेक्ने अनि बजार घट्दा रोइलो गरेर हारगुहार गर्नु उचित होइन । 

manikar.nibartaman@gmail.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...