बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गीतकार श्रवण मुकारुङलाई मनपर्ने दर्जन गीत

शनिबार, १६ भदौ २०७५, १२ : ४३
शनिबार, १६ भदौ २०७५

काठमाडौं–कविमात्रै भनियो भने प्राज्ञ श्रवण मुकारुङको परिचय अधुरो हुन्छ । मुकारुङ कुशल गीतकारसमेत मानिन्छन् । उनले थुप्रै गीत लेखेका छन् । त्यत्तिकै मात्रामा गीत रेकर्ड भएका छन् । उनको ‘माथि–माथि सैलुंगेमा चौंरी डुलाउनेलाई’, ‘तिमी तारेभीर म त लहरा’ लगायत थुप्रै गीत कर्णप्रिय र श्रवणीय छन् । एक गीतकारलाई अर्का गीतकारले लेखेको कस्तो गीत मन पर्ला । कस्तो गीतले प्रभाव पारिरहेको होला । बाँकी गीतकार श्रवण मुकारुङकै शब्दमा :

मनपर्ने गीत–१
झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् खोई छोरा भन्लिन्’ शीर्षाकृत गीत असाध्यै मन पर्छ । गीतले लाहुरेको कथा बोलेको छ । सो गीतमा एउटा सम्प्रदायको सिंगो कथा छ । जुन गीत अमर लाग्छ ।

मनपर्ने गीत–२
कवि तथा गीतकार अगमसिंह गिरीले लेखेको ‘नौलाखे तारा उदाए’ गीत त्यत्तिकै कालजयी लाग्छ । अम्बर गुरुङले गाएको सो गीतले नेपालबाहिर बसेका नेपाली जातिको पीडा बोलेको छ । अम्बर गुरुङले नै संगीत भरेको यो गीत जति सुने पनि सुनूँसुनूँ लाग्छ ।

मनपर्ने गीत–३
वैरागी काइँलाको ‘मेरो दुःखी मन’ शीर्षाकृत गीत उत्तिकै मन पर्छ । मानिस एउटा ठाउँमा पुगेपछि त्यहीं रहिरहँदैन । उसले त्यहाँबाट झर्न पर्दा पीडाबोध हुन्छ भन्ने कुरा शान्ति ठटालले गाएको त्यो गीतले अथ्र्याएको छ । 

मनपर्ने गीत–४
श्याम तमोटको ‘गाउँगाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ गीत कर्णप्रिय लाग्छ । भन्नेले त्यो कम्युनिस्ट गीत भन्छन् तर होइन । त्यो जागरण गीत हो । जनता जगाउने गीत कम्युनिस्टको मात्रै नभएर काँग्रेसको पनि हुन्छ । माक्र्सवादी सौन्दर्यशास्त्र जोडेर हेर्दा त्यो गीत पूर्ण नहुन सक्छ । आमजनतालाई जागरुक बनाउने भएकाले त्यो गीत असाध्यै मन परेको हो ।

मनपर्ने गीत–५
‘सुन साइँली’ गीत पनि त्यत्तिकै मार्मिक छ । वैदेशिक रोजगारीमा जाने युवाको कथा बोलेको गीत कारुणिक भए पनि श्रवणीय लाग्छ ।

मनपर्ने गीत–६
गायक विपुल क्षेत्री (दार्जिलिङ) ले गाएको ‘रामसाइँली म त जोवनको पीरले गम खाएँ यसै खोलाकिनारैमा’ बोलको गीत पनि राम्रो लाग्छ । गीतमा एक वृद्धको जीवनभोगाइको रामकहानी बताउन खोजिएको छ ।
मनपर्ने गीत–७
जीवन शर्माको ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ शीर्षाकृत गीत कसलाई मन नपर्ला । एक श्रमजीवी भरियाको गीतले मलाई पनि छोएको छ । ८० वर्षीय श्रमजीवी भरियाको वास्तविकता बोलेको गीत कर्णप्रियमात्रै होइन श्रवणीय लाग्छ ।

मनपर्ने गीत–८
‘खनि हो यामुरे, ए कान्छा’ शीर्षाकृत गीत असाध्यै राम्रो लाग्छ । विदेश नजाऊ, फर्केर आऊ भन्ने आह्वान गरिएको शैलीको नेपाली लेखिइरहेको सन्दर्भमा ‘म तिमीसँगै जान्छु’ भन्ने गीत आउँदा फरक स्वाद लाग्यो । संगीतमात्रै होइन, गायिका तृष्णा गुरुङको गायनकला पनि दमदार छ ।

मनपर्ने गीत–९
विष्णु माझीको स्वरमा रहेको ‘धर्ती कुनको आकाश जूनकै हो’ भन्ने गीत असाध्यै लोकप्रिय छ । अत्यन्तै कल्पनाशील त्यो गीत मन पराउने धेरै होलान् । 

मनपर्ने गीत–१०
स्वर्गीय नारायण गोपालका अधिकांश गीत मन पर्छन् । त्यसमध्ये पनि ‘अल्झेछ क्यारे पछ्यौरी चियाको बोटैमा’ गीत झन् मन पर्छ । 

मनपर्ने गीत–११
दीप श्रेष्ठको ‘कहाँबाट ल्याऊँ म सपनाको देश, जब लाग्छ मलाई आफ्नै आँगन परदेश’ गीत अत्यन्तै मन पर्छ । वसन्त थापाको गीत अहिलेको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक लाग्छ । गीतले जब आफ्नै देश परदेशजस्तो लाग्छ भने गर्न खोज्नेले समेत के काम गर्लान् भन्ने सन्देश दिइएको छ । 
यो देश मेरो होइनजस्तो बनाइदिनुहुन्छ, अधिकार दिनुहुन्न, विभेद गर्नुहुन्छ, सीमान्तकृत गर्नुहुन्छ भने यो देशको माया कसरी गर्ने ? किन माया गर्ने ? तर, पनि नेपालीले गरिरहेका छन् । त्यस्तो अर्थपूर्ण यो गीत भव्य लाग्छ ।

मनपर्ने गीत–१२
‘गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ’ शीर्षाकृत गीत बुलन्द लाग्छ । वामपन्थी आन्दोलनलाई दृष्टिगत गर्दै लेखिएको आभासको गीत बुलन्दमात्रै होइन, त्यत्तिकै अर्थपूर्ण ठान्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप