बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रिमालकी श्रीमती कल्याणीको बिलौना, ‘मलाई अब कसले हेर्छ ?’ (फोटो)

शुक्रबार, १५ भदौ २०७५, ११ : ४४
शुक्रबार, १५ भदौ २०७५

काठमाडौं – 
‘मेरो मन टुक्रा भएर आँखाबाट बहने छ’

रेडियो नेपालबाट सबैभन्दा पहिले गुञ्जिएको गीत हो यो । यो गीतमा मादल, हार्मोनियम केही पनि थिएनन् । यो गीत गाएका थिए गायक हरिप्रसाद रिमालले । वि.सं. २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि उनले रेडियोमा पहिलो पटक गीत गाएर इतिहास बनाएका हुन् । यो गीत चैत २० गते रेडियो प्रसारण भएको पहिलो दिन प्रत्यक्ष प्रसारणमा आएको थियो । यो गीत रेडियोबाट प्रसारणमा भएसँगै उनको नामसमेत नेपालका प्रथम गायकका रूपमा लेखिएको थियो । 

यिनै गायक हरिप्रसाद रिमालको निधन भएको छ । उनले आज बिहान १ बजे काठमाडौँको बानेस्वरस्थित आफ्नै निवासमा अन्तिम सास लिए । वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुबा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालका ४ छोरा र २ छोरीमध्येका साइँला छोरा थिए । 

दुई विवाह गरेका उनको पहिलो बिहे गायिका किशोरीदेवीसँग भएको थियो भने उनले दोस्रो विवाह कल्याणी पौडेलसँग गरेका थिए । रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालको पहिलो गीतमा शंकर लामिछानेको शब्द सङ्गीत रहेको थियो । 

‘फगत एक नजरमा कसैले लियो मन...’ उनको अर्काे चर्चित गीत हो ।  केशवराज पिँडालीको शब्द सङ्गीत यसमा रहेको थियो । यो गीतबाट भने उनी गायनमा निकै चर्चित र स्थापित भएका थिए । 

रेडियो नेपालको स्थापनाकालदेखि नै गीत गाउन थालेका उनका ‘बिना बादल असिना आउँदैन...’, ‘हातै काट्यो चालिसे चुराले...’ बोलका गीत पनि निकै लोकप्रिय छन् ।  यी दुवै गीत प्रदीप रिमालले रचना गरेका थिए । 

‘कल्ले कल्ले कैले कैले डाक्छ मलाई...’– लक्ष्मण लोहनीको, ‘आँसु बहाऊँ...’ म.वि.वि. शाह, ‘पवनले फूललाई...’ तारिणीप्रसाद कोइराला, ‘जाऊँ हामी बादलपारि...’ नीरविक्रम प्यासीको शब्दमा गीत गायका उनलाई नाटककार बालकृष्ण समले नाटक–अभिनय र निर्देशनतिर मोडेका थिए ।

नेपाली कलाक्षेत्रमा नाटक र चलचित्रको अभिनेता तथा निर्देशकको रूपमा परिचय बनाएका रिमालले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’लगायतका चलचित्र अभिनय गरेका छन् । 

रिमालले ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकका अलवा नेवारी नाटक लेख्ने र मञ्चन पनि गरेका थिए । नेवारी भाषा लेख्न रबोलन सिपालु उनी नाटक तत्कालीन समय नाटक निर्देशनमा पनि अब्बल रहँदै आएका थिए ।

उनका दुई छोरा र दुई छोरी रहेका छन् । छोरीहरूको विवाह भएको र छोराहरू । विदेश रहेकोले उनी कान्छी श्रीमती कल्याणीसँग रहँदै आएका थिए । उनलाई दागबत्ती दिन दुवै छोरा नेपाल आउने परिवार स्रोतले जानकारी दिएको छ ।

अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई बिहान १० बजे उनकै निवास ह्वाइटहाउस कलेज अगाडि राखिएको थियो । अभिनेता नवल खड्का, रवीन्द्र खड्का, बसुन्धरा भुसाल, शान्ति मास्के, हुष्ण मल्ल, मदनदाश श्रेष्ठ, रामकेशर बोगटी, यादव खरेललगायतका चलचित्र क्षेत्रका विभिन्न कलाकार उनलाई अन्तिम श्रद्धाञ्जलि दिन बिहान उनको निवास पुगेका थिए ।

श्रद्धाञ्जलि कार्यक्रममा राखिएको रिमालको शरीरमा आफूले लगाएको चुरा, पोते चढाउँदै उनकी श्रीमती कल्याणीले ‘मलाई अब कसले पाल्छ र हेर्छ’ भन्दै बिलौनासमेत गरेकी थिइन् ।

अन्त्येष्टिका लागि उनको पार्थिव शरीर दिउँसो १ पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप