केन्द्रीय संस्करण

समाजवाद पुँजीवादको विकल्प

person explore access_timeभदौ १२, २०७५ chat_bubble_outline0

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रस्थापना अनुरूप समाज परिवर्तन हुने गर्दछ । ब्रह्माण्डमा अस्तित्वमा रहेका सबै वस्तु, घटना, घटना प्रक्रिया र सामाजिक सत्ताहरू द्वन्द्वात्मक भौतिकवादी प्रक्रियामा विकसित र रूपान्तरित हुनेगर्दछ । वस्तु वा सत्ताको अस्तित्व र विकास विपरीतहरूको एकता र सङ्घर्षको द्वन्द्वात्मक नियममा हुन्छ । अर्थात विपरीत तत्वहरू बीचको एकताले वस्तुको ठोस आकार दिन्छ भने उनीहरू बीचमा चलिरहने सङ्घर्षले वस्तु वा सत्तालाई गतिशील बनाउँछ । यही गतिशीलताको सिलसिला खास विन्दुमा पुगेपछि वस्तु वा सत्ताले पुरानो चरित्र गुमाउँदछ अनि नयाँ भौतिक परिवेश निर्माण हुनजान्छ ।  यही प्रक्रियालाई नै द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । 

     कष्टसाध्य ऐतिहासिक प्रक्रियामार्फत तात्कालीन समाजको पुरानो  स्वरूपलाई अर्को विकसित वा प्रगतिशील चरित्रले निषेध गर्दै आज हामी यो अवस्थामा आइपुगेका छौं । यही द्वन्द्वात्मक नियम अनुरूप नै आदिम साम्यवादलाई दासयुगले, दासयुगलाई सामन्तवादले साथै सामन्तवादलाई पुँजीवादले निषेध ग¥यो । पुँजीवादलाई समाजवादले  समाजवादलाई साम्यवादले प्रतिस्थापन गर्दै उन्नत विश्व मानव समाज निर्माणको निरन्तर ऐतिहासिक प्रक्रियामा बढिरहेको छ । निरन्तर सङ्घर्ष र आन्दोलनको लामो प्रक्रियावाट मात्र  उन्नत साम्यवादी समाज स्थापना गर्न सकिन्छ । 

     सत्रौँ र अठारौँ शताब्दीमा सामन्तवादविरुद्ध पुँजीवाद हाबी भयो । त्यसबेला सामन्तवाद भन्दा धेरै प्रगतिशील थियो । पुँजीवादको यही प्रगतिशील चरित्रमा टेकेर नै उन्नाइसौँ र बीसौं शताब्दीमा समाजवाद स्थापना भए । तर बीसौं शताब्दीको मध्यबाट प्रारम्भ भई उत्तराद्र्धसम्म आउँदा समाजवादी सत्ता ऐतिहासिक प्रक्रियालाई लत्याउँदै संशोधनवादी दलदलमा फस्न पुग्यो । ठीक यही वस्तुगत धरातलमा पुँजीवादले आफूलाई निर्विकल्प दाबी गरे । दुनियाँबाट समाजवादको अन्त्य, इतिहासको अन्त्य अनि वर्गीय आन्दोलनको अन्त्यको घोषणा गरियो । तर इतिहासको अकाट्य द्वन्द्वात्मक ऐतिहासिक प्रक्रयालाई नजरअन्दाज गर्नपुगे र इतिहासको साश्वत गतिशील ऐतिहासिक चक्रलाई भुलेको देखिन्छ ।   

    तर बीसौं शदीको उत्तराद्र्धबाट समस्याग्रस्त बनेको पुँजीवाद एक्काइसौं शदीको पूर्वाद्र्धसम्म आउँदा चरम सङ्कटोन्मुख अवस्थामा छ । यसमा अन्तरनिहित अवैज्ञानिक, गैर–न्यायिक, शोषणमुखी, विभेदमुखी राजनीति, अति– नाफामुखी,  एकाधिकारमुखी,  अति–केन्द्रीकृत अर्थनीति साथै अति प्रभुत्वमुखी,  उपभोगमुखी, अराजक, छाडा र आडम्बरी सांस्कृतिको कारण आज पुँजीवाद पतन्नोमुख दिशामा रहेको छ । यसको सविस्तार चर्चा यहाँ गरिएकोछ । 
 

  (क) सैद्धान्तिक कारणः पुँजीवाद सामन्तवाद भन्दा  प्रगतिशील भए पनि समाजवादभन्दा यो नितान्त पश्चगामी शासन व्यवस्था हो ।  यसले वैज्ञानिक र वस्तुवादी सारतत्वलाई भन्दा पनि आध्यात्मवादी र काल्पनिक विचार दर्शनको पक्षपोषण गर्दछ । यसकारण पुँजीवादी शासनपद्यति समाजवादी शासनसत्ताको उन्नत विकल्प हुनसक्ने विज्ञानसम्मत आधारहरू थिएन । सामन्तवादी उत्पीडनबाट अक्रान्त परिवेशमा पुँजीवाद एकहदसम्म प्रगतिशील सावित भएको सत्य हो । यता समाजवादको सारभूत दर्शन भौतिकवाद हो भने पुँजीवादको आध्यात्मवाद वा आदर्शवाद नै हो । 
     समाजवादले वस्तुलाई प्राथमिक पक्ष मान्दछ भने पुँजीवादले चेतनालाई । यस्तो अमूक र काल्पनिक आध्यात्मवादी विचार दर्शनले समाजको सही चिरफार गर्न सक्दैन । समाजको वस्तुवादी चिरफारविना समस्या खुट्याउन सकिन्न । समस्या पहिचानविना उपचार सम्भव हुँदैन । त्यसैले पुँजीवादी विचार दर्शन भनेको आध्यात्मवादी आवरणमा विज्ञान र प्रविधिको अधिउपयोगमा आधारित हुन्छ । तर नियमतः मानव समाज परिवर्तन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।  यो अमूक, काल्पनिक र आदर्शवादी विचारबाट हुँदैन । पुँजीवादमा अन्तरनिहित यही अवैज्ञानिक र अवस्तुवादी विचार दर्शनकै कारण यसको पतन स्वतः हुने देखिन्छ ।

     (ख) राजनीतिक कारणः समाजवादी सत्ताको पतनसँगै पुँजीवाद झनै सुदृढ र हावी हुँदै गएको दाबी गरिन्छ । तर समानता र न्यायको सिद्धान्तबाट निर्देशित समाजवादी सत्ताको अग्रगामी विकल्प पुँजीवाद हुनै सक्दैन । किनकि पुँजीवादी राजनीति भनेको असमानता, विभेद र अन्यायमा आधारित  हुन्छ । अर्थात शक्ति, स्वार्थ र हैकममा आधारित हुन्छ । यसमा रूपमा अमूक आम जनता भनिए पनि सारतः सीमित अभिजात वर्गीय स्वार्थ अन्तरनिहित हुन्छ । यही आम जनताको राज्यलाई उनीहरू संसदीय लोकतन्त्र रूपी  रामाराज्य भन्ने गर्दछ ।

     मूलतः पुँजीवादको पछिल्लो चरित्र दलाल एकाधिकारवादी रहेको छ । यो भूमण्डलीकृत साम्राज्यवादमा बदलिएको छ । यसले संसारैभरी हस्तक्षेप, अतिक्रमण, सैन्यदमन र नियन्त्रण गरिरहेको छ । पुँजीवादको राजनीतिक पक्ष भनेको साम्राज्यवादी प्रभुत्व र प्रभाव विस्तार नै हो । सैन्य प्रविधि विस्तार र सुदृढीकरणका लागि अथाह धनराशि खर्च गरिँदैछ । अमेरिकालगायतका मुलुकहरूको युद्धमा आधारित अर्थतन्त्र रहेको छ । यस्तो अर्थतन्त्र फस्टाउन युद्ध अपरिहार्य हुन्छ ।  यसैका लागि विश्वमा आम नरसंहारकारी र विध्वंशात्मक युद्धहरू भइरहेको छ, जुन यसको पतनको तात्कालिक कारण बन्ने देखिन्छ । 
 

   यस अतिरिक्त पछिल्लो समय पुँजीवाद अतिराष्ट्रवादी वा अन्धराष्ट्रवादी भावनामा अभिव्यक्त भइरहेको छ । पुँजीवादले यस्तै अतिवादी अश्त्रहरू प्रयोग गरिरहेको छ । उसले विभिन्न मुलुक, राष्ट्र, राष्ट्रियता र समूहहरूलाई आफ्नो वर्गस्वार्थ टिकाउन फुटाउ र राज गरको  रणनीति अन्तर्गत उक्साउने र निषेध गर्दै आएको छ । कतिपय मुलुकहरूमा गैरन्यायिक ढङ्गले नाकाबन्दी लगाउने, युद्ध थोपर्ने, धम्काउने आजको पुँजीवादी साम्राज्यको पर्याय नै बनेको छ । शक्ति, स्वार्थ र दम्भको पारो नापी नसक्नुछ । यसैगरी राष्ट्रियता, जातीयता र धार्मिक अतिवादी आडमा उसले आफ्नो पुँजीवादी साम्राज्य सुदृढ गर्दै आएको छ । यसरी जातीय तथा धार्मिक समुदायहरू बीचमा अनावश्यक अन्तरविरोध सिर्जना गर्ने, उनीहरू बीच लडाउने, एउटालाई सैन्य सहयोग गर्दै अर्कोलाई निषेधको रणनीति मार्फत विश्वलाई विभाजित गरिरहेको छ । यस्तो विभाजन रेखाले एकता, एकरूपता र सद्भावभन्दा पनि अन्तरविरोध र दुस्मनी बढाइरहेको छ । यस्तो गलत संस्कार, षड्यन्त्र, चलखेल र निषेधको रवैयाले स्वयम् पुँजीवादी शासनमाथि धारिलो तरबार झुण्ड्याएको छ, जसले यसको अन्त्यलाई सङ्केत गर्दछ । 

     (ग) आर्थिक कारणः वास्तवमा पुँजीवादी अर्थनीति नाफामुखी र एकाधिकारमुखी हुनेगर्दछ । यो जसरी पनि नाफा कुम्ल्याउने र आफ्नै मात्र वर्चस्व कायम गर्ने रणनीतिमा आधारित हुन्छ । विशेषतः असमान, विभेदपूर्ण र शोषणयुक्त हुनेगर्दछ । अर्थात जसको शक्ति उसैको मस्ती भन्ने मत्स्यन्याय यसको मुलभूत चरित्र हो । श्रोतसाधन र पहुँच भएकाहरूको लागि सम्भव, सहज र सजिलो र नभएकाहरूको लागि असम्भव, असजिलो र जटिल हुन्छ । वस्तुतः पुँजीवादी आर्थिक नीति अतिकेन्द्रीकृत र अतिअसमान हुन्छ । यसमा हुने र नहुने बीचको खाडल डरलाग्दो हुन्छ । पछिल्लो तथ्याङ्कअनुसार करिब सय जना धनाढ्यहरूसँग भएको सम्पत्ति विश्वको तीन अरब जनसङ्ख्यासँग भएको सम्पत्तिभन्दा बढी रहेको छ । 

     यसबाट असमानता वा विभेदको  दूरी सजिलै नाप्न वा अनुभूति गर्न सकिन्छ । अर्थात सीमित व्यक्तिहरूसँग उपयोगविहीन अथाह सम्पत्ति र अर्बाैं  बहुसङ्ख्यक जनताहरूसँग आधारभूत स्रोतसाधन पनि नहुने धरातलीय अभिव्यक्ति नै पुँजीवाद हो । यही चरित्रको कारण पुँजीवादले आफू पुरिने खाडल आफै खनिरहेको छ । त्यति मात्र होइन, यो असाध्यै एकाधिकार वा सीमित व्यक्ति वा कर्पोरेट हाउसहरूको पकड वा नियन्त्रणमा परिचालित छ । अर्थात यो केही सम्पन्न मुलुक, कर्पोरेट हाउस र धनाढ्य व्यक्तिहरूको स्वार्थद्वारा निर्देशित देखिन्छ । यसले धनी  र गरिब मुलुक, धनी र गरिब जनता अनि ठूला निगम हाउस र सानो व्यवसाय बीच डरलाग्दो दरार पैदा गरेको छ । निगम पुँजीले सिङ्गो राष्ट्रिय अर्थतन्त्रलाई चपाइरहेको छ । यस अतिरिक्त सैन्य प्रभुत्व, विश्व बजार र प्राकृतिक स्रोत साधनहरूमा पकड र नियन्त्रणका लागि ठूलाठूला क्षेत्रीय तथा गृहयुद्धहरू भड्किरहेको छ । 
 

   यसैगरी पुँजीवादी आर्थिक नीतिले विश्वव्यापी शोषण, विभेद र अन्यायको जालो विछ्याइरहेको छ । गरिब मुलुकका लाखौं मजदुरहरूलाई सस्तोमा विश्वको विभिन्न ठाउँमा आपूर्ति गर्दै श्रम र शोषणलाई एकैसाथ भूमण्डलीकरण गरिएको छ । अर्थात श्रमको विश्वव्यापीकरणसँगै शोषणको रूपलाई पनि अन्तर्राष्ट्रियकरण गरिएको छ । यसले श्रम र शोषण बीचको अन्तरविरोधपूर्ण खाडललाई झनै बढाइरहेको छ । यति धेरै एकाधिकार र नियन्त्रण हुँदाहुँदै पनि पुँजीवादी अर्थतन्त्र बीचबीचमा धरासयी र टाटपल्टाइको शृङ्खलाहरूबाट गुज्रिँदै आएको छ । राज्यले रिफन्ड गर्नुपरिरहेको छ जसले स्वयम् पुँजीवादीहरूबीच गम्भीर बहस खडा गरेको छ । यसकारण ढिलो चाँडो पुँजीवादको पतन निश्चित देखिन्छ ।

     (घ) सांस्कृतिक कारणः राजनीतिको मूलभूत चरित्रले नै  आर्थिक तथा सांस्कृति चरित्र निर्धारण गर्दछ । आज दलाल एकाधिकार पुँजीवादी सत्ता अड्याउने सांस्कृतिक खम्बा नै उपभोक्तावाद भएको छ । पुँजीवादी राज्यरूपमा वैज्ञानिक तथा प्रगतिशील जनवादी संस्कृति हुँदैन । पुँजीवादमा संस्कृति पनि नाफा र स्वार्थको चक्रव्युहमा फनफनी घुम्दछ । वस्तुगत र तथ्यगतभन्दा पनि ढोँगी, आडम्बरी, वनावटी, औपचारिक र तडकभडक हावी हुन्छ । यसमा मूल्य, मान्यता, विवेक, चिन्तन् मनन् र अध्ययन हुँदैन । उल्टै छाडा, फोहोरी, अराजक र भ्रष्ट संस्कृतिको बोलवाला हुन्छ । समाजको व्याख्या, विश्लेषण र समस्याको समाधन गर्ने दिमागहरूमा भाते, स्वादे र भोगविलासे ग्रन्थीहरू सक्रिय हुन्छ । समाज विकासको ऐतिहासिक प्रक्रियामा यस्तो लम्पट संस्कृति सहयोगी हुँदैन । त्यसैले पुँजीवादको अन्त्य टाढा छैन ।
     यता प्राकृतिक स्रोतसाधनहरू माथिको अत्यधिक अतिक्रमण र दोहनको कारण पर्यावरणीय जटिलता विश्वव्यापी समस्या बनिरहेको छ । नाफा र वर्चश्वकै कारण जथाभावी प्राकृतिक सम्पदाहरू माथि अतिक्रमण भइरहेको छ । यसले पृथ्वीको प्राकृतिक तथा पर्यावरणीय सन्तुलन विगारिरहेको छ । ८० प्रतिशतभन्दा बढी प्रदूषण उत्सर्जनमा ठूला औद्योगिक राष्ट्रहरू जिम्मेवार देखिन्छ । यही क्रम जारी रहने हो भने पृथ्वीमा कुनै पनि जीवात्म रहँदैन । त्यस्तै मुट्ठीभर पुँजीपती वर्गले नाफाकै लागि विज्ञान र प्रविधिहरूको असीमित उपयोग गरिरहेको छ । विभिन्न आविष्कार र अनुसन्धानहरू पनि पुँजीपती वर्गको कब्जामा रहेको छ । यो सारतः आम उत्पीडित जनताको हितमा हुँदैन । यसकारण पनि पुँजीवादको विकल्प इतिहासको आवश्यकता बन्दै गइरहेको छ ।
 

   त्यसैले वस्तुतः उत्पीडित वर्ग र मानवता विरोधी रवैयाकै कारण पुँजीवादको पतन निश्चित छ । यसको असमान, गैरन्यायिक, हस्तक्षेपूर्ण र विभेदपूर्ण चरित्र नै पतनको कारण हुन् । वैज्ञानिक समाजवादमा राजकीय वा सामूहिक स्वार्थसहितको अझ उन्नत, विकसित, न्यायपूर्ण, समृद्ध अनि लोभलाग्दो समाज हुन्छ  । तर पुँजीवादमा नाफा, एकाधिकार र पुँजीपती वर्गको वर्चस्वमुखी भौतिक संरचना विकासलाई मात्र प्राथमिकतामा राखिन्छ । विभेद, अन्याय र शोषणको पहाड सम्याइ नसक्नु हुन्छ । आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थका कारण भ्रष्टाचार, कमिसन र तस्करी जस्ता विकृत र आडम्बरी संस्कृति हाबी हुन्छ । तसर्थ पुँजीवादको विकल्प समाजवाद अवश्य नै हो तर समाजवादको विकल्प पुँजीवाद हुनसक्दैन । यसकारण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रिया बमोजिम पुँजीवादको अन्त्यसँगै वैज्ञानिक समाजवादको पुनरोदय अवश्यम्भावी देखिन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...